मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सशस्त्रमा एआईजीको दुई पद रिक्त, बढुवा सिफारिस एकजना मात्र

सोमबार, २६ वैशाख २०७९, २० : ५९
सोमबार, २६ वैशाख २०७९

सशस्त्र प्रहरी बलमा दुईवटा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पद खाली छ । वैशाख १९ पछि खाली भएको सो पदमा बढुवा गर्नेगरी तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले वैशाख १६ मा सूचना प्रकाशन गरेका थिए । एआईजी बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक हुन्छन् ।

वैशाख १८ बाट पुष्पराम केसी अवकाशमा गए । सोही दिन मन्त्रिपरिषद्ले राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सशस्त्रमा दुईवटा अतिरिक्त महानिरीक्षकको पद खाली भयो ।

वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । दुईवटा पद खाली भएपनि पौडेललाई मात्रै सिफारिस गरेकोमा सुरक्षा निकायका जानकारहरुले सो निर्णयमा आशंका गरेका छन् । वैशाख १९ बाट खाली भएका दुईवटा पदमध्ये एउटा पदमा एआईजी बढुवाका लागि किन सिफारिस गरिएन ? प्रश्न उठेको छ ।

नारायणदत्त पौडेललाई मात्र बढुवा सिफारिस गर्नुमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम जोडिएको छ । डीआईजी पौडेल र खड्का दुवैजना सुर्खेतका हुन् । राजु अर्याल भन्दा पछिल्लो सशस्त्र प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धाको अन्त्यका लागि पौडेललाई मात्र एकल बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए । उनीहरु सवैले बढुवाको लागि प्रकाशित सूचनाअनुसार आवेदन पेश गरेका थिए । तर, सो आवेदनलाई बेवास्ता गरेर स्वेच्छाचारी ढंगले बढुवा समितिले एकजनालाई मात्र बढुवा सिफारिस गरेको छ । यसबारे प्रश्न गर्दा गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले भने–‘कर्मचारी प्रशासन मेरो मातहतमा नपर्ने भएको हुनाले मलाई पनि थाहा भएन्, अब एउटा पदमा चुनाव पछि बढुवा निस्कन्छ ।’

एआईजीमा सिनियर भएमा पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षकको कार्यकाल सकिएपछि पनि करिब २ वर्ष आईजीपी हुन्छन् । पौडेललाई एकल बढुवा सिफारिस गरेसँगै खाली रहेको थप अर्को सिटमा बढुवा गर्न फेरि अर्को सूचना निकाल्नुपर्ने व्यवस्था सशस्त्र प्रहरी नियमावली–२०७२ मा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप