बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने

मङ्गलबार, २७ वैशाख २०७९, १७ : ३३
मङ्गलबार, २७ वैशाख २०७९

मतदान गर्ने दिन देशभर सवारी साधन चलाउन निषेध गर्ने कदमविरुद्ध अदालत जाने उन्नत लोकतन्त्र पार्टीले बताएको छ । मतदानको दिन मतदाताले सवारी साधान प्रयोग गर्न निषेध गर्ने काम संविधान तथा कानुन विपरित भएकाले सो प्रणाली खारेज गर्नुपर्ने पार्टीका अध्यक्ष स्वागत नेपालले बताए ।

उनले यसविरुद्ध छिट्टै अदालतमा रिट दायर गर्ने तयारी गरेको बताए । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन सवारी साधन चलाउन नदिने र सिमित संख्यामा पासका आधारमा चलाउन दिने निर्वाचन आयोगले बताएको छ । रातोपाटीसँग कुरा गर्दै अधिवक्ता समेत रहेका नेपालले भने –‘मतदान गर्ने दिन सवारी साधन बन्द गर्ने काम १ सय १ प्रतिशत अलोकतान्त्रिक काम हो । नेपालमा अहिलेपनि मतदान स्थलमा पुग्नलाई घण्टौं हिडेर पुग्नुपर्ने अवस्था छ । किमाथांकातिर, ४५ घरेतिर वडाध्यक्षले सपथ गर्न नपाउँदै अर्को चुनावको मिति आएको अवस्था पनि थियो । गाउँपालिकाको कार्यालय पुग्न ३ दिन हिडेर पुग्नुपर्ने ठाउँहरु पनि रहेका छन् ।’

उनले लोकतन्त्रको अभ्यास गर्ने दिन नै मतदातालाई सवारी साधन प्रयोग गर्न रोक लगाउने काम लोकतन्त्र बिरोधी भएको बताए । उनले भने–‘धेरै नागरिकहरु विदेशमा छन्, उनीहरुलाई मतदानको अधिकार पनि दिएन । बृद्धबृद्धाहरु, बिरामीहरु, अपाङ्गहरु मतदान केन्द्रमा पुग्न नसक्नेहरुलाई समस्या हुन्छ । कुनै काममा व्यस्त भइरहेकाहरुलाई तुरुन्तै मतदान गरेर फर्कने वातावरण नबनाएर सडक बन्द गर्ने काम लोकतन्त्रको विरुद्धमा छ ।’ उनले कुनैपनि कानुनमा निर्वाचनका बेला मतदान गर्ने दिन सडक बन्द गर्ने व्यवस्था नभएको र यो संविधान र कानुन विरुद्ध रहेको बताए । 

उनले भने–‘कानुनमा व्यवस्था नभएको कुरामा निर्देशिका बनाएर यस्तो काम गर्न पाइँदैन । कानुनमा यस्तो व्यवस्था छैन, कानुनको भावना विपरित जारी गरेको यस्तो निर्देशिकाहरु गैर कानुनी हुन्छ र यो गैर कानुनी अभ्यास हो । सरकारले शान्ति सुरक्षा गराउन सक्नुपर्छ । मतदान गर्न जानका लागि मतदाताले सवारी साधन प्रयोग गर्नु हुँदैन भन्न मिल्दैन ।’ उनले यसविरुद्धमा छिट्टै रिट लिएर जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप