बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो त्रैमासिकका अधिकांश सूचकहरूमा एनआईसी एसियाको छलाङ

बुधबार, २८ वैशाख २०७९, १४ : ५८
बुधबार, २८ वैशाख २०७९

आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा विभिन्न सूचकांकमा एनआई्सी एसिया बैक शीर्ष पोजिसनमा रहन सफल भएको छ ।  बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थानमा रहेको यस बैंक चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित काउन्टर सङ्ख्या, एटिएम सङ्ख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था तथा कर्मचारी बोनस अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक सङ्ख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको हो । 

बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा कुल कर्जा प्रवाह २७४.७४ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप सङ्कलन ३०२.८१ अर्ब रुपैयाँ पुर्‍याएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ ३.६० अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१.९४ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च रहेको छ र यस वर्ष निरन्तर रूपमा हरेक त्रयमासमा नतिजा हासिल गर्न सफल भएको छ ।

पाँच वर्षको अवधिमा बैंकको कुल कर्जा, निक्षेप सङ्कलन, प्रतिशेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, शाखा सङ्ख्या, विस्तारित काउन्टर सङ्ख्या, एटिएम सङ्ख्या, डेबिट कार्ड प्रयोगकर्ता सङ्ख्या र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सङ्ख्यामा मुलुकको नम्बर वान बैंक बनेको छ । त्यसैगरी कुल ग्राहक सङ्ख्यामा निजी क्षेत्रका बैंकहरुमा एनआईसी एसिया  बैंक सबैभन्दा अगाडी रहेको छ । नयाँ ग्राहक बनाउन पनि यो बैंक निकै आक्रामक रूपमा अगाडि बढेको छ । पहिले चमत्कारिक बचत योजनाबाट धेरै सफल प्राप्त गरेको बैंकले अहिले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ । जसमा उपलब्ध हुने सर्वाधिक फाइदाले एनआईसी एसिया बैंकले नेपालको बैंकिङ क्षेत्रमा नौलो पहिचान बनाउन सफल भएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने बताउँछन् । 

एनआईसी एसिया बैंकको ३५९ शाखा पुगिसकेका छन् । यो मुलुकमै सबैभन्दा धेरै शाखा सञ्चालन गर्ने बैंक हो । त्यसैगरी एटिएम सङ्ख्यामा समेत अन्य बैंकभन्दा सबैभन्दा बढी अर्थात् ४७३ वटा एटिएम एनआईसी एसिया  बैंकले सञ्चालन गरिसकेको छ र विस्तारित काउन्टरको हकमा समेत एनआईसी एसिया  बैंक १०२ वटा सहित सबैभन्दा अगाडी रहेको छ ।

मोबाइल बैंकिङ्ग सेवामा पनि एनआईसी एसिया  बैंक नेपालको वाणिज्य बैंकमा सबैभन्दा अगाडि रहेको छ । बैंकको एप डाउनलोडदेखि यसको प्रयोगमा यो बैंकले सबैलाई धेरै पछि पारेको छ । यी डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबारमा अझ धेरै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्ग स्थापित भएको छ । एनआईसी एसिया  बैंकमा हाल मोबाइल बैंकिङ प्रयोगकर्ता १९ लाख १४ हजार १ सय १० भन्दा बढी पुगिसकेका छन् ।

यस वर्षको तेस्रो त्रैमाससम्म यस बैंकको खुद नाफा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ छ । यो नाफा सबै वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंकपछि दोस्रो ठूलो हो । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

सफलताले खुसी छुः न्यौपाने 

एनआईसी एसिया  बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने वि. सं. २०७५ मंसिरमा एनआईसी एसिया बैंकमा सिइओ नियुक्त हुँदै गर्दा मुलुककै कान्छो सीइओ भनेर चर्चा बटुलेका थिए । ३८ वर्षको उमेरमै सीईओ भएपछि निरन्तर रूपमा यसरी लागे जसले गर्दा बैंकमात्र उत्कृष्ट भएनन् आफ्नो क्षमतालाई पनि एक नयाँ उचाइमा पुर्‍याउन सफल भएका छन् । एनआईसी एसिया बैंकलाई मुलुकका वाणिज्य बैंकहरुमध्ये नम्बर वान बैंक बनाएबापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाएका छन् । 

यही चैत २६ गते उनी ‘म्यानेजर अफ दि इयर अवार्ड–२०२२’ बाट समेत सम्मानित भए । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले दिने यो पुरस्कार निकै सम्मानित मानिन्छ । साथै, उनी ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ सम्मानित भएका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार ग्रहण गरे भने अन्तर्राष्ट्रिय स्तरको अर्को पुरस्कारबाट पनि सम्मानित भएका छन् । उनी ग्लोबल बिजनेस आउटलुक (जीबीओ) बाट ‘बैंकिङ्ग सीईओ अफ दि इयर–नेपाल २०२१ बाट सम्मानित समेत भइसकेका हुन् । 

त्यस्तै, हालै उनले पाएको अर्को पुरस्कार हो ‘कर्पोरेट सीईओ अफ दि इयर, २०७८’ । सीईओ भएको साढे तीन वर्षमा बैंकले नम्बर वान बनाएका न्यौपानेले एकपछि अर्को गर्दै सम्मान र पुरस्कार पाउनुमा उनको उत्कृष्ट प्रदर्शन नै हो । ‘मेरो इमानदारिता र उत्कृष्ट काम ठहर्‍याएर मलाई राष्ट्रपतिदेखि म्यानसम्मले सम्मान प्रकट गर्नुभएकोमा म एकदमै खुसी छु,’ न्यौपानेले भने, ‘यो सम्मान मसँगै मेरो टिमको उत्कृष्ट प्रदर्शनले प्राप्त गर्न सफल भएका हौँ ।’

वि. सं. २०५५ विराटनगरबाट क्षेत्रीय बैंकको रूपमा शुरु भएको बैंक हरेक सूचकाङ्कमा पहिलो बन्न सफल भएको न्यौपाने बताउँछन् । विराटनगरमा नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल (एन आई सी) बैंक लिमिटेड स्थापना हुँदा एउटा शाखा, १९ जना कर्मचारी, ८ करोड १२ लाख ५० हजार चुक्ता पुँजी रहेको थियो । यो बैंक सञ्चालनमा आएको २४ वर्ष पुगिसकेको छ । यस अवधिमा बैंकले प्रगतिको छलाङ मारेर शिखरको चुचुरोमा पुग्न सफल भएको न्यौपानेको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप