मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो

भारतको तुलनामा नेपालतर्फ ०.३३ प्रतिशत बढी मूल्यवृद्धि
बुधबार, २८ वैशाख २०७९, १६ : १३
बुधबार, २८ वैशाख २०७९

चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो । 

यस अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७.२८ प्रतिशत छ । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३.१० प्रतिशतमा सिमित थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत छ । यस्तै, गत आर्थिक वर्ष २०७७÷७८ को चैत मसान्तको तुलनामा घ्यू तथा तेलको मूल्यवृद्धि २८.३६ प्रतिशतसम्म छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.५६ प्रतिशत बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १०.५३ प्रतिशतले बढेको छ । यसका साथै, सुर्तीजन्य पदार्थको मूल्य ८.९१ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात भाडा २०.१६ प्रतिशतले बढेको छ । यसैगरी, शिक्षातर्फको महँगी ८.७९ प्रतिशतले बढ्दा विविध वस्तु तथा सेवाको महँगी ८.१७ प्रतिशतले बढेको छ । यसरी, चालू वर्षको समग्र मूल्यवृद्धि हेर्दा खानेतेलको मूल्य सबैभन्दा धेरैले बढेको छ भने सार्वजनिक यातायातको भाडा पनि उच्चदरले बढेको पाइएको छ । यस्तै, यस अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत छ ।

यही समयमा तलब तथा ज्यालादर गत वर्षको चैत मसान्तको तुलनामा ८.५२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।

यस्तै, केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले भारतको तुलनामा नेपालमा बढी महँगी बढेको देखाएको छ । भारतमा ६.९५ प्रतिशतमा सिमिति मूल्यवृद्धि नेपालतर्फ ७.२८ प्रतिशत पुगेको छ । जुन, भारतको भन्दा ०.३३ प्रतिशतले बढी हो ।​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप