विगतको गल्तीबाट पाठ : असल उम्मेदवारको खोजी
जनताले गाउँ गाउँमा सिंहदरबार, मोनो रेल, मेट्रो रेल, चौडा बाटो, घरघरमा विकास लगायतका अघिल्लो वर्षका केही चर्चित चुनावी नारा सेलाउन नपाउँदै आगामी चुनावको लागि नयाँ नारा असरल्ल छन् । पाँच वर्षअघि चुनावी वाचा र घोषणापत्रमा समावेश गरिएका कति योजना पुरा भयो ? यसको समीक्षा कसले गर्ने ?
प्रजातान्त्रिक पद्धतिमा चुनाव आउँछ जान्छ, जित हार हुन्छ । तर जनताका मतको न्यायिक सुनुवाइ किन हुँदैन ? किन जनतालाई धोका दिनेलाई कार्यवाही हुँदैन ? चुनावताका काम गर्छु, मलाई जिताउनुस् भनेर वाचा गर्ने तर काम नगर्ने जनप्रतिनिधि कार्वाहीको भागीदार हुनुपर्ने होइन र ? विडम्बना हिजोका असफलहरु पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । कयौं आरोपितहरु विना कुनै संकुच खुलेआम चुनावी दौडमा छन् । अघिल्लो कार्यकालमा काम गर्न नसकेको अधुरो काम गर्ने वाचा गर्दै पुनः भोट मलाई भन्दै घर घरमा धाइरहेका छन् ।
मैले गर्न सक्छु, मेरो भिजन राम्रो छ, म जित्न योग्य छु भनी विभिन्न उम्मेदवारबिच जितको निम्ति प्रतिस्पर्धा हुन्छ चुनावमा । विभिन्न विचारधाराका राम्रामध्ये धेरै राम्रोलाई, जनताले आफ्नो मत दिएर चयन गर्ने हो । यहाँ मान्छेको आचरण विचार व्यवहार र उसले गरेका वाचा निष्ठाको मूल्याङ्कन गरी चयन गर्नुपर्ने हो । उसको अनुभव चरित्र र विचारको विचार विमर्श हुनुपर्ने हो । अनि मात्र मत दिनुपर्ने नीति हुनुपर्ने हो ।
अर्कोतिर चुनाव भनेको सही र गलतको हिसाब किताब गर्ने स्थल पनि हो । भलै प्रजातान्त्रिक पद्धतिमा प्रतिस्पर्धा हुन्छ, धेरै मतले ल्याउने विजेता हुन्छ । तर यसको अर्थ यो होइन कि जस्तोसुकै उम्मेदवारबारे थाहा नपाई, योग्य छ, छैन नबुझी मत हाल्नुपर्छ भन्ने हुँदैन । असल मतदाताले आफ्नो मतको सही सदुपयोग यिनै कुरालाई मनन गरेर गर्नुपर्छ । विडम्बना एकाधबाहेक निर्वाचनमा यस्ता प्रश्नको त्यति चर्चा हुँदैन । हाम्रा मतदानले आफ्नो अधिकारको सदुपयोगभन्दा दुरुपयोग धेरै गरेको देखिन्छ ।
निश्चित उम्मेदवारलाई किन, केको लागि मत दिने भन्ने विषयमा जनस्तरबाट खोजी खासै भएको देखिँदैन । उम्मेदवारबाट पनि जसरी हुन्छ, धेरै मत ल्याउने नै हाम्रो चुनावको मूल मन्त्र भएको छ । जनताले पनि बजारको हल्लाअनुसार मत दिने गरेको पाइन्छ । राम्रालाई भन्दा हाम्रालाई बढी प्राथमिकता दिने परिपाटी धेरै रहेको छ । अझ साम दाम दण्ड भेद प्रयोग गरेर हुन्छ कि कसैलाई बागी उठाएर हुन्छ कि या अरु नै तिकडम गरेर हुन्छ, मत प्राप्त गर्ने नै चुनावको अभ्यास देखिन्छ ।
मतदातालाई पनि चुनावमा उठेका उम्मेदवारको व्यक्तित्व आचरण र पृष्ठभूमिको खासै जानकारी नराख्ने परिपाटी रहेको छ । त्योभन्दा उसको धन कति छ, त्यसको चर्चा हुन्छ । धनकै आधारमा उक्त व्यक्तिको प्रभाव अरुको भन्दा धेरै परिसकेको हुन्छ । अझ पार्टीको झण्डाले उम्मेदवारका सबै कमीकमजोरी ढाकछोप गर्न सफल भएको छ । फलतः मनकारी, स्वाभिमानी भन्दा जस्तोसुकै स्रोतबाट धन जम्मा गरेको होस् उसकै पल्ला भारी हुन्छ । र, अधिकांश अवस्थामा उसको जित पनि भएको हुन्छ । जसकारण चुनावी वाचा र जनप्रतिनिधिको काममा आकाश पातालको भिन्नता देखिन्छ ।
चुनावी खर्च खै पारदर्शी ?
केही समयअघि काँग्रेस नेता सशांक कोइरालाले आफूले पहिलोपटक चुनाव लड्दा असी हजार खर्च भएको र २०७४ को प्रतिनिधि सभाको चुनावमा छ करोड खर्च भएको बताएका थिए । अब आउने चुनावमा कसैले उनले भन्दा धेरै खर्च गर्न सक्ने भए, आफूले उक्त निर्वाचन क्षेत्र छोड्ने बताएका थिए । वास्तवमा कोइरालाले भनेको कुरा तीतो सत्य हो । भलै उनले छ करोड कसरी कहाँबाट ल्याएर के शीर्षकमा खर्च गरे ? यस्तो अभिव्यक्ति दिदा निर्वाचन आयोगले किन जरिवाना गराएन, त्यो अर्को प्रश्न हो । कोइरालाको भनाईलाई मध्यनजर गर्दा नेपालमा हुने अधिकांश चुनाव निकै खर्चिला हुँदै गएका छन् । प्रचारप्रसार, कार्यक्रम तथा कार्यकर्ता खानपान, प्रलोभन आदिले ठूलो धनराशि माग गरेको हुन्छ । अहिलेको चलनचल्ती तथा जनताको बोलीअनुसार गाउँपालिका प्रमुखको खर्च करोडौं हुने गरेको छ भने मेयरको चुनावी खर्च नौं अंकको हुने आँकलन गरिन्छ । यस्तो चुनावको खर्चले विकासभन्दा बढी व्यापारको बाटो देखाउँछ ।
जहाँ लगानी हुन्छ, त्यहाँ अवश्य असुली र मुनाफाको खेल ढिलोचाँडो देखिन्छ । कुनै पनि उम्मेदवारले लाखौंलाख त्यसै खर्च गर्दैन, उसले जितेको खण्डमा त्यहाँ पक्कै निश्चित स्वार्थले प्राथमिकता बढी पाउँछ । यसरी लाखौंलाख खर्च गरेर निर्वाचित प्रतिनिधिले पहिला विकासभन्दा आफ्नो खर्च जसरी हुन्छ, असुल्नतिर लाग्छ । त्यसपछि आसेपासेलाई भागबन्डा, जालझेल, कमिसन, प्रतिशतको खेलले समाजको विकासभन्दा विनाश हुन्छ । यसमा पिच गरेको साता दिन नबित्दै भत्किने विकास पूर्वाधारलाई ज्वलन्त उदाहरणको रुपमा हेर्न सकिन्छ ।
टिकटको खेल
चुनावअघि देखिने टिकटको बाँडफाँटको खेलले रातारात पार्टी परिवर्तन, बागी उम्मेदवार, स्वतन्त्र उम्मेदवार, हिजोको काँग्रेस रातारात माओवादी, हिजोको एमाले आजको राप्रपा भएको दृश्यले टिकट कति महत्त्वपूर्ण, शक्तिशाली र परिवर्तनकारी रहेको छ भन्ने देखाउँछ । वास्तवमा, टिकट किन उक्त व्यक्तिलाई दिने ? यसको जवाफ टिकट दिने निकायले दिनुपर्थ्यो । तर पार्टीका टिकट वितरण नातावाद, कृपावाद र धनवाद आधार भएको छ । जसकारण वर्षौदेखि पार्टीको निम्ति खटेर डटेर लाग्ने निष्ठावान कार्यकर्ता मारमा परेका छन् ।
आजको तीतो सत्य के हो भने राजनीतिक दलले टिकट कसले कति खर्च गर्न सक्छ ? को कति शक्तिसँग निकट छ, त्यसको आधारमा टिकट वितरण भएको देखिन्छ । राम्रोभन्दा हाम्रो र सम्पन्नलाई टिकट दिने प्रवृत्ति बढेको छ । यस्तो घिनलाग्दो राजनीतिक अभ्यासले समाजको विकासभन्दा व्यक्तिको बढी विकास भएको छ । निकटतमले काम र शक्तिको दुरुपयोग गरेका धेरै उदाहरण हाम्रै अगाडि देखिएको छ । यस्तो अवस्थामा नेपालको चुनाव प्रणाली असल उम्मेदवार चयन गर्न असफल भएको देखिन्छ । चुनावको आवरण हेर्दा चुनाव विशुद्ध खर्चसँग जोडिएको छ । जसले खर्च गर्छ, उसले जित्छ जस्तो देखिन थालेको छ ।
मतदाताको मति
२००७ सालको चुनाव यता नेपाली जनताले मताधिकार प्रयोग गर्दै आइरहेका छन् । विडम्बना मतदाताले उम्मेदवार छनोटमा सही विवेक प्रयोग गरेको खासै आभास भएको देखिँदैन । हल्लाअनुसार मत दिने परिपाटी र प्रवृत्तिको अभ्यास अझैसम्म भइरहेको छ । बाहुबलीहरुको प्रभावले मतदाताले आफ्नो मतको सही सदुपयोग गरेको देखिदैन । भलै उसले गुप्त तरिकाले भोट दिन्छ तर उसले दिने मत पहिल्यै गणना भैसकेको हुन्छ । उसको मतले चुनावी परिणाम अगावै कसैको जित र हार निर्धारण गरिसकेको हुन्छ ।
अन्त्यमा, मतदाताले पहिलेका तमाम गल्तीबाट पाठ सिक्दै, कसैको प्रलोभन नपरी देशको हित गर्न सक्ने असल उम्मेदवारको चयन गर्नुपर्छ । मतदाताले कुनै पनि उम्मेदवारलाई आफ्नो मत दिनु अघि उम्मेदवारको पृष्ठभूमि, योग्यता, आचरणलगायतका विषयको अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । निर्वाचन आयोग लगायतका निकायले चुनावी शिक्षालाई तल्लो तहसम्म लैजानुपर्ने देखिएको छ । किन केको आधारमा उम्मेदवारलाई मत दिने जस्ता केही सैद्धान्तिक तथा नीतिगत ज्ञान मतदातालाई दिनुपर्ने देखिन्छ । त्यसपश्चात मात्रै असल उम्मेदवारलाई मत दिन सरल सहज र सही हुनेछ । अन्यथा, बिरालो बाँधेर श्राद्ध गर्ने चलनले निरन्तरता पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन