सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनका लागि मकवानपुरमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

मङ्गलबार, २७ वैशाख २०७९, २१ : ०८
मङ्गलबार, २७ वैशाख २०७९

मकवानपुरमा निर्वाचनको सुरक्षाको लागि तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित बनाउनका लागि जिल्लाका विभिन्न मतदान स्थल र केन्द्रहरुमा तीन हजार २०० बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि १ हजार ४७३ जना म्यादी प्रहरी, ५०० जना नेपाली सेना, ४०० जना सशस्त्र प्रहरी, ९०० जना नेपाल प्रहरी र ४० जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरु खटाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त बैठक बसेर निर्वाचनको लागि एकीकृत सुरक्षा योजना पारित गरी कार्यान्वयनको चरणमा गएको बताए । उनका अनुसार मतदान केन्द्रहरुको सुरक्षाको लागि पहिले घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीहरु खटिने छने भने दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिने छ । मतदान केन्द्र भन्दा बाहिरको सुरक्षा घेरामा नेपाली सेना खटाइनेछ । त्यसै गरी मतदान स्थलमा सादा पोसाकमा ४० जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरु परिचालन गरिने उनले बताए । मतदानस्थल र मतदान केन्द्रको अवस्था अनुसार प्रहरी र सेनाको संयुक्त टोलीले नियमित गस्ती, पेट्रोलिङ गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

स्थानीय निर्वाचनका लागि मकवानपुरमा १७ सय कर्मचारी खटिए

आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा १ हजार ७ सयभन्दा बढी कर्मचारी खटिएका छन् । जिल्लाको आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा गरी १ हजार ७ सय ७० जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका र कैलाश गाउँपालिकाका ३५६ मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

सबै मतदान केन्द्रहरुमा निर्वाचन सु–व्यवस्थित रुपमा संचालन गर्न प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वयंसेवकको नियुक्ति गरी काममा प्रयोगमा ल्याइने भएको पनि सहायक निर्वाचन अधिकृत सागरप्रसाद शर्माले जानकारी दिए । जिल्लाको विभिन्न अतिसंवेदनशील केन्द्र र संवेदनशील मतदान केन्द्रको छनौट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सुरक्षाको लागि परिचालन गरिएको र प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेनाको जनशक्तिलाई निगरानीको रुपमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरू रहेको प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेलले बताए ।

२ लाख ९४ हजार ९१९ जना मतदानमा सहभागि हुने

आगामी निर्वाचनमा मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरू सहभागि हुने भएका छन् । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा लागि उनीहरु मतदानमा सहभागि हुने छन् । मकवानपुरमा कुल मतदातामध्ये १ लाख ४९ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडा मकवानपुरले जनाएको छ । मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् ।

थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, वाग्मती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप