बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतको हिसाब गरेर गठबन्धन गरिएको होइन : राजेश बानियाँ

मङ्गलबार, २७ वैशाख २०७९, १० : २६
मङ्गलबार, २७ वैशाख २०७९

स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका राजेश बानियाँ जनमतको हिसाब गरेर गठबन्धन नगरिएको बताउँछन् । पाँच दलबीच तालमेल गर्ने केन्द्रको निर्णयअनुसार हेटौँडामा नेकपा एकीकृत समाजवादीले मेयर र नेपाली काँग्रेसले उपमेयरको उम्मेदवारी दिएको उल्लेख गर्दै उनले आफूहरू परिवर्तनलाई संस्थागत गर्ने र विकास निर्माणलाई प्राथमिकता दिने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएको बताए ।

२०७४ सालको निर्वाचनमा हेटौँडा उपमहानगरपालिका–५ को वडा अध्यक्षमा निर्वाचित बानियाँ हेटौँडाको समृद्धिका लागि विकासको मोडल नै परिवर्तन गरेर योजना ल्याउनुपर्ने बताउँछन् ।​उपमेयरका उम्मेदवार बानियाँसँग रातोपाटीले चुनावमा केन्द्रित भएर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउने सवालमा निकै समस्या भए । मनोनयन दर्ताको अन्तिम क्षणमा मात्रै तपाईंको उम्मेदवारी तय भयो । यसले निर्वाचनमा कस्तो असर पर्ला ?

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार को बन्ने भन्ने विषय केन्द्रले निर्णय गर्ने भनिएको थियो । त्यसैले हेटौँडामा गठबन्धन हुँदा मेयर नेकपा एकीकृत समाजवादी पार्टीलाई र उपमेयर नेपाली काँग्रेसको भागमा प¥यो । काँग्रेसको टिकट केन्द्रीयस्तरबाटै टुङ्गिने निर्णय थियो । केन्द्रबाटै टिकट टुङ्ग्याउनुपर्ने भएकाले मेरो विषयमा निर्णय आउन केही ढिलाइ भएकै हो । तर, ढिलो भए पनि मजबुत निर्णय भएको छ ।

मैले टिकट पाउँदा धेरै कुरा आए । मलाई नेताको नजिकको मान्छे, आफ्नो मान्छे भएकै कारणले टिकट पाएको भन्ने सवालहरू उठाइयो । तर, जनमत बारेमा मूल्याङ्कन गरेरै पार्टीले मलाई टिकट दिएको थियो । गठबन्धनबाटै टिकट टुङ्ग्याउनु पर्ने अवस्थामा पाँच पार्टीको सहमति हुन आवश्यक थियो । त्यसका लागि धेरै छलफलपछि मात्रै मेरो उम्मेदवारी तय गरिएको थियो ।

टिकट वितरणको सवाललाई लिएर काँग्रेस र गठबन्धनका दलहरुबीच विवाद देखिएको थियो । त्यही विवादका कारण काँग्रेसकै जिल्ला नेताहरू रुष्ट बनेका थिए । यसले त निर्वाचनमा समस्या हुने भयो नि, होइन ?

होइन । त्यस्तो समस्या हुँदैन । गठबन्धनको निर्णय हुनु अघि धेरै मत भएको पार्टीले मेयरको उम्मेदवार हाम्रो पार्टीको हुनुपर्छ भन्नु स्वाभाविक हो । त्यो अनुसार जिल्ला तहबाट केन्द्रमा दबाब दिने काम पनि भयो । केन्द्रले पनि सोही अनुसार रुलिङ गरेको थियो । तर, देशभरको स्थानीय तह मिलाउनुपर्ने थियो । यो अवस्थामा हामीले पनि हेटौँडालाई मात्र प्राथमिकतामा राखेर सोच्नु हुँदैन । हेटौँडामा नेकपा एकीकृत समाजवादी पार्टीले पाएको अवस्था मात्रै हेर्दा गठबन्धनको मर्ममाथि नै प्रश्न खडा हुन्छ । देशका अरू स्थानीय तहमा ठूलै पार्टीले बढी लिएको अवस्था छ । त्यसमध्ये काँग्रेसले धेरै पाएको पनि छ । अहिले धेरै हदसम्म यो समस्या समाधान भइसकेको छ । अहिले नेताहरू गठबन्धन जिताउन पूर्ण रूपमा लाग्नुभएको छ । हामी त पात्र हौँ । नेता र नेतृत्वले चुनाव जिताउनु पर्ने भूमिका हुन्छ । त्यस कारण उहाँहरूको भूमिकामा कमजोरी छैन । धेरै कुराहरू गलत प्रचार भएका छन् । तर, जनता गलत प्रचारको पछि लागेका छैनन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको जनमत कति छ भन्ने यकिन नभएको अवस्थामा गठबन्धनले चुनाव जित्न कतिको सहज देख्नुहुन्छ ?

हेटौँडामा काँग्रेस कमजोर छैन । यहाँ काँग्रेसको प्रभाव बढ्दो क्रममा छ । अहिलेको अवस्था हेर्दा हाम्रो जित धेरै सहज देख्छौँ । किनकि हामी गठबन्धनमा छौँ । कुरा आयो कसको जनमत कति भन्ने विषय । त्यो पार्टीको जनमत छ वा छैन भन्ने सवाल नेतृत्वले उठाएको होइन । हामी उम्मेदवारले पनि भनेका छैनौँ । यो प्रतिस्पर्धाले फैलाएको कुरा हो । अहिलेको गठबन्धन संविधान जोगाउन बनेको हो । त्यसकारण यसमा जनमतको हिसाब गरेर गठबन्धन गरिएको होइन । गठबन्धनमा स्वतः जनमत छ । यसको हिसाब किताब गर्न जरुरी नै छैन । निर्वाचनको नतिजा हाम्रो पक्षमा आउँछ ।

उपमेयरको उम्मेदवार बन्दा जनताको धेरै अपेक्षा देखिन्छ । ती अपेक्षा पूरा गर्न कति सम्भव होला ?

म जनताको काम गर्ने मान्छे हुँ । चाहे पदमा बसेर होस् वा नबसेर । म पद नहुँदा पनि सामाजिक रूपमा जनताको सुख, दुःखमा सक्रिय थिए । अब त जनताको काम गर्छु भनेर ५ वर्ष वडा अध्यक्षको भूमिका पनि सफलतापूर्वक निर्वाह गरिसकेको छु । त्यसैले जुन पदमा बसेर पनि म जनताका जायज सबै अपेक्षा पूरा गर्न सक्छु । किनकि मसँग कुनै स्वार्थ छैन । मलाई त्यहाँ पुगेर मेरो मान्छेलाई जागिर लगाउनुपर्ने छैन । सेवा सुविधाको लोभ पनि छैन मलाई । मलाई पदको घमण्ड कदापि भएन । त्यस कारण गर्दा जनताका अपेक्षा पूरा गर्छु भनेरै उपमेयरको उम्मेदवार बनेको हुँ । म जनतासँग एउटै माग गर्दछु– एक पटक नेतृत्व परिवर्तन गरेर हेरौँ । गठबन्धनले गर्न सक्छ । म गर्न सक्छु । असम्भव भन्ने केही छैन । मात्रै आत्मबल र योजना आवश्यक छ । स्वार्थ त्याग्नु पर्छ, त्यसपछि जनताका अपेक्षा पूरा गर्न सकिन्छ ।

तपाईंले उपमेयर पदमा जित्नुभयो भने हेटौँडाले कस्तो उपलब्धि हासिल गर्न सक्छ ?

संविधानले स्थानीय तहलाई बलियो बनाएको छ । स्थानीय तहलाई थुप्रै अधिकार दिएको छ । अहिले पनि ती अधिकार उपमहानगरपालिकाको कार्यालयमा खुम्चिरहेको छ । अगाडिका नेतृत्वका कारण संविधानले दिएको अधिकारहरू कार्यालयमै खुम्चियो । वडाको अधिकारसमेत खुम्च्याइएको थियो । हामी निर्वाचित भएपछि सर्वप्रथम साधारण कामको लागि जनता उपमहानगरपालिकामा पुग्नु पर्दैन । वडालाई दिइएको सबै अधिकार वडामै राखेर अघि बढ्छौँ । यसो हुँदा जनताले भोग्ने समस्या आधा कम हुन्छ । हामी निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदको समानान्तर विकास हुनेछ । व्यक्ति कहिले पनि हाबी हुनेछैन । हामी सेवकका रूपमा रहने छौँ । पूर्वाधारको पाटोमा राष्ट्रिय गौरवका योजनाहरू हामी ल्याउँछौँ । जनताबाट लिएको राजस्व स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद सबै क्षेत्रमा लगानी गरिन्छ । यी क्षेत्रहरूमा जनताको पहुँच बढाइन्छ ।

तपाईंंका प्रतिबद्धता पत्रमा महत्त्वाकाङ्क्षी विषय समावेश गरिएको देखिन्छ । यो प्रचारका लागि मात्र गरियो भन्ने आरोप पनि छ । सबै योजना कार्यान्वयन हुन्छ भन्ने सम्भावना कति देख्नुभएको छ ?

हामीले योजनाहरू बनाउँदा निकै अध्ययन गरेका छौँ । योजना कार्यान्वयन नहुने सवाल नै छैन । जनताबाट निर्वाचित भइसकेपछि पार्टी, व्यक्ति, जात, धर्मको पक्ष विपक्ष हामीले त्याग्नेछौँ । नितान्त जनताका लागि काम गर्ने छौँ । हामी जनताको लागि काम गर्छौँ र हामीले अघि बढाएका योजना, प्रतिबद्धताहरूको मोडल केही फेरबदल हुन सक्लान् । तर, योजना नै कार्यान्वयन नहुने, हट्ने सम्भावना छैन । अर्को कुरा हामीले असम्भव, गर्न नसक्ने योजनाहरू ल्याएका छैनौँ । हामीले आफ्नो क्षेत्राधिकारभित्र रहेर योजना बनाएका छौँ । यो प्रचारबाजी गर्न अघि बढाएको होइन । विगतमा यहाँ म शासक हुँ भन्ने प्रवृत्ति थियो । त्यसलाई हटाएर म जनताको सेवक हुँ भन्ने अवस्था सिर्जना गर्न हामी आएका हौँ । त्यसैले जनताको हितका योजना कार्यान्वयन हुन्छन् । 

गठबन्धनको कारणले गर्दा मतदाताहरू मतदान गर्न अन्योल हुने अवस्था बनेको छ । मत त निकै बदर हुने देखिन्छ नि ?

हेटौँडा उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । त्यसबेला मत बदरकै कारणले गर्दा हामीले मेयर उपमेयर दुवै गुमाएकै थियौँ । त्यतिबेला अन्तिम अवस्थामा हाम्रा साथीहरूको टिकट आएको थियो । जसले गर्दा जनतामा गठबन्धन बुझाउन समय नै मिलेन । त्यो बेला हामीले मत दिने तरिका सिकाउन नसकेको अवस्था थियो । त्यसैले धेरै मत बदर भयो । उम्मेदवारी नभएको पार्टीको पनि चुनाव चिन्ह भएको कारणले मत दिने बेला मतदाता झुक्किने गर्दछन् । त्यसकारण हामीले यो पटक मतदाता शिक्षालाई बढी जोड दिएका छौँ । त्यस कारण यस पटक मत बदर हुने सङ्ख्या निकै कम हुन्छ । हामीले विभिन्न टीम बनाएका छौँ । जसले गठबन्धनको पक्षमा मत दिने तरिका सिकाउने छन् । मतदाता शिक्षा प्रभावकारी बनाएका छौँ । त्यसैले विगतको जस्तो अवस्था बन्दैन ।

तपाईंलाई जनताले भोट दिनुपर्ने कारण के हो ?

हामीलाई मत परिवर्तनका लागि हाल्नुपर्ने हो । मैले पटक पटक भनेको छु, एउटै दलले ३० वर्षसम्म नेतृत्व लिनु भनेको परिवर्तनको खाँचो झल्किनु हो । एउटै अनुहार कहिले सांसद त कहिले मेयरमा उठेका छन् । जनतालाई परिवर्तनको खाँचो छ । नेतृत्वसँगै योजना पनि परिवर्तन हुन जरुरी छ ।

तपाईं अहिले चुनावी अभियानमा हुनुहुन्छ, अवस्था कस्तो पाउनु भएको छ ?

अहिले हामी हेटौँडा १ देखि १९ नम्बर वडासम्मको घरदैलोमा छौँ । जनता धेरै उत्साहित देखिएको छ । जनताको माग अहिले ३० वर्षदेखि एउटै नेतृत्व रहँदा पनि विकास हुन नसकेको नेतृत्व परिवर्तन हुनुपर्ने धारणा छ । चुनावप्रति जनता आकर्षित छन् । घरदैलोमा उत्साहपूर्ण ढंगले जनता गठबन्धनको पक्षमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप