बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

मङ्गलबार, २७ वैशाख २०७९, १५ : २०
मङ्गलबार, २७ वैशाख २०७९

स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ । निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग्री मतदान अधिकृत र सहायक अधिकृतलाई बुझाइएको कार्कीको भनाइ छ । मतदाता सङ्ख्याको आधारमा कर्मचारीको सङ्ख्या बाँडफाँट गरिएको छ । प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयम्सेवक खटिने छन् । त्यस्तै मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी पाँचजना खटिनेछन् । 

निर्वाचनमा जिल्लामा म्यादी प्रहरीको सङ्ख्या एक हजार ६५१ जना रहेको छ । जिल्लाको सुरक्षा हेरेर सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार सात पालिका रहेको जिल्लामा मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन स्थलगत अध्ययन तथा अनुगमन भइरहेको छ । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले जिल्लामा २५ वटा अतिसंवेदनशील, ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल समान्य गरी वर्गीकरण गरेको छ ।

जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप