बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘चुनावले फिल्मको व्यवसायमा असर’

सोमबार, २६ वैशाख २०७९, १४ : ०९
सोमबार, २६ वैशाख २०७९

आगामी शुक्रबार सम्पन्न हुने स्थानीय निर्वाचनको माहोल यतिबेला देशभर देख्न सकिन्छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि सर्वसाधारणसम्मलाई अहिले चुनावी रन्को छ । दलहरूको प्रचार प्रसारले गाउँदेखि शहरसम्म तातेका छन् ।

सायद, त्यसैले पनि होला गत शुक्रबार रिलिज भएका फिल्मले अपेक्षित दर्शक पाउन सकिरहेको छैन । शुक्रबार रिलिज भएको फिल्म मध्य एक ‘लक्का जवान’ पनि हो । यस फिल्मका निर्माता ध्रुव वन्त पनि आफ्नो फिल्मले सोचे अनुसार दर्शक पाउन नसकेको स्वीकार्छन् ।

‘फिल्मले दर्शक नपाएको पनि होइन, राम्रै पाएको छ । तर जे जति अपेक्षा गरेका थियौँ । त्यस्तो दर्शक देखिएका छैनन्’, वन्तले भने ‘फिल्म हेर्ने दर्शकले फिल्म राम्रा भनेका छन् ।’ चुनावको मुख भएरपनि दर्शक कमी भएको उनले अनुमान गरे । ‘तपाईको फिल्म कहिले लाग्छ भन्ने धेरै साथीले सोध्थे । अहिले आफैले फिल्म लाग्यो आउनु भनेर फोन गरेको थिए । केही समय भ्याउन्न भन्छन्’ वन्तले थपे ‘सबै चुनावमा ब्यस्त छु । चुनावपछि हेरौला भन्छन् ।’
वन्त विगत ३२ वर्षदेखि अमेरिका बस्दै आएका छन् । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका उनले निर्माण गरेको यो पहिलो फिल्म हो । अमेरिकामा बस्ने मानिसलाई किन नेपाली फिल्म निर्माणमा रुचि भयो ? प्रश्न राख्न नपाउदै उनले उत्तर फर्काए ‘म पनि एउटा कलाकार हुँ । बच्चैदेखि कलाकारितामा रुचि भएकोले फिल्म निर्माणमा आए ।’

वन्त पहिले राष्ट्रिय नाचघरका डान्सर थिए । बाहिर पनि विभिन्न स्कुलमा नृत्य सिकाउँथे । तर २०४७ मा उनी सबै काम छोडेर अमेरिका उडे । नाचघरको जागिर छोडेर अमेरिका उडेका उनले कलाकारिता प्रतिको आफ्नो र श्रीमती अन्सुया श्रेष्ठ वन्तको रुचिका कारण फिल्म निर्माण गरेका हुन् ।

‘राजनीति र कलाकारिता एउटा नसा हुँदोरहेछ । मैले धेरै कोसिस गरे । यो क्षेत्रबाट टाढा हुने, तर नसकिँदो रहेछ’ वन्तले थपे ।
वन्त फिल्मको रिलिजका लागि केही दिन पहिले मात्र नेपाल आएका छन् । करिब १० दिनका लागि भन्दै नेपाल आएका उनी अहिले फिल्मको प्रचार प्रसारदेखि आफन्त, साथीहरु फिल्मकर्मी समेत भेटघाटमा छन् । फिल्मकै प्रचारका लागि उपत्यका बाहिरदेखि भित्रसम्म यात्रा गरिरहेका उनको फिल्मले चुनाव अगाडि धेरै दर्शक नपाएपनि चुनावपछि भने दर्शक पाउने अपेक्षा छ ।

हुन त फिल्म जतिले हेरेका छन् प्रायले राम्रो बनेका छन् । कमेडी बिषयमा निर्माण भएको फिल्मको प्रचार प्रसार राम्रो नभएको बताइन्छ । तर वन्त यो कुरो मान्न तयार छैनन् । ‘हामीले फिल्मको ए क्लासको प्रचार गर्न सकेनौ होला । तर बि क्लासको भने प्रचार गरेका छौँ । हुँदै नभएको भने होइन,’ वन्तले भने ।

फिल्मको निर्माणबाट भने उनी सन्तुष्ट छन् । करिब साढे दुई करोड खर्च भएको फिल्मको लगानी उठेपनि वा नउठेपनि उनी सन्तुष्ट छन् । ‘फिल्म हामी बुढाबुढीको रुचि भएको कारण बनाएका हौँ । लगानी नउठाएपछि पिर छैन । फेरि अर्काे फिल्म बनाउँछौ’ कारण सुनाए ‘बर्षमा एउटा राम्रो फिल्म बनाउने उदेश्यले यो क्षेत्रमा होमिएका हौं ।’

कतिपयले चुनावको बेला फिल्म नगरेको भए हुन्थ्यो समेत भनेका छन् उनलाई । फिल्मको रिलिज मिति चुनाव भन्दा अगाडि नै तोकिएकाले रिलिज नसारेको बताए । भने ‘हाम्रो फिल्म राम्रो छ । माउथ पब्लिसिटीले चुनावपछि पनि फिल्म चल्छ ।
केही समयपछि नै अर्काे फिल्म बनाउने सोचमा रहेका वन्त शिवहरी पौडेल नै निर्देशक र नयाँ कलाकार लिएर फिल्म बनाउने तयारीमा छन् । नयाँ फिल्ममा आफ्नै छोरो हिरो बनाउने सोच पनि उनको छ ।
करिब साढे दुई करोड खर्च भएको यो फिल्ममा लगानी पनि धेरै भएको हो । चुनावको प्रभाव नभएपनि यति धेरै लगानी उठ्न गाह्रै हुन्छ । फिल्मको ३० लाख जति लगानी आफुले समय दिन नभ्याएर बढेको उनले सुनाए ।

हास्य कलाकार शिवहरि पौड्यालको डेब्यू निर्देशन रहेको ‘लक्का जवान’ मा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौड्यालको मुख्य भूमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अन्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको अभिनय छ । 

फिल्ममा पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मको निर्माता अन्सुया श्रेष्ठ वन्त हुन् । ध्रुव वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्मस्को ब्यानरमा बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप