स्थानीय निर्वाचन आउन ४ दिन बाँकी, बाराका मतदाता अन्योलमा
बाराको दक्षिण पूर्वी र उत्तरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् । स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाका बारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् ।
लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्योलमा परेका हुन् । विभिन्न राजनितिक दलका उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरिकाले मतदाताका बीच जाने गरेको भएपनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षामा खासै ध्यान दिएको देखिएन ।
जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीले मतदाता शिक्षासम्बन्धी सञ्चार माध्यममा प्रसारण तथा प्रकाशन गर्न लगायत मतपत्रमा मत हाल्न मतदातालाई शिक्षा दिएको जानकारी दिए । तर, निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी सञ्चारमाध्यममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेकाले जिल्लाको ग्रामीण बस्तीमा मतदाता शिक्षा प्रायः शून्य देखिएको छ ।
मतदाता शिक्षाको अभावका कारण निर्वाचनमा अधिकांश मत बदर हुने सम्भावना रहेको छ । जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदान पर्ने निश्चित देखिएको छ ।