शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

बुधबार, २८ वैशाख २०७९, १४ : ५२
बुधबार, २८ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सामग्री प्रदान गरी पठाइएको र केही ठाउँमा मङ्गलबार नै पुगेका र दुर्गम ठाउँमा बुधबार पुगिसक्ने  बताए । मतदानस्थलमा नेपाली सेना, म्यादीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोली पनि पुगिसकेका छन् ।

निर्वाचनका लागि नौ पालिकामा ११५ मतदानस्थल तथा मतदान केन्द्र तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सातजना कर्मचारी खटिनेछन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीनजना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् ।

निर्वाचनमा खटिएका मतदान अधिकृत लगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधासमेत मङ्गलबार नै बुझेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न निर्वाचनमा जिल्लामा एक लाख २३ हजार ५५३ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप