बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा २२ मतदानस्थल व्यावहारिक नभएको भन्दै अन्यत्र सार्न सुझाव

मङ्गलबार, २७ वैशाख २०७९, ०९ : ५७
मङ्गलबार, २७ वैशाख २०७९

 स्थानीय तहको निर्वाचनको मतदानका लागि आउन ३ दिन बाँकी छ । भक्तपुरमा भने हाल कायम रहेका मतदान स्थल व्यवहारिक नभएको सम्बन्धित निकायहरूले बताएका छन् । जिल्लाका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार जिल्लामा हाल कायम रहेका केही मतदान स्थल सार्नु पर्ने देखिएका हुन् । 

उनका अनुसार २० देखि २२ स्थलहरू हाल कायम रहेका स्थानबाट अन्यत्र सार्नु पर्ने देखिन्छन् । बास्तोलाले भने ‘विद्यालय, स्वास्थ्य चौकी, पोखरीको छेउमा रहेका मतदान स्थल साँघुरो भएकाले अहिलेको अवस्थामा व्यवहारिक भएनन् । ’ मतदाताको सङ्ख्या बढ्ता समस्या देखिएको मुख्य निर्वाचन अधिकृत बास्तोलाले बताए । कतिपय विद्यालयको चौर एकातिर भवन अर्कोतिर फर्किएको छ, कहीँ पोखरीको किनारमा छ, कहीँ निकै सानो ठाउँ भएकाले ती स्थलहरू परिवर्तन गर्नु पर्ने सुझाव आएको उनले बताए । 

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले मतदान स्थल परिर्वतनको लागि आएको सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायमा पठाउने बताइन् । ‘यो पटकको निर्वाचनमा सम्भव भएन, अर्को निर्वाचनको लागि हामीले सुझाव दिएर पठाउने छौँ,’ शर्माले भनिन् । 

खुल्ला ठाउँ पालको व्यवस्था गरेर निर्वाचनको दिन सहज बनाउन, मतपेटिका, मतपत्र सुरक्षित राख्न आवश्यक सबै प्रक्रिया गर्न सबैको निर्देशन दिइसकेको उनले बताइन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जिल्लामा सर्वदलीय बैठक गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाउनु पर्दछ । त्यसपछि सुरक्षा संयन्त्रले सार्न सुरक्षाको दृष्टिकोणले उचित छ भन्ने राय दिएमा ती स्थलहरू अन्यत्र सार्न सकिन्छ । 

२०४८ सालमा २ सय मतदाता रहेको स्थानमा अहिले ६ हजार बढी मतदाता भइसकेकाले पनि स्थान साँघुरो र अव्यवहारिक भएको जिल्लाका सम्बन्धित निकायहरू बताउँछन् । भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनका लागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप