शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘साढे चार वर्षमा साढे नौ सय करोडको काम गरेको छु, चुनाव अवश्य जित्छु’

स्थानीय तहमा पार्टीभन्दा बढी व्यक्तिको मूल्याङ्कन हुन्छ : विजय सरावगी
मङ्गलबार, २७ वैशाख २०७९, २० : ५०
मङ्गलबार, २७ वैशाख २०७९

विजय सरावगी एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकामा मेयरका लागि उम्मेदवार छन् । उनी दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनेका हुन् तर फरक पार्टीबाट । यसअघि संघीय समाजवादी पार्टीबाट चुनाव जितेका उनी पछिल्लो समय जसपा नेपालमा थिए । जसपाबाट पुनः टिकट नपाउने भएपछि उनी एमालेमा प्रवेश गरेर एमालेबाटै मेयरको उम्मेदवार बनेका हुन् ।

व्यापारिक पृष्ठभूमिका सरावगीले महानगरपालिकामा राम्रो काम नगरेको भन्ने गुनासो पनि व्याप्त छ । अर्कोतिर सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिनु परेका कारण उनले अंकगणितको चुनौती पनि सामना गरिरहेका छन् ।

मेयरका रुपमा एउटा कार्यकाल पूरा गरेका सरावगीका लागि वीरगञ्ज महानगरको नेतृत्व गरेको अनुभव त छ तर एक महिना अघि एमालेमा प्रवेश गरेका उनलाई एमालेका कार्यकर्ताको मन जित्नुपर्ने चुनौती, गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने चुनौती र अघिल्लो कार्यकालमा हुन नसकेका कामका बारेमा आलोचनाका चुनौतीले एकसाथ घेरेको देखिन्छ । यिनै सेरोफेरोमा केन्द्रित रहेर सरावगीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईंको चुनावी अभियान कस्तो छ ?

आज मध्यरातदेखि मौन अवधि सुरु हुन्छ । मतदाताको घरघर पुगेँ । घरदैलो कार्यक्रम सम्पन्न भयो । चुनावी सभा, चुनावी गोष्ठी, प्रचार प्रसारको कामहरु भयो । विभिन्न संघ, संस्थालाई भेट्ने काम लगभग सम्पन्न भएको छ । जनतासँग मैले आफ्नो कुरा राखेँ । जनताले पनि आफ्नो कुरा राखेका छन् । मैले साढे चार वर्ष वीरगञ्ज महानगरपालिका चलाएका कारणले जनतासँग घुलमिल हुन, जनतालाई आफ्ना कुरा राख्न मलाई कुनै गाह्रो भएन । अर्थात् चुनाव जित्ने गरी नै अभियान आगाडि बढेको छ । जनताले कसलाई मत दिन्छन्, त्यो जनताकै जिम्मामा छाडिदिएका छौं ।

घरदैलोमा जाँदा जनताको अपेक्षा कस्तो पाउनुभयो ?

जनताको अपेक्षा धेरै छन् । प्रत्येक वडा तथा टोलमा पुग्दा त्यहाँका बासिन्दाले कुनै न कुनै समस्या राख्ने गर्नुहुन्छ । उहाँहरुको अपेक्षा कुनै ठूलो, कुनै सानो हुन्छ । कुनै अपेक्षा तत्कालै पूरा गर्न सकिने खालको हुन्छ भने कपितयका लागि समय लाग्छ ।

उनीहरुको मुख्य माग के हो ?

मैले चार वर्षको अवधिमा थुप्रै काम गरेँ । अझै केही बाँकी छन् । जनताले अहिले पनि बाटोघाटो, नालाको कुरा मुख्य रुपमा उठाउने गरेको पाइन्छ । अहिले पनि हामीसँग बजेटको अभाव छ । स्रोतको अभावमा सोचेजस्तो कार्य गर्न सकिरहेको छैन । स्रोत जुटाउनका लागि करको व्यवस्था गरिएको छ । तर जनताले त्यो कर तिर्न पनि हिचकिचाइरहेका छन् । हामीलाई कोरोना महामारीले निकै डिस्टर्ब ग¥यो । सोचेका काम पनि गर्न सकिरहेको थिएन । कोरोना महामारी नियन्त्रणका लागि मात्र १२ करोड रुपैयाँ खर्च भएको छ । साढे चार वर्ष गरेको कामको चर्चा गर्दै अझ थप काम गर्न हौसला प्रदान गर्ने काम जनताले गरेका छन् ।

तपाईं यसअघि पनि वीरगञ्ज महानगरपालिको मेयर हुनुहुन्थ्यो । मेयर हुँदा खासै काम गर्नुभएन भन्ने गुनासो छ नि ?

त्यस्तो गुनासो छैन । मैले अघि नै भनेँ नि ! सबैलाई सन्तुष्ट बनाउन सकिँदैन । हरेक खालका व्यक्ति हुन्छन्, सबैलाई एकै पटक सन्तुष्ट गर्न सकिँदैन । कतिपय कुरा विपक्षीले पनि उठाएका छन् । विपक्षीको काम नै विरोध गर्नु हो, त्यसमा मेरो कुनै गुनासो छैन । साढे चार वर्षमा साढे ९०० करोड रुपैयाँ खर्च भएको छ । यो रकमले पक्कै पनि केही केही काम भएको होला । हाम्रा स्रोत साधन लिमिटेड छ । वार्षिक ४० करोडभन्दा बढी आम्दानी महानगरले गर्न सकिरहेको छैन । सरकारले दिएको रकम र आफ्नो आन्तरिक स्रोतको रकम मिलाएर भए पनि मन खोलेर काम गर्न सकिरहेको छैन । ऋण ल्याएर काम गर्न सकिँदैनथ्यो, त्यो हाम्रो बाध्यता हो । बजेटको अभाव भए पनि जनताको काम गरेको हो तर जनताको सबै इच्छा एकैपटक पूरा गर्न सकिँदैन । तैपनि हामी प्रयत्नमा छौं । जितेर गएपछि बाँकी काम पूरा गरिनेछ ।       

तपाईंले साढे चार वर्षमा साढे ९०० करोडको काम गर्नुभयो, त्यो रकमले महानगरको धेरै काम भयो होला, अब वीरगञ्ज महानगरपालिकामा के के काम बाँकी छन् त ?

महानगरपालिका हुनका लागि जे जे आवश्यक कामहरु छन् ती सबै काम हुन्छ । पुरानो वीरगञ्ज साह्रै साँघुरो भइसक्यो । हिँडडुल गर्न पनि गाह्रो भइरहेको छ । नयाँ वीरगञ्ज बसाउने मेरो सोच छ । दोस्रो, कुरा सिर्सिया नदीलाई बागमती करिडोरजस्तै बनाउने सोच छ । सिर्सिया नदीको बाढीले जनतालाई बेलाबेलामा दुःख दिने गरेको छ । त्यसलाई नियन्त्रण गर्न पक्की बाँध बाँध्ने सोच छ । आर्थिक र औद्योगिकीकरण क्षेत्रको रुपमा चिनिएको वीरगञ्जलाई झन् समृद्ध बनाउनु छ । समृद्ध वीरगञ्ज बनाउनका लागि थुप्रै काम गर्नुपर्ने हुन्छ । जुन सम्बोधन गर्न बाँकी नै छन् ।

तपाईं वीरगञ्जको मेयर भएकै अवस्थामा जसपा छाडेर एमालेमा जानुभयो, यस अवस्थामा तपाईंलाई चुनावमा कतिको गाह्रो भइरहेको छ ?

मलाई कुनै गाह्रो छैन । स्थानीय तहमा पार्टीभन्दा बढी व्यक्तिको मूल्याङ्कन हुन्छ । त्यहाँको व्यक्तिको व्यक्तित्वको आधारमा पनि मूल्यांकन हुने गरेको छ । मेरो हकमा पनि त्यही कुरा लागु भएको छ । हाम्रो क्याडरवेस पार्टी हो । त्यो अनुसार मत आइ नै हाल्छ तैपनि स्थानीय तहको चुनावमा व्यक्ति फ्याक्टर निकै महत्वपूर्ण हुन्छ । त्यसैले मलाई नयाँ पार्टीमा कुनै गाह्रो छैन ।

एकातिर गठबन्धन, अर्कोतिर तपाईंको पार्टी विभाजन भएर कमजोर भएको छ । त्यस अवस्थामा पनि गठबन्धनलाई चुनाव हराएर आफू जित्ने भन्नुहुन्छ, त्यो कसरी सम्भव छ ?

गठबन्धनले मलाई केही फरक पार्दैन । गठबन्धनले मलाई सहयोग नै भइरहेको छ । मैले महानगरपालिका कसरी चलाएको छु, जनतालाई थाहा छ । मसँग काम गर्ने अनुभव छ । त्यही अनुभवको आधारमा मैले चुनाव जित्छु जस्तो लाग्छ । एमाले पार्टी कमजोर छैन । अहिले पनि देशको सबभन्दा ठूलो पार्टी हो । यसको ७७ वटै जिल्लामा संगठन छ । एमालेले देश र जनताका लागि गरेको कामका कारण मतदाताले एमाले पार्टीलाई रुचाईसकेका छन् । जनताको हितमा मैले काम गरेको भए मलाई त्यही जनताले फेरि जिताउने विश्वास लिएको छु ।

मधेसमा एमाले केही कमजोर नै मानिन्छ । यस अवस्थामा पनि तपाईं एमालेबाट चुनाव लड्ने आँट कसरी गर्नुभयो ?

यो आँट मलाई एमाले पार्टीले नै दिएको हो । एमाले पार्टी देशको राष्ट्रवादी पार्टी हो । मधेसी जनताको दुःख सुखमा साथ दिने पार्टी हो । एमालेले मधेसवादी दलको जति माग पूरा गरेको छ, त्यति माग अहिलेसम्म कुनै दलले पूरा गरेको छैन । एमाले नेतृत्वको सरकार हुँदा देशमा धेरै महत्वपूर्ण काम भए । त्यसलाई नजरअन्दाज गर्न मिल्दैन र, अहिले एमाले सरकारमा नभए पनि देशका लागि थुप्रै कामको सुरुवात गरेको छ ।

अहिलेको सरकारले कुनै पनि नयाँ काम सुरु गरेको छैन । एमाले नेतृत्वले सुरु गरेकै कामलाई यो सरकारले अघि बढाएको मात्र हो, नयाँ काम गरेको छैन । मधेसमा एमालेको कुनै आलोचना भइरहेको छैन । मधेसमा एमाले ठूलो दल बन्दैछ । स्थानीय तहमा पनि एमालेले थुप्रै पालिकाहरु जित्ने हामीलाई विश्वास छ । त्यसैले मलाई पनि चुनावमा उठ्न आँट आएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप