बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनुपर्छ : कानुनमन्त्री शर्मा

सोमबार, २६ वैशाख २०७९, १७ : १३
सोमबार, २६ वैशाख २०७९

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनुपर्ने बताएका छन् । सोमबार कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले न्यायाधीशहरुको कार्यशैलीलाई राज्यले अडिट गर्नुपर्ने बताएका हुन् । राज्यले गरेको अडिटको आधारमा न्यायाधीशको भविष्य निर्धारण हुनुपर्ने उनले बताए । 

उनले न्यायपालिकाको सुधार गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री शर्माले भ्रष्टाचाररहित न्यायपालिका बनाउन सरकारको तर्फबाट भूमिका निभाउन आफू तयार रहेको पनि स्पष्ट पारे ।

उनले भने– ‘जरुरी के हो भने जजेजहरुको पर्फमेन्स अडिट हुनुपर्छ । अपोइन्टमेन्ट गर्दा मात्र होइन, उनीहरू कसरी काम गरिरहेका छन् भन्ने पर्फमेन्स स्टेटबाट अथोराइज्ड एजेन्सी भनेको न्याय परिषद् नै हो उसले अडिट गर्नुपर्छ । अनि उसको पर्फमेन्सको आधारमा ऊ रहने, नरहने, अगाडी बढ्ने, पछाडि हट्ने यो सबै कुरा त्यहीँबाट डिटरमाइन गर्नुपर्छ । यसमा कमजोरी गर्नु हुँदैन । यसमा कुनै दलिय प्रभाव पर्नुहुँदैन । यहाँहरुलाई थाहा छ, मलाई त्यो सजिलो पनि छ । त्यस्तो कुनै प्रभाव मलाई पर्नेवाला छैन । त्यो भइसकेपछि मलाई लाग्छ सम्माननीयज्यूलाई र माननीय न्याय परिषद्का सदस्यहरूलाई अरू प्रभाव पर्दैन । आउने कानुनमन्त्री मार्फत हो । त्यो छिर्ने दुलो यही हो । तर यही स्ट्यान्डर्डबाट सम्माननीय प्रधानमन्त्री पनि न्यायपालिकामा गर्नुपर्ने सुधारका लागि प्रतिबद्ध हुनुहुन्छ । सिङ्गो नेपाल सरकार न्यायपालिकामा गर्नुपर्ने सुधारको लागि प्रतिबद्ध छ । भ्रष्टाचाररहित न्यायपालिका बनाउने कुरामा सरकारको तर्फबाट गर्नुपर्ने भूमिकाको लागि नेपाल सरकार तयार रहेको छ ।’

उनले अब कानुन व्यवसायको प्रमाणपत्र बोकेको आधारमा न्यायाधीशको नियुक्ति नगरिने पनि बताए । मन्त्री शर्माले अदालतले बेञ्चको समय बढाउने हो भने सरकार अतिरिक्त पैसा दिन तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप