शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङमा मतदाता परिचयपत्र वितरण

बुधबार, २८ वैशाख २०७९, २० : ५९
बुधबार, २८ वैशाख २०७९

हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । 

मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् । 

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितरण सुरु गरिएको हो । मतदाता परिचयपत्र वितरण गर्न जिल्ला निर्वाचन कार्यालयले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ । 

मनाङ देशकै सबैभन्दा कम मतदाता सङ्ख्या रहेको जिल्ला हो । चार पालिका रहेको मनाङमा छ हजार ४९६ मतदाता रहेका छन् । तीमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार ५३५ छन् भने सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा ४४८ जना मतदाता रहेका छन् ।

नयाँ मतदाताका लागि निर्वाचन आयोगले आज र भोलि (बिहीबार) मतदाता परिचयपत्र वितरण गर्नेछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचयपत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकालाई आयोगले दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप