आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चुनाव प्रचार प्रसारको अन्तिम दिन : प्रमुख दलका शीर्ष नेता गृहजिल्ला केन्द्रीत

मङ्गलबार, २७ वैशाख २०७९, ११ : २०
मङ्गलबार, २७ वैशाख २०७९

स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन । अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको अन्तिम घडीको सदुपयोग गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले समेत देशभर विभिन्न स्थानमा चुनावी सभा गरेर मत माग्दैछन् । यसैक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु चुनावी अभियानको दौडधुपमा छन् । प्रमुख दलका शीर्ष नेताहरु आआफ्ना पार्टी र गठबन्धनका उम्मेदवारलाई मत माग्न मंगलबार दिनभर सकेसम्म धेरै स्थानमा आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्ने प्रयासमा लागेका छन् ।

त्यसक्रममा शीर्ष नेताहरु आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिदै त्यसबाहेक अन्य जिल्लामा हुने चुनावी सभा र कार्यकर्ता भेटघाटमा जुट्ने भएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा, एमाले अध्यक्ष केपी शर्मा ओली झापा, माओवादी केन्द्रका अध्यक्ष प्रदेश २ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

यसक्रममा देउवा मंगलबार दिनभर आफ्नो गृहजिल्लामा डडेलधुरामा आयोजना गरिएका चुनावी सभा र कार्यकर्ता भेटघाटमा व्यस्त हुँदैछन् । देउवाले औपचारिक रुपमा जिल्लामा दुईवटा सभालाई सम्बोधन गर्ने उनको नीजि सचिवालयले जनाएको छ । देउवाले त्यसबाहेक अन्य स्थानमा हुने सभालाई समेत सम्बोधन गर्नेछन् ।  देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा आजको सभा सकेर गृहजिल्लामै बस्ने र बैशाख ३० को मतदान पछि मात्रै काठमाडौ फर्कनेछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ र झापामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । सोमबार साँझ झापा पुगेका ओली आफ्नो चुनावी क्षेत्रका विभिन्न पालिकामा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । उनका अनुसार झापाको कार्यक्रम सकेर ओली दिउँसो चार बजेभित्र काठमाडौ आइपुग्नेछन् । काठमाडौको भृकुटीमण्डपमा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रदेश २ का ५ वटा जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । प्रचण्डले रौतहटको पिपरा विश्रामपुर, सर्लाहीको चक्रघट्टी, महोत्तरीको बर्दिवास, धनुषाको शहिदनगर र बाराको सिमरामा आयोजना भएका चुनावी सभालाई सम्बोधन गर्दैछन् । सिमराको सभालाई सम्बोधन गरेर प्रचण्ड मंगलबार नै काठमाडौ आउनेछन् । उनी बुधबार चितवन जाने र मतदानपछि काठमाडौ फर्कने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट सर्लाही, ललितपुर र काठमाडौमा हुने सभालाई सम्बोधन गर्दैछन् । नेता नेपालको सचिवालयका अनुसार मंगलबार बिहान रौतहटका विभिन्न स्थानमा भएका चुनावी सभा र भेटघाटपछि नेता नेपाल सर्लाहीका केही स्थानमा हुने सभालाई सम्बोधन गरेर राजधानी फर्कनेछन् । राजधानी फर्केपछि नेपालले काठमाडौ महानगरपालिकाको वडा नम्बर ९ र ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार आज मंगलबार राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले मत माग्न पाउने छैनन् ।

उपेन्द्र यादव मधेस प्रदेशका कार्यक्रममा व्यस्त

जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव मधेस प्रदेशका जिल्ला तहका कार्यक्रममा सहभागी हुने भएका छन्। जसपा प्रभाव क्षेत्र मधेस प्रदेश नै बढी भएकाले मौन अवधिको अघिल्लो दिन उनी मधेस प्रदेशका जिल्लामै केन्द्रीत हुने भएका हुन्। ‘आज मधेस प्रदेशकै जिल्ला सुनसरी र रौतहटसहित मोरङका जिल्लामा केन्द्रीत छु’, उनले भने, ‘जता जता पार्टीका कार्यक्रम छन् त्यतै प्रचारमा जुटेको छु । समय थोरै भयो जहाँ जहाँ भ्याइन्छ त्यहीँ पुग्ने तयारी गरेको छु।’

राप्रपा अध्यक्ष लिङ्देन झापामै केन्द्रीत


यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। अब उनी झापाबाट भोट हालेर मात्रै काठमाडौं फर्किने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘बिहान झापाको गौरादहमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुभयो। अहिले चन्द्रगढीको कार्यक्रममा हुनुहुन्छ। हल्दीवारी गाउँपालिकाका ५ वटा सभा, बारदही र कचनकलवको कार्यक्रमा सहभागी हुने भनिएको छ’ श्रेष्ठले भने,‘आज दिनभर साना ठूला गरेर ११ वटा कार्यक्रम राखिएको छ।’ मौन अवधिको तीन दिन लिङ्देन झापामै बस्ने भएका छन्।


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप