बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै

बिहीबार, २९ वैशाख २०७९, ०७ : २३
बिहीबार, २९ वैशाख २०७९

नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ ।

देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न शुक्रबार हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ ।

शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ । मतदाता नामावलीमा नाम समावेश भएकाले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउनेछन् । तर त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता भएकाे हुनुपर्नेछ ।

नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयाेगले जनाएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप