बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

भोटको मलले फलाएका केही लघुकथा

बुधबार, २८ वैशाख २०७९, १४ : १५
बुधबार, २८ वैशाख २०७९

टिकट– १
रामजीवनलाई चुनाव लाग्नु लागेको थियो । राष्ट्रिय अनाम दलको दलित कोटाबाट वडा सदस्यको टिकट पाएपछि उसका खुट्टा भुइँमा थिएनन् । 

नगरपालिकाको स्विपर पदमा बस्न पनि उसलाई निको लागेन र उसले राजीनामै दिएको थियो ।
“वडा सदस्य भएपछि ठाँटै अर्को हुन्छ, अब केको झाडु घोटेर जागिर खानु पर्‍यो” । वाह ! भोट जितेपछि त ‘मिलोमतो’ ‘आमदानी’ ‘पक्की घर’ ‘सुकिलो नाना’ ‘मीठो खाना’ ‘दारूपानी’ ‘सबकुछ’ वाह ! भोट जितेपछि । 

पुरानो डुम टोलाका सबैजसो डुमले महाजनहरूलाई जग्गा बेचेर पाखाभित्तातिर पुगेका थिए । रामजीवन र उसकै काकाको छोरो रामविनयले मात्र आफ्नो झुप्रो बेचेका थिएनन् । त्यस वडाका सबैजसो महलको चर्पी सफा गर्ने काम यिनै दुई भाइको थियो । पुर्खौँदेखि सेवा गरेका आफ्ना महाजनहरूको एक भोट पक्काझैँ थियो ।

टिकट पाएसँगै उसले केन्द्रबाट प्रचार प्रसारको पैसा पनि पाएको थियो । पैसा मात्र होइन हरेक साँझ भट्टीतिर जाने व्यवस्था पनि भएको थियो । 
रामजीवनकी स्वास्नी र भरखरै बैँसका ढोका खोल्दै गरेका तीन भाइ छोरालाई पनि भोटको चहलपहलले निकै रमझम पारेको थियो ।

कताको स्विपर कता वडा सदस्यको उम्मेदवार !  
हिजो निहुरिएर हिँड्ने रामजीवन अहिले त गमक्क परेर शिर उचालेर हिँड्न थालेको थियो ।

.....

भोटको नतिजा आएको थियो । रामजीवनको जमानतै जफत भएछ । ज्यानमारा दलका कुनै उम्मेदवारले जितेनछन् ।

.....

एक हप्ता बितिसकेको थियो । उफ के गर्ने अब ? फेरि झाडु ? 

.....

“टिकट दियल कि विकट ? स्साला, सब खतमे कर दियल की’ !” टाउको समातेर बसेको छ रामजीवन !

टिकट– २ 

बूढो भन्थे बेखामानलाई ! केको बूढो रै’छ र ? 

टिकट पाएका दिनदेखि उसको फुर्ती हेरिसक्नु छैन । 

स्वास्नी छक्क ! छोराछोरी छक्क ! छिमेकी र नातागोता सबै छक्क !

.....

उज्यालो भएदेखि चुनाउ प्रचारमा हिँडेको बेखामान कहिले अबेर राति घर आइपुग्छ कहिले बासै अन्तै । 

....

“मेरो समर्थनमा पूरै माहोल बनेको छ । तेरा माइतीतिर खबर गरिराखेस् । जितेपछि सगुन त गतिलो ल्याउनुपर्छ भन है !” एक रात सुत्ने बेला बेखामानले स्वास्नीलाई गम्केर भनेको थियो ।

प्रचारप्रसार बन्द भैसकेको थियो । अब आफ्ना नाताकुटुम्ब, साथीभाइसँग मात्रै सरसल्लाह हुन थालेको थियो । 

त्यो अन्तिम रात थियो । “भोलिको भोट ! के हुने हो ? जित्न त पक्कै जित्छु ।” बेखामानलाई मेयर भएपछिको अपरम्पार प्राप्तिको कल्पनाले निद्रा पनि लागेको थिएन । 

रातको तेस्रो पहरमा अचानक बेखामानले आफ्नो छातीको बायाँपट्टि चसक्क भएको थाहा पायो । थाहा पाउँदा नपाउँदै उसलाई केही थाहा भएन । 

....

भोलिपल्ट, एकातिर भोटमा मानिस व्यस्त थिए अर्कातिर बेखामानको चिता दन्किँदै थियो । 

कठै बेखामानको शवले पार्टीको झण्डा पनि ओड्न पाएन ।

....

टिकट– ३

“यो भोटभरि तिमीहरू जसो गर गर, यस्तो बेला यो भात भान्साको कुरै मसँग नगर । टिकट पाएकी छु । सानो कुरा हो । जितेपछि त तिमीहरूले नै गर्ने हो मोज !”  

लथालिङ्ग घरतिर हेर्दै नहेरी मनमतीले भनेकी थिई । 

तँलाई टिकट दिनेले यी मेरा घरका बूढा बा र बालख छोराछोरीलाई भात खान दिन्छन् रे ?  म जागिर खान जाऊँ कि भातभान्सा बनाऊँ ? यी पापीहरूले मेरो घर कस्तो अन्धेर नगरी बनाइदिए । अब भोकभोकै केटाकेटी स्कुल कसरी जान्छन् ? 

लोग्ने चाहिँ चिच्याएको थियो ।

तर मनमतिले केही सुनिनँ । ऊ झोला काँधमा हालेर घरबाट निस्की हाली । 

“बोलौँ आमा समूह ल्याएर खन्याइदेली, नबोलौँ यो अत्याचार,” लोग्नेले घडी हेर्दै भुत्भुताउँदै हतारहतार राइसकुकर जोड्यो र दाल प्रेसर कुकरमा बसाल्यो । खोकी सुनेर दौडिँदै गएर उसले बाउलाई औषधी खुवायो । छोराछोरी एकअर्कासँग कुटाकुट गर्दै थिए । दुइटैलाई एकएक लबटो हानेपछि शान्त भए । 

.....

भोटको नतिजामा मनमतीको पार्टीकै जमानत जफत भएको थियो । 

सरुवा मिलाएर सहर पसेको लोग्नेले उतै घरजम गरेको मनमतीले सुनेकी थिई ।

......

टिकट–४

“हुन्छ, यत्ति गरिदिने हो भने यो भेगको भोट सप्पै हजुरलाई नै हो । मेरा दुइटा छोरालाई विदेश पठाउने जिम्मा हजुरले लिइदिए मेरो ज्यानै हजुरलाई !”

श्याङ्बो तामाङले भनेको थियो । 

पुरानो नेताले आफ्नो बफादार पुरानो कार्यकर्तालाई ग्वाम्ल्याङ्ग अँगालो हालेको थियो । 

......

टिकट–५

“यी दुइटा खोलामा पुल हाल्ने ठेक्का तँलाई नै दिन्छु, बुझिस् नि ! यी  कच्ची सडकमा अलकत्रा हाल्ने जिम्मा पनि तेरै, कुरा बुझिस् नि ! अघिल्लो भोटपछि तँलाई मिलाई दिएको मलेसियाको म्यान पाओरको कोटाबाट भक्कु  कमाएको त बिर्सेको छैनस् होला नि !”

भुँडीवाल नेताले भनेको थियो ।

“हजुर, तर अब त अलि गतिलै चाहियो । टामटाम टुमटुमले मात्रै मलाई गाह्रो भयो ।”

दलाल कार्यकर्ताले खैनी गिजामा चेप्दै भनेको थियो ।

“एइ विन्दे जीसी, तँ धेर लोभ नगर । यो भेगमा मेरो पार्टीले पहिलेभन्दा थोर भोट नल्याओस् । अर्थोक तेरो मेरो, मेरो तेरो, कुरा बुझिस् नि ?”

जोसिएको नेताले जिसीको उक्लिँदै गरेको भुँडीमा आफ्नो भुँडीले थिचेर  अँगालो हालेको थियो । 

....

टिकट–६ 

“केको स्वतन्त्र उम्मेदवारले जित्छ ! हजुर पनि उठेपछि नाउँ चलेको दलबाट उठ्नु पथ्र्यो नि ! भोटमा त थुप्रो विधि खर्च गर्नुपर्छ । काँबाट ल्याउने ?” 

स्वास्नी चाहिँले चिन्ता व्यक्त गरेकी थिई । 

“म लाटो छु र ? तैँले के भन्ठानेकी ? मैले भोटै त के जित्थेँ र ! जित्न उठाइएको पनि होइन नि । यो पनि एउटा ठेक्कापट्टा ठान न । तर तँलाई वर्ष दिनको घरखर्च र छोराछोरीको स्कुलको फिसमा त ढुक्कै पर । अहिले अरू हिसाबकिताब तँलाई के चाहियो ?” 

लोग्ने चाहिँले अरू केही भनेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप