बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

युक्रेनमा हार्ने अवस्था आए पुटिनले आणविक हतियार प्रयोग गर्न सक्छन् : अमेरिकी गुप्तचर प्रमुख

बुधबार, २८ वैशाख २०७९, १८ : ०९
बुधबार, २८ वैशाख २०७९

युक्रेन युद्धमा हार बेहोर्ने सम्भावना देखिए मस्कोको वर्तमान शासनले आणविक हतियार प्रयोग गर्न सक्ने अमेरिकी गुप्तचर प्रमुखले बताएकी छन् । मंगलबार अमेरिकी सिनेटका सामु विश्वव्यापी जोखिमबारे ब्रिफिङ गर्ने क्रममा डाइरेक्टर अफ नेशनल इन्टिलिजेन्स एभ्रिल हाईन्सले यस्तो चेतावनी दिइन् ।

ब्रिफिङमा युक्रेन युद्ध लम्बिन सक्ने, पुटिनले थप बल प्रयोग गर्नसक्ने र मस्कोमा आफ्नो शासन जोखिममा परेको महसुस भए पुटिनले आणविक हतियार समेत प्रयोग गर्न सक्ने बताइन् । पूर्वी तथा दक्षिण युक्रेनमा युद्ध लम्बिरहँदा पुटिनले आणविक हतियारको धम्की दिन नछाड्ने हाइन्सले बताइन् । 

युक्रेनमा पश्चिमी शक्तिले थप सहयोग नगरुन भन्ने प्रत्याभूत गर्न पुटिनले यस्तो धम्की दिइरहेको उनको दावी थियो । तर पुटिनका यी धम्कीमा सत्यता नभएको, रुस वा उनको सत्तामाथि खतरा महसुस नभई पुटिनले आणविक हतियार प्रयोग नगर्ने हाइन्सले तर्क दिइन् । युक्रेनमाथिको हारको सम्भावनालाई पुटिनले यस्तै जोखिमका रुपमा हेर्ने उनको भनाई थियो । 

हाइन्सले अमेरिकाका विभिन्न गुप्तचर प्रमुखहरुको विश्लेषण पनि सिनेटर सामु पेस गरेकी थिइन् । तीमध्ये पुटिनले लुहान्स्क, दोनेत्स्क क्षेत्रका अतिरिक्त त्यस वरपरको बफर क्षेत्रलाई कब्जामा लिने सोच बनाएको उल्लेख छ । रुसको मुख्य लक्ष्य क्राईमिया र टान्स्निस्ट्रीयालाई रुससँग भूमिमार्फत जोड्ने रहेको तिनमा बताइएको छ । 

रुसले यी लक्ष्य हासिल गर्न कृष्ण सागरसँग जोडिएका सम्पूर्ण युक्रेनी तट कब्जा गर्नुपर्छ । हाइन्सका अनुसार यो लक्ष्य रुसले उसको सम्पूर्ण सेना परिचालन नगरी सम्भव हुँदैन । रुसी सेनाको पूर्ण परिचालनको लागि पुटिनले युक्रेनमाथि औपचारिक रुपमा युद्ध घोषणा गर्नुपर्छ । हालसम्म युक्रेनमा भइरहेको सैन्य कारबाहीलाई पुटिनले विशेष अपरेसन बताउँदै आएका छन् । 

केही साताभित्र पुटिनले आफ्नो फौज पूर्ण परिचालन गर्ने सम्भावना रहेको पनि हाइन्सले सिनेटरलाई जानकारी दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप