बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आचारसंहिता विपरीत बागमतीका मुख्यमन्त्री चुनावी अभियानमा

मङ्गलबार, २७ वैशाख २०७९, २२ : ५७
मङ्गलबार, २७ वैशाख २०७९

निर्वाचन आचारसंहिता विपरित बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे दलको चुनावी अभियानमा सक्रिय सहभागी भएका छन् । उनी आफ्नो गृह जिल्लाका दलको चुनावी अभियानमा मौन अवधि अघिसम्म सहभागी भएका हुन् । 

२०७७ कात्तिक ११ गते सत्तारुढ गठबन्धनका दलहरूको संयुक्त सरकारको तर्फबाट प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको सहयोगमा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको सरकारको नेतृत्व गरिरहेका छन् । उनी  वितेको ३ दिनमा धादिङको सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, थाक्रे गाउँपालिका लगायतका क्षेत्रमा गठबन्धनका दलहरूको पक्षमा मत माग्न सक्रिय रहे । 

निर्वाचन आचारसंहिता अनुसार उनी सरकारको नेतृत्व गरिरहेकाले कुनै पनि दलहरूको चुनावी कार्यक्रममा सहभागि हुने र कसैको पक्षमा लाग्न पाउँदैनन् । तर, उनले सो निर्वाचन आचारसंहिता विपरित उनी ती कार्यक्रममा सहभागि हुने र दलका उम्मेदवारहरूलाई मत मागेका हुन् । सोही क्रममा उनले मंगलबार धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१० केवलपुरमा सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै एमालेले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारलाई प्रशय दिएको आरोप लगाए ।

‘जसको बाउलाई बचाइदिएँ, उसैले मार्ने धम्की दिएछ’

उनले विगतको द्वन्द्वकालको घटनालाई समेत सार्वजनिक गरेर नेकपा एमालेका थाक्रे गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामप्रसाद आचार्य माथि द्वन्द्वकालमा माओवादी केन्द्र विरुद्ध लागेर सेनालाई सुचना प्रवाह गर्ने र माओवादी लडाकुहरुलाई अपहरणमा गर्ने कार्यमा संलग्न भएको आरोप लगाए । मुख्यमन्त्री पाण्डे उक्त चुनावी सभामा आक्रोशित बन्दै उनी नेकपा एमालेबाट थाक्रे गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेका रामकुमार आचार्य र उनका छोरा रमेश आचार्यमाथि एकाएक खनिए । रमेश युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुन् । उनै रमेशले केही दिन अघि एक सभामा मुख्यमन्त्री पाण्डेको हातखुट्टा भाँचिदिउँ भन्ने अभिव्यक्ति दिएको मुख्यमन्त्री पाण्डेको आरोप छ ।   

पाण्डेको आक्रोश आफुले रमेशको परिवारलाई गुन लगाएको भएपनि उनी आफूमाथि बैगुनी भएको भन्नेमा थियो । तत्कालिन माओवादी आन्दोलनका क्रममा रामकुमार आफ्नै पहलबाट बाँचेको भन्दै उनको छोराले आफ्नो हातखुट्टा भाँच्ने धम्की दिनु नसुहाउँदो भएको पाण्डेको भनाई थियो । ‘२०६३ मा म मन्त्री थिएँ । रामकुमार आचार्यलाई माओवादीका साथीहरुले अपहरण गरेर लिएर हिँडेका थिए । त्यो अपहरण उसले पटक पटक सेना लगाएर माओवादी साथीहरुलाई दुःख दिएको बदला थियो । सायद मैले थाहा नपाएको भए रामकुमार आचार्य त्यही बेला मारिन्थे,’ पाण्डेले भने ‘माओवादी पार्टीका नेता कृष्णबहादुर महरा वार्ता समितिको सदस्य थिए । हाम्रै पार्टीका साथी अहिले एमालेका नेता प्रदिप ज्ञवाली पनि त्यतिबेला मन्त्री थिए । उनी पर्यटन मन्त्री थिए भने उनी वार्ता टोलीमा पनि थिए । त्यँहीबाट मैले प्रदिप ज्ञवालीमार्फत् कृष्णबहादुर महरालाई खोजे र रामकुमार आचार्यलाई अपहरण गर्ने कार्य भएको छ, माओवादीहरुले पुरानो रिसले मारिदिन सक्छन् । शान्ति प्रक्रियामा आएका छौं । अब मार्ने मर्ने काम भयो भने यो शान्ति प्रक्रिया भाँडिन्छ । त्यसकारण यो मार्ने काम चाँही रोक्नु प¥यो भनेको थिए ।’  

आफ्नै अनुरोधमा माओवादीले रामकुमारलाई मकवानपुरमा पत्रकारलाई जिम्मा लगाएर छोडिदिएको बताए । ‘राजेन्द्र पाण्डेको कारणले रामकुमार आचार्य बाँचे । त्यही रामकुमार आचार्यका छोरा एउटा सानो छाउरो ल्याएर अस्ति यही बोल्या थिए रे हातखुट्टा भाचिदिउँ । मैले बाचाइदिएँ उसको बाउलाई उ चाँही हामीलाई मार्ने भन्दै थियो रे । क्या गज्जबको कुरा छ ।’ पाण्डेले भने । उनले रामकुमारले माओवादी आन्दोलनताका सेनाको पोशाक लगाएर माओवादीलाई सेनासँग चिनाएर पक्राउने गरेको बताए । ‘ रामकुमारले थुप्रैलाई त सेनाद्वारा बेपत्ता बनाउने काम गरे । त्यही रामकुमार आचार्यले माओवादी नेता रामप्रसाद आचार्यलाई पनि बेपत्ता बनाए । त्यति बेला हामी अप्ठेरो अवस्थामा थियौँ । हामीले के भनेका थियौ भने हामी सुराकी पनि गर्दैनौ, खुराकी पनि लिदैनौं । माओवादीलाई हामी पाल्न पनि सक्दैनौँ । सेना आउँदा माओवादी यताबाट हिँडेको छ भनेर भन्दा पनि भन्दैनौँ । माओवादी साथिहरुलाई पनि आफ्नो ज्यान जोगाएर अघि बढ्न भन्ने गरेका थियौँ ।’ पाण्डेले भने ।

‘बोलेर हुँदैन, पुष्टि गर्नसक्नु पर्छ, मेरो चुनौती छ’

नेकपा एमालेबाट थाक्रे गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार रामकुमार आचार्यले मुख्यमन्त्री राजन्द्र पाण्डेले दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार भएको भन्दै आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले रातोपाटीसँग प्रतिक्रिया दिँदै भने, ‘बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जे भने त्यो कुरा उहाँले पुष्टि गर्नु पर्छ । उहाँ प्रदेश सरकारको नेतृत्वमा हुनुहुन्छ । प्रहरी प्रशासन उहाँकै छ । यो कुरा बोलेर मात्र हुँदैन । त्यसलाई पुष्टि गरेर मलाई जेल हाल्न सक्नुपर्छ । मेरो चुनौती छ ।’

मुख्यमन्त्री पाण्डेले आफूमाथि आराेप लगाएर अपराधको काम गरेको उनले बताए । कुनै आरोप लगाउनु भन्दा पहिले त्यसको वास्तविकता र पुष्टि हुने आधारहरू हुनुपर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेको मानसिक रोगबाट ग्रसित भएको उनले बताए । २०४३ सालबाट पार्टी संगठनमा मुख्यमन्त्री पाण्डेको कार्यकर्ताको रुपमा आफूले राजनीति सुरु गरेर हाल उनको पक्षमा नलागेकाले आरोप आएको बताए । एमालेमा रहँदासम्म आफू मुख्यमन्त्री पाण्डेको विश्वास पात्रको रुपमा रहेको तर, पार्टी विभाजन पछि आफू उनको पक्षमा नलाग्दा राजनीतिक प्रतिशोध साँध्न सो आरोप आफू माथि लगाएको उनले बताए ।

मुख्यमन्त्री पाण्डे थाक्रे गाउँपालिकामा एमालेको जनमत देखेर विक्षिप्त भएको आचार्यको भनाई छ । २०६३ सालमा आफूलाई काठमाडौंको जोरपार्टीबाट माओवादीहरूले अपहरण गरेको र मकवानपुरको पदमपोखरीमा लगेर यातना दिएको उनले बताए । ‘म काठमाडौंको जारपार्टीबाट माओवादीको अपहरणमा परेको थिएँ । मलाई त्यहाँबाट बोरामा हालेर यातना दिँदै मकवानपुरको पदमपोखरीमा पु¥याइयो । त्यहाँ लगेर मलाई खाल्डो खनेर टाउको मात्र बाँकी हुने गरी पुरियो र कन्चटमा राखिएको थियो । तर, प्रहार भने गरेन्न ।’ उनले भने, ‘मेरो अपहरणको विरुद्धमा धादिङमा प्रदर्शन पनि भयो । पार्टीका शिर्ष नेताबाट पहल र सुरक्षा निकायको सक्रियताबाट मलाई भोलिपल्ट मकवानपुरको पहल साप्ताहिकको कार्यालयमा लगेर तत्कालिन नेकपा एमाले मकवानपुरका सचिव श्रीधर पोखरेललाई जिम्मा लगाइयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप