बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) को घोषणा, १ फागुनमा महाधिवेशन

सोमबार, २६ वैशाख २०७९, १४ : ५७
सोमबार, २६ वैशाख २०७९

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो ।  पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरे । 

उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले जानकारी दिए ।  उनका अनुसार पार्टीको कार्यनीति भने राजनीतिक स्थायित्व, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता रहेको छ ।

चितवनमा हालै सम्पन्न भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाएको थियो । सोही भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो ।  स्थानीय तह निर्वाचनमा जाने भएपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मतभेद चुलिएको थियो ।  नेता बास्तोलासँगै अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत बहुमत नेताहरू भने निर्वाचनमा जान तयार थिएनन् ।

यसपछि उत्पन्न विवादकै बीच आपसमा कारबाहीमा उत्रिए । अन्ततः बास्तोलासहितका नेताहरू अलग भएर नयाँ पार्टी स्थापना गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप