स्थानीय तहको निर्वाचनमा दलका शीर्ष नेताहरुले धावा बोलेको पूर्वप्रधानन्यायाधीशको टिप्पणी
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको टिप्पणी गरेका छन् । मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।
स्थानीय निर्वाचनमा स्थानीयस्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरुबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उनले बताए । स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरुले त्यसलाई विस्थापित गरेको उनको भनाइ छ ।
उनले भने, ‘हामी स्थानीय तहको निर्वाचन गरिरहेका छौँ । स्थानीय निर्वाचन गर्दा स्थानीय तहका आफ्ना सरोकारहरु, आफ्ना समस्याहरु, आफ्नै नेतृत्वका विकासका सम्भावनाहरूलाई खोजी गर्ने, पत्ता लगाउने र त्यसलाई प्रशस्त गर्ने वातावरण निर्माण गर्नुपर्ने हो । तर अहिले पछिल्ला दिनहरुमा जुन ढंगले राष्ट्रिय स्तरका नेताहरु वा राजनीतिक दलका केन्द्रीय नेताहरुले स्थानीय तहको निर्वाचनमा जुन ढंगले वहाँहरुले धावा बोलिरहनु भएको छ, जुन ढंगले उपस्थित हुनुभएको छ, जुन ढंगले उहाँले संवाद गरिरहनुभएको छ, जुन स्तरमा उहाँहरुको बोलि, बचनहरू प्रकट भएको छ । उहाँहरुले नै ल्याएको प्रजातन्त्र हामीले भोगिरहेका हौँ । नेतृत्वपंक्तिमा उहाँहरु नै हो । तर मलाइ के लाग्छ भने जुन ढंगले उहाँहरु पेश हुनुभएको छ । र स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने गरेर केन्द्रीय स्तरबाट जुन किसिमको शैली यहाँ अहिले विकसित हुन गएको छ । त्यसमा ज–जसले प्रजातन्त्र ल्याउनमा नेतृत्व गर्नु भो उहाँहरु नै खतरा त हुनुभएन ? स्थानीय निर्वाचनलाई स्थानीय आवश्यकता, स्थानीय पहिचानलाई परिपोषण गर्ने अवसर दिनुपर्नेमा त्यसलाई कतै विस्थापित त हुने अवस्था आएन ? यो कुराले मलाइ अलिकता चिन्तित बनाएको छ ।’
उनले दलका शीर्ष नेताहरुले वाकयुद्ध गरिरहेका बताए । नेताहरुका बिचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेको उनले उल्लेख गरे ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताइन् । उनले निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौँ हजारको निर्वाचन गराउन सक्ने बताइन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)कि अध्यक्ष इन्दिरा श्रेष्ठले निर्वाचन आचारसंहिताको पालना गर्ने मुख्य दायित्व राजनीतिक दलको भएको बताइन् । उनले दलका साथसाथै सबै नागरिकको पनि निर्वाचन आचारसंहिता पालना गर्ने दायित्व भएको बताइन् ।