बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा

मङ्गलबार, २७ वैशाख २०७९, १६ : ५५
मङ्गलबार, २७ वैशाख २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनुको विकल्प नभएको बताएका छन् । मंगलबार डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने बताए ।

उनले भने, ‘म प्रधानमन्त्री भएको छु । सबैभन्दा बढी बजेट यहाँ राख्ने छु । पूर्वाधार बन्यो भने भोलि यहाँ सुदूरपश्चिमको राजधानी सार्न सकिन्छ ।’ भौतिक संरचना नभएकाले प्रदेश राजधानी डडेल्धुरामा ल्याउन नसकिएको भन्दै भोलि ल्याउन सकिने बताए । विपक्षीले डडेल्धुरालाई राजधानी बनाउछु भनेर आश्वासन मात्र दिएको आफूमाथि लागेको आरोपको देउवाले खण्डन गरे ।  ‘पालमुनि कही सभासदको हल बन्छ ? यति त बुझ्नु पर्यो नि ? यस्ता झूटा बोल्ने मान्छेलाई मैले के भन्ने ? यस्ता फटाहसँग के भन्ने मैले ?,’ देउवा आक्रोशित सुनिए । 

देउवाले अब छिट्टै डडेल्धुरामा मेडिकल कलेज, एयरपोर्ट र बसपार्क बनाइने प्रतिबद्धता व्यक्त गरे । ‘डडेल्धुरामा मेडिकल कलेज बन्छ । डडेल्धुराको अजयमेरू गाउँपालिका– १ पुइलेकमा एयरपोर्ट बनाउन अध्ययन भइसकेको छ । अब एयरपोर्ट बन्छ । डडेल्धुरामा राम्रो बसपार्क बनाउने छु,’ देउवाले भने । डडेल्धुराको विकास हुँदा सुदूरपश्चिमका सबै जिल्लाका मानिसले सुविधा पाउने उनको भनाइ छ । ‘यहाँ मेडिकल कलेज, एयरपोर्ट बनेपछि राजधानी पनि यहाँ आउन सक्छ । काँग्रेसका सबै उम्मेदवारलाई जिताउनु भयो भने यी सबै कुरा पुरा गर्ने छु । गरेन भने मैले बदमास भन्नु होला,’ उनी भन्छन् ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि अग्रसरता बढाएको जानकारी दिए । ‘पश्चिम सेती बनाउनेबारे मैले इन्जिनियर गोविन्द भट्टलाई अध्ययन गर्न पठाएको थिएँ । हामी आफैले बनाउन सकिन्छ कि  सकिँदैन भनेको थिएँ । उहाँले नेपालले आफ्नो लगानीमा बनाउन सक्ने अवस्था छैन भन्नुभयो,’ उनले भने । उक्त आयोजना निर्माणको जिम्मा विदेशी कम्पनीलाई बनाउन दिनुपर्ने भन्दै भारतीय कम्पनीसँग सम्झौता लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

देउवाले भने, ‘भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिँदा बिजुली पनि भारतले किन्ने भएकाले भारतलाई ल्याउनुपर्ने हुन्छ । जलविद्युत आयोजना निर्माण गर्ने भारतमा दुई वटा कम्पनी छ । राम्रो कम्पनीलाई जिम्मा दिने मेरो योजना छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीमा लुम्बिनी आउन लागेको भन्दै सोही क्रममा सम्झौता गर्ने तयारी भइरहेको देउवाले जानकारी दिए । ‘भारतीय प्रधानमन्त्री मोदीजीसँग मेरो भेट हुँदैछ । उहाँ लुम्बिनीमा आउँदै हुनुहुन्छ । नेपाललाई फाइदा हुने गरेर त्यही हस्ताक्षर गरेर भारतीय राम्रो कम्पनीलाई बनाउन दिन्छु,’ उनले भने ।

पश्चिम सेती बन्यो भने सुख्खायममा पनि लोडसेडिङ नहुने देउवाको दाबी छ । ‘यो देशको विकास गर्ने काँग्रेस मात्र हो । अरुले गफ हाक्छन् काम गर्दैनन् । महाकाली र पश्मिसेती बनाउँछौं,’ उनले भने, ‘खै पश्चिमसेती बनेर झुट बोलेर हुन्छ ? ख्याल ठट्टा हो यो ? भारतसँग मेरो कुरा भइरहेको छ । अब अगाडि बढ्छन्।’ उनले भने, ‘यहाँ काँग्रेसका सबै उम्मेदवारलाई जिताउनुस् । बिजुली पनि ल्याइन्छ, पश्चिमसेती पनि ल्याइन्छ । सबै विकास हुन्छ ।’

सभापति देउवाले काँग्रेस छोडेर नेपाली काँग्रेस विपीबाट उम्मेदवार बनेकालाई पार्टीमा फर्कन आग्रह गरे । ‘पार्टीबाट बाटो विर्सिएर जानु भएको छ भने फर्किनुस् । काँग्रेसको एउटै चिन्ह हो रुख । करुवा, हरुवा केही छैन ।’ काँग्रेसका पूर्व सभापति कर्ण मल्ल समूहले काँग्रेस विपीको चुनाव चिन्ह करुवा लिएर एमालेसँग तालमेल गरी उम्मेदवारी खडा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप