शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रतिनिधिका अपराध : हत्यादेखि कुखुरा चोरीसम्म

५ वर्षमा २८० स्थानीय जनप्रतिनिधि आपराधिक कर्ममा
बिहीबार, २९ वैशाख २०७९, ०७ : २७
बिहीबार, २९ वैशाख २०७९

गणतन्त्र स्थापनापछि पहिलोपटक भएको स्थानीय चुनावबाट निर्वाचित प्रतिनिधिहरूले आफ्नो ५ वर्षे कार्यकाल पुरा गरेका छन् । नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० मा दोस्रोपटक स्थानीय तह निर्वाचन हुँदैछ ।

५ वर्षको अवधिमा दर्जनौँ निर्वाचित प्रतिनिधिहरू नै जघन्यदेखि सार्वजनिक हित विरुद्धको अपराधमा संलग्न भए । प्रहरी प्रधान कार्यालयको अनुसार आर्थिक वर्ष २०७४–०७५ यता २८० जना जनप्रतिनिधि अपराध कर्ममा संलग्न भएका छन् ।​ जनप्रतिनिधीहरु फरक–फरक अपराधमा संलग्न भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘कसुर अनुसार मुद्दा दर्ता गरेर हामीले कानुनी दायरामा ल्याएका छौँ ।’

महोत्तरीको मटिहानी नगरपालिका–५ का वडा अध्यक्ष १० हजार घुस सहित समातिए । वडा अध्यक्ष रामकुमार महतोलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । महतो जस्तै उपल्लो डोप्लाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडा अध्यक्ष कार्मा गुरुङ मूर्ति चोरेको आरोपमा पक्राउ परे । लमजुङको वेसीशहर नगरापलिका–९ का वडा अध्यक्ष सरद बरालमाथि कुखुरा चोरेको आरोप लाग्यो । जनताको मत लिएकाहरू खैरो हेरोइनको कारोबारमा पनि संलग्न भए ।  

२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । आर्थिक वर्ष २०७४–०७५ मा ३३ जना जनप्रतिनिधि अपराधमा मुछिए ।  सो आर्थिक वर्षमा प्रदेश–१ मा दुईजना वडा अध्यक्षहरू कर्तव्य ज्यान र सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका थिए । मधेस प्रदेशमा झूटा विवरण पेस गरेर नागरिकता बनाएको आरोपमा ३ जना वडा अध्यक्षहरू पक्राउ परेका थिए । बागमती प्रदेशबाट ज्यान मार्ने उद्योग, मानव बेचबिखन र झूटा विवरण पेस गरेर नागरिकता बनाएको आरोपमा ८ जना पक्राउ परे । गण्डकीमा ३ जना वडा अध्यक्षहरू पक्राउ परेका थिए । सो आर्थिक वर्षमा कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना वडा अध्यक्षहरू पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७५–०७६ मा ३० जना जनप्रतिनिधिहरु अपराधमा मुछिए । सो आर्थिक वर्षमा प्रदेश–१ मा मात्र १० जना वडा अध्यक्ष पक्राउ परेका थिए । उनीहरू मध्ये दुईजना कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका हुन् । मधेस प्रदेशमा ५ जना वडा अध्यक्ष आपराधिक गतिविधिमा संलग्न भएपछि पक्राउ परेका थिए । २०७६ साउनदेखि २०७९ वैशाखसम्ममा २ सय १७ जना जनप्रतिनिधि अपराध कर्ममा मुछिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप