बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कैलालीका नेता साउदको कारबाही फिर्ता गर्न माग

मङ्गलबार, २७ वैशाख २०७९, १९ : २८
मङ्गलबार, २७ वैशाख २०७९

नेपाली काँग्रेसका पुराना नेता जंगबहादुर साउदलाई जिल्ला कार्य समितिले कारबाही  गरेको विषयमा आपत्ति जनाउँदै तत्काल कारवाही फिर्ता गर्न माग गरिएको छ । मंगलबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै  १८ जना नेताहरुले क्रियाशील, इमान्दार कार्यकर्तालाई विना कारण निष्काशन गर्ने अधिकार नभएको बताएका छन् ।

पत्रकार सम्मेलनमा कुरा राख्दै  काँग्रेस कैलाली क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति धिजराज रेग्मीले विधानत: स्पष्टीकरणको समेत मौका नदिई जिल्ला कार्यसमितिले साउदलाई हटाउने  निर्णय खेदजनक भएको बताउँदै पूर्वराज्यमन्त्री सुशीला स्वाँर, पूर्वसांसद गंगाबहादुर कुँवर, पूर्वक्षेत्रीय सभापति धिजराज रेग्मी, पूर्व जिल्ला कार्य समिति सदस्य नवलबहादुर खडका, रघुराज देवकोटा लगायत १६ जना नेताहरुले हस्ताक्षर गरेको विज्ञप्ती बाँडे ।
पत्रकार सम्मेलनमा पूर्वसांसद गंगाबहादुर कुँवरले सुकिला-मुकिलालाई पार्टीमा भित्र्याएर काँग्रेसका कर्मठ कार्यकर्ता जंगबहादुर साउदलाई पार्टीबाट निष्काशन गर्नु खेदजनक भएको बताए ।

काँग्रेस कैलालीका सचिव भैसकेका साउद तत्कालिन धनसिंहपुर गाविसका अध्यक्ष थिए । साउँदले आफू अघिल्लो पटक टीकापुर नगरको प्रमुख उठ्दा पार्टीका केही नेताले अन्तर्घात गरेका कारण पराजित भएको र अन्तर्घात गर्नेलाई कारबाहीको माग गर्दा उल्टै पुरस्कृत भएका तर आफूलाई कारबाही गरेको बताए । उनले आफू जीवनभर काँग्रेस भएकाले पार्टी नछाड्ने तर यसपटक काँग्रेसले माओवादीसँग गरेको अपवित्र गठबन्धन मन नपरेकाले सहयोग गर्न नसक्ने बताए ।

साउदलाई पार्टी सभापति देउवाबाट स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरे कारवाही गर्ने भनी फोन आएको तर प्रतिउत्तरमा आफूले पार्टीबाट न्याय नपाएको र यसपटक गठबन्धनलाई सहयोग नगर्ने अडान राखेको बताए । काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले एक विज्ञप्ती प्रकाशित गरी काँग्रेस नेता साउदलाई एक वर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको जानकारी दिए । २०७४ सालको निर्वाचनमा टीकापुर नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका साउदले ५५१४ मत पाएका थिए भने  काँग्रेसबाट उपप्रमुखका उम्मेदवारले ६२२६ मत पाएकी थिइन ।  काँग्रेसका प्रमुख र उपप्रमुखको मतान्तर ७१२ हुँदा एमालेबाट प्रमुखका उम्मेदवार ५९५९ मतले विजयी भएका थिए । साउदले यसलाई पार्टीभित्रकै अन्तर्घातको रुपमा लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप