आरजुलाई ओलीको जवाफ : पैसा नदिन माइतबाट ल्याएको दाइजो हो ?
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाले दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।
बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिए । सोमबार पोखरामा आयोजित आमसभामा ओलीले कटाक्ष गर्दै भने, ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो ?’
ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष पनि गरे । केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २–४ जनालाई सित्तैमा मलेसिया पठाइदिन सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उनले कटाक्ष गरे, ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिनेमात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि जोड दिन्छौँ ।
उनले काँग्रेस र एमालेको भिन्नता २ कक्षा पढ्ने बालकले पनि गरिदिने भन्दै यो चुनावबाट एमालेको पक्षमा लहर आउने दाबी गरे ।