ad
x

के छान्ने :  चुनाव चिह्न कि नीति र चरित्र ?

person explore access_timeबैशाख २७, २०७९ chat_bubble_outline0

हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ l अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ l सुन्दरताको मानक र परिभाषा मानवीय छैन l रङ्ग रोगनको आधारमा सुन्दर हुने, वस्त्र र आभूषणको बलमा सुन्दर देखिने जात र धर्म,सम्पन्न र विपन्न, भूगोल वासस्थानको आधारमा उच्च र नीच भनिने जुन अवधारणा छ, त्यसको कारण हामी मानवीय र वैज्ञानिक परिभाषा भन्दा टाढा छौं l


आरम्भिक सौन्दर्य चेतना र आजमा भिन्नता हुन्छ l सामाजिक प्रक्रियाले कतिपय चेतनाको नव निर्माण गर्छ र कतिपय भत्काउँछ l आदिम काल र आजको चेत फरक छ परम्परागतरूपमा रहेका सौन्दर्यका दृष्टान्त र मान्यताभन्दा पृथक मान्यता वैज्ञानिक र मानवीय हुन्छ l रूप र आवरणमा देखिने कथित सुन्दरता र प्राज्ञिक बौद्धिक सुन्दरता भिन्न कुरा हुन् l बेग्लै सौन्दर्य चिन्तन हुन् l श्याम वर्णको हुनु नराम्रो हुनु होइन l श्वेत वर्णको हुनु राम्रो हुनु होइन l कालो र सेतो दुवैमा नराम्रो, राम्रो गुण हुन्छ l भौतिक उचाई, आवरणको आकर्षण वास्तविक सुन्दरता मापन गर्ने माध्यम होइनन् l



सुन्दरता मान्छेको आनीबानी, चरित्र,  आचरण अनुशासन र शैलीमा देखिनु पर्छ, रुपमा हैन l रुपवान देखिनु र रूपवती हुनुको सौन्दर्य मानक अब भत्किन लागेको छ l सौन्दर्य अब स्वभाव र शीलमा परीक्षण गरिन्छ l आचरण,  व्यवहार र नैतिकतामा हेरिन्छ l शारीरिक सौन्दर्य भनेको स्वस्थ हुनु हो l स्वस्थ हुनु मानसिक रुपमा पनि त्यतिकै जरूरी छ, जति शारीरिक l रूपको आकर्षण अर्थात् वाह्य आकर्षण क्षणिक र अस्थिर हुन्छ तर वैचारिक र वौद्धिक सैद्दान्तिक आकर्षण चिरकालको लागि रहन्छ l



सौन्दर्यको मूल्य सामाजिक, राजनीतिक र परिवेशले निर्माण गरेको हुन्छ l सौन्दर्ययात्मक मूल्य पनि स्थीर नभई बदलिन्छ, यो समाजको ऐतिहासिकता अनुसार पृथक पृथक हुन्छ l सौन्दर्यको श्रोत मान्छेको आत्मा हो र मान्छे आफैले सौन्दर्यको सिर्जना गर्दछ भन्ने मान्यता प्रत्ययावादी चिन्तकहरू क्रोचे, जाँपाल सात्र लगायतको देखिन्छ l मान्छेले निर्माण गर्ने सौन्दर्यानूभूति अब बदलिनु पर्छ l  तसर्थ हामीले अभ्यास गरेको राजनीतिमा पनि नवीन चेतना र सौन्दर्यको खोजी गर्नु जरुरी भएको छ l



त्यसैले कुनै पार्टी विशेषको चिह्न नै प्रधान बन्ने स्थितिको अन्त्य गरेर पार्टीको नीति, कार्यकर्म र त्यसलाई संवहन गर्ने नेताको गुण, अवगुण र चरित्र मुल्यांकन गरेर मतदान किन नगर्ने ? आकर्षण चुनाव चिह्नमा होइन, नीति सिद्दान्त कार्यक्रम विचार र त्यसको प्रवाह गर्ने नेतृत्व क्षमतामा हुनुपर्छ l पार्टीको चुनाव चिह्नको आधारमा लौरो उठाए पनि जित्छ भन्ने अवधारणालाई गलत सिद्ध गर्न पनि सचेत मतदाताले उमेदवार हेर्ने उसको शैली, जीवन चरित्र, निष्ठा, समाजप्रतिको समर्पण महत्वपूर्ण र मूल्यवान पक्ष हो l चिह्नको आधारमा चुनाव जित्ने र चिह्नको लागि आफैमा मारामार गर्ने लडने प्रवृतिको अन्त्य आजको आवश्यकता भएको छ l



कुनै पनि छनौटमा विवेक प्रयोगको नमुना देखिनुपर्छ  l चुनाव चिह्न नै सर्वेसर्वा होइन भन्ने कुरा कांग्रेस २०१५ सालमा चुनाव लड्दा उसको लागि रुख चिह्न पहिलोपल्ट प्राप्त गरेको र त्यसैमा दुई तिहाई मत ल्याएको बाट स्पष्ट हुन्छ l त्यस्तै २०६४ को ऐतिहासिक संविधान सभाको चुनावमा पनि नेकपा माओवादीले प्रत्यक्षमा प्राप्त सिट चुनाव चिह्नको कारण नभएर ऊ प्रतिको आकर्षणको कारण सम्भव भएको हो l यदि चिह्न नै मूल विषय हुन्थ्यो भने २०१५ सालदेखि रुख चिह्न लिएको नेपाली कांग्रेस र २०४८ सालदेखि सूर्य चिह्न लिएको एमाले भन्दा गोलाकार भित्र हँसिया हथौडा चिह्नले किन सबैलाई आश्चर्य चकित हुने गरी चुनावी परिणाम हात लायो ? यसर्थ चुनावमा चिह्न भन्दा पार्टीको नीति र सो नीति अवलम्बन गर्ने पात्र व्यक्ति र चरित्र आकर्षक हुन्छ, हुनुपर्छ l



तर सिक्काको अर्को पाटो पनि छ l चुनाव चिह्नभन्दा विचार र व्यक्तिको चरित्र छनौट गर्ने आम परिपाटी बसेको हुन्थ्यो भने  २०४८ सालदेखि मादल चिह्नलाई सर्वस्व ठान्ने भक्तपुरका मादलवादीको सट्टा अर्को मान्छे र पार्टीले जित्ने सम्भावना पनि उत्तिकै रहन्थ्यो l त्यतिमात्र हैन, रुख चिह्न मार्फत २०४८ देखि डडेल्धुराबाट अनवरत विजयी बन्दै आएका शेरबहादुर देउवा प्रतिस्थापित बन्ने सम्भावनालाई पनि नकार्न सकिन्न l निश्चित चुनाव चिह्नले गर्दा आफ्नो पार्टीको चिह्न नै पूज्य देवता सम्झने मनोवृत्ति र परम्पराले गर्दा कतिपय नयाँ सम्भावना र सिर्जनात्मक क्षमतालाई निषेध गरेको देखिन्छ l पार्टी पुरानो र सो पार्टीको चिह्न पुरानो भएको कारण नूतन सम्भावनालाई छेक्ने रोक्ने तगारो भएको कारण प्रखर सम्भावना र बुलन्द क्षमता भएका व्यक्ति राज्यको नीति निर्माण तहमा, विकास निर्माण कार्यन्वयनको थलोमा पुग्न वन्चित भएको आजको टड्कारो अवस्था हो l



चुनाव चिह्नको सिन्डिकेट र एकाधिकारको कारण सहभागिता मुलक लोकतन्त्रमा प्रत्यक्ष/परोक्ष घात भएको छ l नयाँ सम्भावना चिचिलोमै निमोठिएको छ l त्यसैले चुनाव चिह्नका बारेमा सरोकारवाला सबैले अब सोचेर आवश्यक सुधार गर्ने साहस गर्नु जरुरी छ l  यो वर्णानुक्रम र कालक्रमिक हुनु आवश्यक हुन्छ l  चुनाव चिह्न एक चुनावको लागि मात्र हुने वैज्ञानिक मापदण्ड निर्धारण गरिनु पर्छ l



चुनाव चिह्नमा गरिने फजुल खर्च नियन्त्रण गर्न पनि स्थायी चुनाव चिह्न दिने व्यवस्था हटाउनु पर्छ l स्थायी चुनाव चिह्न हुँदा त्यस्तो चुनाव चिह्न सदाको लागि रहने हुँदा चुनाव चिह्न अत्यन्त आकर्षक निर्माण गर्ने पर्चा पम्प्लेट धेरै र पछिसम्मको लागि बनाउँदा अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च हुन्छ l तसर्थ स्थायी चुनाव चिह्न, चुनाव चिह्नमा रहेको मोह र सौन्दर्यचेत बदल्ने तर्फ आगामी बहस मोडिनु सान्दर्भिक देखिन्छ l

दलहरूको चुनाव चिह्नको एकाधिकार र जबर्जस्ती रोक्न मात्रै सकियो भने पनि बहुदलीय व्यवस्थामा सिमित पार्टी सिन्डिकेट र एकाधिकार समाप्त भएर दलको नीति र उसले अख्तियार गर्ने सिद्धान्त अनि उसले दिएको उम्मेदवारको आधारमा चुनिने प्रबन्ध सहज सरल र सम्प्रेष्य बन्न सक्थ्यो l शासक बन्ने मानसिकता त्यागेर सेवक बन्न प्रतिबद्ध दल र सामाजिक रुपमा परीक्षित व्यक्ति नै जनताको छनौटमा पर्ने थिए l अनि पो जनतालाई पार्टीहरूले प्रशासन होइन सेवा र शासक होइन सेवक उपलब्ध गराउने थिए l

विवेक र अन्त:प्रज्ञा भएको सौन्दर्य चेतना विकास गर्न सकियो भने समाज रुपवादी मात्रै भएर बस्दैन र पार्टीको चिह्नलाई मात्र आदर्श भनेर पुज्दैन l तीन पुस्ते कांग्रेस, तीन पुस्ते कम्युनिस्ट, हामी संधै राजावादी अथवा हामीले फलानो चिह्न बाहेक अन्यत्र भोट हालेको छैन जस्ता अभिव्यक्ति विज्ञान सम्मत र सामाजिक रुपान्तरणको लागि ग्राह्य विषय बन्न सक्दैन l समय र समाजको गतिशिलता त्यो चेत र अवधारणाले बोक्न सक्दैन l त्यसैले मतपत्रको चित्रमा होइन दल/उम्मेदवारको चरित्रमा, लघुतामा होइन व्यापकतामा, संकुचनमा होइन फैलावटमा समाज विकासको मार्ग सहज बन्छ l चुनाव चिह्नको एकाधिकारवादी हैकम तोड्न नयाँ भाष्य सिर्जना गरेर पब्लिक डिस्कोर्स चलाउन जति बिलम्ब गरियो त्यति नै नयाँ नयाँ सम्भावना र पात्रमाथि अत्याचार थोपरिने छ l

चुनाव चिह्नभन्दा उम्मेदवारको चरित्र, आनिबानी,स्वभाव अनि दलको नीति, दृष्टिकोण, विकास योजना, उदेश्य र लक्ष्य जस्ता यावत सामाजिक चरित्र निर्णायक र अपरिहार्य हुनुपर्छ,तव मात्र सार्थक र गतिशील बन्छ प्रजातान्त्रिक प्रणाली l  सही विचार, चिन्तन, आचरण, नैतिकता अनि सामाजिक निष्ठा र निरन्तरतामा खोजिने दर्शनको विकास समयको माग हो l त्यसैले चुनाव चिह्नमा होइन चरित्रमा, आवरणमा नभएर आचरणलाई प्राथमिकिकरण गरौं l विवेक र विचारको सौन्दर्यापान गर्ने वातावरण सिर्जना गर्न नवीन भाष्यलाई केन्द्रमा राखौं l कुनै पनि पार्टीको चुनाव चिह्नमा भन्दा उसको नीति राष्ट्रिय पोजिसन र त्यसलाई प्रवर्तन गर्ने नेताको व्यक्तित्व पारख गरेर निर्णयको लाहाछाप लगाउने नव संस्कृति सिर्जना गर्न लागिपरौँ l चिह्न अस्थायी प्रयोजन मात्र हो, चरित्र स्थायी व्यवहार अतएव चरित्र प्रधान संस्कृति प्रवर्द्धनमा ध्यान पुर्यायौँ l विवेक बन्धक राखेर होइन स्वतन्त्र भएर निर्णय गरौ l भाग्य र भविष्य बदल्ने मौकालाई क्षणिक स्वार्थको लोभमा बिक्रीवितरण गर्ने अवस्था सिर्जना हुन नदिन सचेततापूर्वक खबरदारी गर्नु सचेत र वौद्धिक नागरिकको कर्तव्य हो l

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।