बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रसुवामा नमुना मतदान, अधिकांश मत बदर

मङ्गलबार, २७ वैशाख २०७९, २१ : २७
मङ्गलबार, २७ वैशाख २०७९

रसुवामा नमुना मतदान गरिएको छ । स्थानीय तहको निर्वाचन गर्ने समय तीन दिन बाँकी छँदा जिल्ला निर्वाचन कार्यालय रसुवाले मंगलबार सदरमुकाम धुन्चेमा नमुना मतदान गरेको हो । 

नमुना मतदानमा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, जिल्लाका सरकारी कर्मचारी, स्थानीय नागरिक, सञ्चारकर्मी, दलका प्रतिनिधि, उम्मेदवार स्वयं सहभागी भएका थिए । सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा नमुना मतदान गरिएको हो । 

नमुना मतदानमा अधिकांश मत बदर भएको छ । छैटौँ लहरमा खुल्ला सदस्यलाई दिने मतमा अधिकांश बदर भएको छ भने एउटै पदमा दुईदेखि तीन वटादेखि पुरैमा मत दिएको, घेराभन्दा बाहिर मत दिएको पाइएको छ । नमुना मतदानमा अधिकांश मत बदर हुँदा मतदाता शिक्षा आवश्यक रहेको देखिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताए । खुल्ला सदस्यलाई दिने मतमा झुक्किने पाइयो, खुल्ला सदस्यका लागि कुनै दुई वटामा मत संकेत गर्नुपर्नेमा तीन वटासम्ममा पनि मत दिएको उनले बताए । यसले गर्दा मत बदर धेरै भएको उनले बताए ।

शुक्रबार हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य, महिला सदस्यमा मतदान गर्न पाइन्छ । नमुना मतदानबाट मतदाताले मत हाल्ने तरिकाका बारेमा जानकारी लिनुका साथै मतदानमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरू मतदानलाई सफल बनाउने प्रक्रियाका बारेमा जानकार भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप