मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

निर्वाचनमा गरेका वाचा पूरा नगर्नेलाई जनताले सजाय दिन्छन् : थापा

मङ्गलबार, २७ वैशाख २०७९, २१ : २०
मङ्गलबार, २७ वैशाख २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतका निर्वाचनको समयमा गरेका वाचालाई पूरा नगर्नेलाई जनताले भोट नदिएर सजाय दिने बताएका छन् । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज आयोजना गरेको ‘चुनावी सभा’लाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले अघिल्लो निर्वाचनमा गरेका वाचा पूरा ग-यो कि गरेन भनेर जनताले हेर्ने बेला आएको बताए ।

“अघिल्लो स्थानीय तहको निर्वाचनमा गरेका वाचा र प्रतिबद्धता पूरा भयो कि भएन त्यसलाई हेरेर यो निर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गर्नेछन्”, उनले भने । महामन्त्री थापाले विगतको स्थानीय तहको निर्वाचनमा जनताले काठमाडौँको प्रमुखमा एमालेका जनप्रतिनिधिलाई निर्वाचित गरे पनि समृद्ध महानगर निर्माण गर्ने कामलाई अगाडि बढाउन नसकेको गुनासो गरे । उनले युवालाई सँगसँगै लिएर अगाडि बढे मात्र समृद्ध महानगर निर्माण हुने भन्दै कांग्रेसले काठमाडौँ महानगरको प्रमुख जितेमा युवालाई साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा विजय पौडेलले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रह गरे । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सिर्जना सिंह सक्षम महिला भएको बताए । उनले निर्दलीय उम्मेदवारलाई जनताको समस्या समाधान गर्न नसक्ने बताए । 

कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले राजनीतिक परिस्थितिको बाध्यात्मक उपज गठबन्धन भएको बताउँदै गठबन्धनको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विगतको पाँच वर्षमा काठमाडौँ महानगरभित्रका सम्पदामाथि प्रहार हुन खोजेको भन्दै यसलाई जोगाउन आफूले ठूलो लडाइँ लडेको स्मरण गरिन् । उनले हावादारी कुरा गरेर काठमाडौँ महानगर नबन्ने भन्दै महानगर बनाउनका लागि सक्षम व्यक्ति आवश्यक भएको बताइन्। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेकपा सरकारले गुठी विधेयकमार्फत काठमाडौँको धर्म, संस्कृतिमाथि प्रहार गर्न खोजेको भन्दै यसको विरुद्धमा कांग्रेसले आवाज उठाएको स्मरण गर्न सबै मतदाताको ध्यानाकर्षण गरे । कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, नेपाल महिला सङ्घ काठमाडौँ शाखाकी अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले कांग्रेसले महानगरको प्रमुखमा महिलालाई उम्मेदवारी बनाएर सम्पूर्ण महिलालाई सम्मान गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप