काँग्रेसका शीर्ष नेताबाहेक अरुप्रति मेरो सहानुभूति छ : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका शीर्ष नेताबाहेक अरुप्रति आफ्नो सहानुभूति रहेको बताएका छन् । शीर्ष नेताले गठबन्धन गरेपनि तल्लो तहमा सत्ता गठबन्धनभित्र तीव्र असन्तुष्टि रहेको दाबी गर्दै ओलीले ठूला नेताकै कारणले कतिपय ठाउँमा यसपटक पनि काँग्रेसले रुख चिन्हमा भोट हाल्न नपाउने अवस्था रहेको बताए ।
‘मुख्य नेताबाहेक काँग्रेसका अन्य नेताप्रति मेरो सहानुभूति छ । भोट हाल्न नपाउँदा कसरी मन थामेका होलान् ?’, सोमबार पोखरामा आयोजित चुनावी आमसभामा ओलीले भने, ‘पहिले पनि चितवनमा भोट हाल्न पाएनन् । फेरि यसपल्ट पनि पाएनन् ।’
उनले चितवनमा छोरीलाई जिताएनौँ भने म दुर्घटना गराइदिन्छु भनेर प्रचण्डले धम्की दिइराखेको जिकिर गर्दै चर्को आलोचना गरे । ‘खुरुक्क मेरो छोरीलाई जितायो भने म खुसी हुन्छु रे । कस्तो गज्जब छ’, प्रचण्डले भने, ‘जिताए १५–२० वर्ष गठबन्धन गरिदिने रे ।’
उनले यो गठबन्धन परमादेशबाट बनेको बताउँदै अलोकतान्त्रिक र असंवैधानिक ढंगले बनेको पनि जिकिर गरे । स्थानीय चुनावबाट जनताको शक्ति देखाइनुपर्ने उनको भनाई थियो ।