शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा निर्वाचनको तयारी : प्रत्येक जिल्लामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बुधबार, २८ वैशाख २०७९, ०९ : २१
बुधबार, २८ वैशाख २०७९

कर्णाली प्रदेशमा निर्वाचनको तयारी करिब पुरा भएको छ । १० जिल्ला रहेको कर्णालीका ७९ वटै स्थानीय तहका निर्वाचन कार्यालयहरूमा मतदान अधिकृत पुग्नेदेखि सुरक्षाकर्मी परिचालन गर्ने काम पनि अन्तिम चरणमा छ ।

हिमाली जिल्लाहरुमा भने भौगोलिक विकटताका कारण बुधबारसम्म छिटपुट रहेका स्थानमा मतदान अधिकृत र सुरक्षाकर्मी पुगिसक्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्ला सदरमुकामबाट हिँडेर पैदल जानुपर्ने भएकाले दुई दिनअघि देखिनै सुरक्षा अधिकारीको टोली मतदान स्थलतर्फ लागिसकेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले रातोपाटीलाई बताए ।

उनले भने,‘ प्रदेशभर एक हजार ३ सय ८५ मतदान केन्द्र र  ९ सय ७ मतदान स्थल रहेका छन् । यी मध्ये २ सय ९८ मतदान स्थल अति संवेदनशिल, ४ सय ११ संवेदनशिल र १९८ सामान्य रहेका छन् ।’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सुचना अधिकारी हिराबहादुर पाण्डेले मतदान स्थलहरुमा सुरक्षाकर्मी परिचालन गरिसकिएको जानकारी दिए ।

उनले भने, ‘प्रदेशभर पाँच हजार बढी प्रहरी, ७७ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएको छ।’ यसअघि नै रुकुम पश्चिममा तोडफोड र झडपका घटनाहरु बढी भएकाले रुकुमपश्चिममा सुरक्षाकर्मी बढाइएको समेत उनले बताए । हरेक जिल्लामा प्रहरी, म्यादी प्रहरी, सेना लगायत १४ सयदेखि १७ सयसम्मको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालित गरिएको छ  । 

सल्यानमा पनि झण्डै एक हजार ६ सय बढी प्रहरी, म्यादी सहितको सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । हिमाली जिल्ला मुगुमा एक हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी,  २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र प्रहरी र ४ सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको छ । 

जुम्लाका स्थानीय तहमा एक हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी ४ सय ३२, नेपाली सेना ३ सय ५०, सशस्त्र प्रहरी २ सय ७० र ६ सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार एक हजार ७ सय बराबर सुरक्षा अधिकारीहरु खटाइएको छ भने सम्बन्धित मतदान केन्द्रहरुमा त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरूसँग बसेर छलफल समेत गरिसकिएको छ ।

यस्तै सुर्खेतमा ८ सय ८० जना प्रहरी, एक हजार २६९ म्यादी लगायत सेनाहरूको टोली सुरक्षाको लागि खटिएको छ । सुरक्षाकर्मीहरु केही सम्बन्धित स्थानमा खटिसकेका छन् भने केही बुधबार बेलुकासम्म पुगिसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

प्रदेश निर्वाचन अधिकृत चालिसेका अनुसार १० लाख एक हजार दुई सय मतदाता रहेको कर्णालीमा १३ हजार ६५ जना उम्मेदवारहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये प्रमुख पदका लागि ४ सय १९,उपप्रमुखका लागि ३८५, वडाअध्यक्षमा २ हजार ९२४, महिला सदस्यमा २ हजार ३८०, दलित महिला सदस्य २ हजार २७, खुल्ला सदस्यमा ४ हजार ९३० जनाले प्रतिस्पर्धा गर्दैछन् ।

उनले भने, ‘हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ भने अन्य जिल्लाहरुमा पनि सवारी साधनका माध्यमबाट ढुवानी भइसकेको छ ।’ निर्वाचनका लागि अन्य सामग्री पनि सम्बन्धित ठाउँमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप