सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी भ्रमण गर्ने मोदीको सपना पूरा हुँदै, यस्तो छ सम्भावित तालिका

मङ्गलबार, २७ वैशाख २०७९, १६ : ०३
मङ्गलबार, २७ वैशाख २०७९

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् ।

उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहेका थिए । यद्यपि, उनी लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएका हुन् । उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने स्थानीय अधिकारीले जनाएका छन् ।

भ्रमणका क्रममा मोदीले एक ‘मोनास्ट्री’को शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ । तर मोदीको भ्रमण कार्यक्रमबारे अझै जिल्ला प्रशासन कार्यालय र लुम्बिनी विकास कोषमा विस्तृत विवरण नआएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेयले भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने भए पनि पूर्ण विवरण अझै नआएको बताए । उनले भ्रमणको तयारीलाई लिएर सुरक्षा लगायतका सबै व्यवस्थापन भने गरिएको जानकारी दिए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं बुद्ध जयन्तीको प्रचार प्रसार संयोजक सिद्धिचरण भट्टराईले भारतीय प्रधानमन्त्री आउने निश्चितजस्तै भए पनि सुरक्षाका कारण सबै विवरण बाहिर भन्न नमिल्ने रातोपाटीलाई बताए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री मोदीको भ्रमणको कार्यतालिका फाइनल गर्न नेपालले भारतलाई पठाइसकेको तर उताबाट त्यो फाइनल गरेर आउन बाँकी रहेको छ । यता भारतीय दूतावास स्रोतले भने प्रधानमन्त्रीको एकदिवसीय भ्रमणमा दुई पक्षीय भेटघाटदेखि नागरिक अभिनन्दनलगायतको कार्यक्रम रहेको रातोपाटीलाई जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा आयोजना हुने २५६६ औं बुद्ध जयन्ती समारोहमा भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।

२५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी पाँच दिनसम्म मनाइने भएको छ । कोरोना महामारीका कारणले लगातार २ वर्षसम्म औपचारिक समारोहबीच मनाउन नसकिएको बुद्ध जयन्ती यसपटक जेठ १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप