लोकतन्त्रमा लिङ्देन र आरक्षणको सवाल
तीन दशकको इतिहास बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीको गत एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर आए, एक जनजातिको छोरो राजेन्द्र लिङ्देन । पूर्वपञ्चहरुको दलको उपमाले चिने यस दलको शीर्ष नेतामा क्षेत्री र ब्राह्मण समुदायकै हालीमुहाली थियो । त्यस्तो कठिन परिस्थितिमा पनि आफूलाई पार्टीको सर्वोच्च पदमा खरो उतार्न सक्नु लिङ्देनको उपलब्धि नै हो ।
लिङ्देन अध्यक्षमा निर्वाचित हुँदै गर्दा देशभरका युवापंक्ति खुसी देखिन्थे, कम्तिमा राष्ट्रिय राजनीतिलाई हाँक्ने एक युवाको उदय भयो भनेर । म भने अलि पृथक ढंगले खुसी थिएँ कि कम्तिमा देशको कुनै एक दललाई जनजातिको छोरोले हाँक्ने छ भनेर । मैदान बाहिरबाट खेलको प्रतियोगितालाई जति राम्रोसँग व्याख्या ‘कोच’ वा विश्लेषकले गर्न सक्छन्, त्यसको पीडा मैदानभित्र खेल खेलिरहेको खेलाडीलाई ज्यादा हुन्छ । त्यहाँको परिस्थिति मैदानभित्र खेल्नेले मात्र बुझ्छ । दलित, आदिवासी जनजाति, महिला, मुस्लिम, मधेसी, अल्पसंख्यकको समस्या समाधान गर्छु भनेर जुनसुकै दलले खोक्रो भाषण र एजेन्डा अघि सारे पनि उनीहरूको भूमिका त्यति नै हो, जति खेल मैदान बाहिरबाट विश्लेषण गर्ने विश्लेषकको हो ।
खेल मैदान भित्र र बाहिरको एउटा उदाहरणको चर्चा गर्दा विश्वभक्त दुलाल ‘आहुती’ हुँदाको नेकपा माओवादी केन्द्र र अहिले आहुती लगायतका नेता नहुँदाको माओवादी केन्द्रलाई हेर्न सकिन्छ । समावेशीकरणको सवालमा माओवादी केन्द्र निकै गिरिसकेको सत्य ‘दूध सेतो र रगत रातो हुन्छ’ भनेजस्तै छर्लङ्ग छ । त्यसैले त विभेद भोगिरहेका ती मैदानभित्रका खेलाडीहरु दलको प्रमुख पदमा आएपछि केही परिवर्तन हुन्छ भनेर राजेन्द्र लिङ्देनप्रति अपेक्षा गर्नु सायद म जस्ता युवाको गलत भएछ क्यारे ।
अध्यक्षमा निर्वाचित भएको रापताप सेलाउन नपाउँदै लिङ्देनले धेरैको विश्वासलाई कुल्चिनु भएको छ । सर्वप्रथम त आजको दिनमा लिङ्देनजीलाई मेरो प्रश्न छ, तपाईंको पार्टीको केन्द्रीय कार्यसमितिमा कतिजना दलितहरु छन् ? कतिजना मुस्लिम छन् ? कतिजना आदिवासी जनजाति छन्, अनि कति महिला छन् ? उही राज्यले व्यवस्था गरेको निश्चित प्रतिशत पुग्छ कि त्योभन्दा पनि कम ?
सत्य यही हो, मुलुकमा क्षेत्री र ब्राह्मण समुदायको ज्यादा बाहुल्यता छ । त्यसभित्र पनि दुईवटा धारवाला जनसंख्या छ भन्दा फरक नपर्ला । एउटा आरक्षण लगायतको सुलभताहरू प्रदान गरेर उपेक्षित वर्गलाई माथि जान दिनुहुँदैन भन्नेवाला । जसको बुझाइ ती समुदाय अघि बढेको खण्डमा हाम्रो एकलौटीजस्तै राज भइरहेको अवस्थामा गाह्रो हुन्छ भन्ने उनीहरूको चिन्ता छ । अर्को विचारधाराको पक्षले भन्छ, उपेक्षित समुदायलाई कुनै समय राज्यले नै विभेद गरेको हुँदा अबको परिवर्तन त्यो समुदायलाई सँगै लिएर जाँदा मात्र सम्भव छ ।
विडम्वना, त्यही उपल्लो भनिने समुदायभित्रै पनि आरक्षण लगायतको पद्धतिलाई हटाउनुपर्छ भन्ने पक्षधरको बाहुल्यता छ । तब राजेन्द्र लिङ्देनहरु मन र मतको ब्यापारको लागि अबुझ बनिदिन्छन् । र, भन्छन्, ‘आरक्षण जातको आधारमा होइन, वर्गको आधारमा हुनेछ ।’ बहुमतको पछाडि हिँड्दै गर्दा लोकतन्त्रको वर्तमान परिप्रेक्षमा अल्पमतको हक र अधिकारलाई कुल्चिने छुट लिङ्देनलगायत कसैलाई नहोला कि ?
हुन त लिङ्देनहरुको दलबाट हामीले धेरै अपेक्षा गर्नु नै मुर्खता थियो । उहाँको दल राप्रपा जुन परिस्थितिबाट जन्मियो, त्यसपछि समावेशीकरणको निम्ति जति भूमिका निर्वाह गर्यो, त्यसबाट प्रष्ट भइसकेको थियो कि राप्रपा उपेक्षित समुदायको निम्ति होइन । मिलिजुली भए पनि देशमा करिब दुइ दशक शासन गरेको राप्रपाले उपेक्षित समुदायको निम्ति के गर्यो भनेर आज दिउँसै टर्च बालेर खोज्नुपर्ने अवस्था छ । इतिहास भुलेका छैनौं भने जात व्यवस्थाको प्रारम्भ र यसलाई मलजल गर्ने कार्य राजाहरुकै पालामा भएको हो । यत्तिका समय शासन गरेको राजतन्त्रले सामाजिक सुधारअन्तर्गत यहाँका आदिवासी, जनजाति, दलित, मधेसीहरुका लागि के गर्यो ? एउटा कुनै सुधारात्मक कदम चालेको इतिहास छ ? उत्तर गम्दा छैन ।
अन्यथा नलागोस्, राप्रपाले केही गरेन भन्ने होइन । सबै राजनीतिक दलले समावेशीकरणको सवालमा सबैखाले भूमिका निर्वाह गरेका छन् । र, त आज यी समुदायहरु यहाँसम्म आइपुगे । राजा रजौटाले मलजल गरेर हुर्काएको भएर होला, राजेन्द्र लिङ्देनहरुलाई अहिलेसम्म त्यसको धङधङी हटेको छैन । त्यसैले सगौरव भनिरहन्छन्, ‘आरक्षण गरिबलाई दिनुपर्छ, दलितलाई होईन ।’
अहिलेको परिप्रेक्षमा समावेशीकरणको सबैभन्दा बढी आवश्यकता दलित समुदायलाई छ । यो समुदाय तुलनात्मक रूपमा आर्थिक, शैक्षिक र सामाजिक सम्मानजनक व्यवहारबाट थिचिएको छ । हाल अरुको तुलनामा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नभएकाले अन्य समुदायको बराबरी हैसियतमा ल्याउन आरक्षण लगायतका पद्धति अपरिहार्य छ । तर उही जाँतोमा पिल्सिइरहेका राजेन्द्र लिङ्देनहरुले यस तथ्यलाई बुझ्न नसक्नु आजको समाजको सबैभन्दा दुर्भाग्य हो ।
एक पटक एक विद्वानले मलाई सोधे, ‘काठमाडौंमा सुन पसल गरेर लाखौं कमाउने दलितले आरक्षण पाउँदै गर्दा कर्णालीको कुनै एक गाउँको विपन्न ब्राह्मणप्रति अन्याय हुँदैन र ?’ कठै, ती विद्वानलाई यतिसम्म थाहा रहेनछ कि कर्णालीका ती ब्राह्मणको निम्ति राज्यले दुर्गम क्षेत्रको आरक्षण व्यवस्था गरेको छ ।
लिङ्देनहरुलाई सोध्न मन छ, जातको आधारमा आरक्षण हुनुहुँदैन भन्ने उहाँहरुले महिलाहरुलाई पनि आरक्षण चाहिदैन भन्ने त होइन ? हामीले आरक्षणको मुद्दा आवश्यक छ भनेर खाली दलित समुदायको हितमा मात्र भनेको होइन । महिला, दलित, अल्पसंख्यक, आदिवासी जनजाति सबैलाई अहिले आरक्षणको खाँचो छ । हिजो राज्यले नै यी समुदायहरुलाई विभेद गरेको हुनाले आजको दिनमा क्षतिपूर्तिस्वरुप आरक्षण प्रदान गरिरहेको छ । ता कि उनीहरूलाई सम्मानजनक तरिकाबाट अरु समुदायको बराबरीमा ल्याउन सकियोस् । लिङ्देनहरु यत्ति कुरा बुझ्न नसक्ने हो र ?
केही दलित साथीहरूले भनेको सुन्छु, ‘आफ्नो क्षमता हुनेहरु त अगाडि आइहाल्छ नि, किन चाहियो आरक्षण ?’ ती साथीहरूलाई मैले भन्ने गरेको एउटै कुरा, राज्यले नै दलितहरूलाई विभेद गरेको कटुसत्यलाई कसरी भुल्न सकेको ? हिजोका हाम्रा पुर्खाहरुले संघर्ष नगरिदिएको भए आजसम्म पनि हामीहरू पशुपतिनाथको मन्दिरभित्र पस्न सक्ने थिएनौं । ती पुर्खाहरुले नलडेको भए आज छात्रवृत्तिसहित यति सहज वातावरणमा विद्यालयमा गएर पढ्न सक्ने थिएनौं । आज दलित डाक्टरहरु हुने थिएनन् । सरकारी ओहोदामा कुनै दलितहरूको छाया समेत पाइने थिएन ।
अझै पनि सुकुम्बासी र भूमिहीन जनसंख्या दलित समुदायकै छ । गरिब नै भएपनि एउटा ब्राह्मण दलितको घर पस्न सक्छ तर दलित ? यहाँ कयौं पढेलेखेका युवा दलितहरुले जातकै कारण आफ्नो प्रेमलाई त्याग्नु परेको छ । लिङ्देनले भनेजस्तै दमक बजारमा सुनको पसल राखेर मासिक लाखौं कमाउने दलितलाई एक विपन्न ब्राह्मणले छोरी विवाह गर्न दिंदैनन् । अनि दलितहरु अझै पिल्सिइरहेकै छन नि । चाहे त्यो धनी होस् या गरिब । लिङ्देनहरुले बुझ्नैपर्छ, आरक्षणको खाँचो दुरदराजमा बसेका ती दलितहरू जो दिनैपिच्छे पानी भर्ने क्रममा पधेरोमा विभेद भोग्छन् । पानी छोएकै भरमा कुटिइन्छन् । अन्तरजातीय प्रेम गर्दा मारिइन्छन् । उनीहरूलाई उपल्लो जातको बराबरीमा ल्याउने एक प्रणाली आरक्षण नै हो ।
त्यसैले पनि मेरो चिन्ता कहाँनेर हो भने भोलिको दिनमा राजेन्द्र लिङ्देन प्रवृत्तिलाई आरक्षणको पक्षमा आवाज उठाउँदै सडकमा कुर्लिदै गरेको देख्न नपरोस् । किनकि त्यतिबेलासम्म धेरै ढिलो भइसकेको हुन्छ । त्यसैले लिङ्देनजी, अब धेरै नबहकिदिनुस्, फर्किनुस्, आफ्नै सतहमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त