शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राम्रालाई होइन, आफ्नालाई भोट कहिलेसम्म ?

सोमबार, २६ वैशाख २०७९, १३ : २३
सोमबार, २६ वैशाख २०७९

आसन्न स्थानीय निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारी दिएकाहरु आफ्नो पक्षमा मत माग्न चुनावी प्रचारप्रसारमा तल्लिन छन् । लोकतन्त्रको समुन्नत अभ्यास भनेकै ‘आफ्नालाई होइन, राम्रालाई भोट’ हो ।

तर आफ्नो नेता वा आफ्नो दल भनेर आँखा चिम्लेर भोट खसाल्ने प्रवृत्ति आज पनि छ । बरु पछि आफ्ना प्रतिनिधिले काम गरेन भनेर गाली गर्ने आम मतदाताको संस्कारकै रुपमा विकास भएको छ । राजनीतिक रुपान्तरण भनेर जति नै परिवर्तनका कुरा गरेपनि राम्रालाई होइन, आफ्नालाई भोट गर्ने क्रम कहिलेसम्म ? यसै विषयमा केन्द्रीत रही रातोपाटीले केही मतदातासँग अभिमत लिएको छ । असल नेतृत्व गर्न सक्ने जनप्रतिनिधि स्थानीय सरकारमा आउन नसक्दा देशको विकास हुने नसकेको सबैको तर्क छ ।

राम्रो उम्मेदवार हारे जनतालाई घाटा

सुनिल शाक्य, ललितपुर

ललितपुरका सुनिल शाक्यले चिनेको मान्छे, मेरो मान्छे, मेरो बुवाआमाले मान्दै आएको वा भोट हाल्दै आएको पार्टी भन्ने मानसिकताले नै आजको राजनीति बिग्रिएको धारणा राख्छन् । राम्रो मान्छे चुनिनुपर्छ भन्ने सोच नै छैन । हाम्रो गाउँठाउँ र समुदायलाई राम्रोसँग बुझेकोे उम्मेदवार भएमा बल्ल स्थानीय निकायको विकास र समृद्धि हुने उनको भनाइ छ, ‘पारिवारिक विरासत वा पारिवारिक आस्थाको आधारमा मतदान गर्ने हो भने राम्रो उम्मेदवार हार्न सक्छ । त्यसले घाटा हुने भनेको जनतालाई नै हो ।’ 

स्थानीय तहमा विजय भएर आउने उम्मेदवार जनतासँग प्रत्यक्ष सम्बन्ध भएको हुनुपर्छ । जनताको खास समस्या के हो ? स्थानीय उम्मेदवारले बुझेको हुनुपर्छ । चुनिएको प्रतिनिधिलाई पनि आफ्नो ठाउँमै काम गर्न जनतालाई बुझाउन सजिलो हुन्छ । तर यसो भनिरहँदा त्यो ठाउँलाई बुझ्ने मान्छे फरक विचारधाराको हुन सक्छ । त्यस्तो योग्यहरुलाई पनि छुटाउन नहुने शाक्य बताउँछन् । 

परिवारवादको सिण्डिकेट तोड्न विकल्पको खोजी

राजेन्द्र भट्टराई, कानुन व्यवसायी

विगत दुइ दशकदेखि काठमाडौंमा कानुन व्यवसायी रहेका राजेन्द्र भट्टराईले पार्टीगत रुपमा जानेभन्दा पनि नेतृत्व गर्न सक्षम, योग्य र भिजन भएको उम्मेदवारलाई चयन गर्नुपर्ने मत राख्छन् । पहिले राजाको छोरा राजा नै हुनुपर्छ भन्ने थियो । अब त्यो अवस्था रहेन । उनी भन्छन्,‘मतदान गर्नेको सही मनसायले मात्र सही नेतृत्व आउँछ । लोकतन्त्रमा जसले असल नेतृत्व गर्न सक्छ, उ नै राज्यसत्तामा आउनुपर्छ ।’ 

अहिले पनि फलानो नेताको श्रीमती, छोरीले जसरी पनि जित्नुपर्छ भन्ने अभिव्यक्तिहरु सुनिएको छ, यो लोकतन्त्रको अभ्यास विपरीत भएको उनको टिप्पणी छ । यस्तै परिपाटी रहिरह्यो भने स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेर दलहरुलाई हराउने स्थिति नआउला भन्न सकिन्न । युवाहरूमा राजनीतिक चेतनामा वृद्धि भएको देखिन्छ । दलहरुको परिवारवादको सिण्डिकेट तोड्न युवाहरुले विकल्प खोजिरहेको अवस्था छ । युवा पुस्तामा बालेन साहको क्रेज हेर्नुहोस्, स्वतन्त्र उम्मेदवारलाई विश्वास गर्ने आधारशिला साहबाट पनि सुरुवात हुन सक्छ । 

स्वतन्त्रको कहाँ छ भविष्य ?

झलकप्रसाद शर्मा, कास्की

दलको सिद्धान्त, निष्ठा, घोषणापत्र, सामाजिक कुरा नहेरेर व्यक्तिको पछाडि दगुर्न बुद्धिमानी नहुने तर्क राख्छन्,  कास्कीका पाको व्यक्तित्व झलकप्रसाद शर्मा । अहिलेको पुस्ता व्यक्तिको पछाडि लागेको देखिन्छ । उनी प्रश्न गर्छन्, ‘पार्टीको पो भविष्य हुन्छ, स्वतन्त्रको कहाँ छ भविष्य, खै ? अनि भविष्य नै नभएको ठाउँमा आफ्नो अमुल्य मत खसालेर हुन्छ ?’ दल कुनै सानो वा ठुलो हुन सक्छ । तर संसदीय व्यवस्थामा ठुलो हुने नै दल हो । कि त यो व्यवस्था हटाउनु पर्यो । नभए व्यवस्थाले नै व्यक्ति भन्दा दललाई प्राथमिकतामा राखेको उनको जिकिर छ । 

शर्मा अगाडि भन्छन्, ‘व्यक्ति–व्यक्तिमा लाग्ने हो भने राजनीति लिग विनाको रेल जस्तो हुन्छ । कहाँ गएर दुर्घटना पर्ने हो र त्यसको जिम्मेवारी कसले लिने भन्ने नै रहँदैन । कम्तीमा दलले गलत गर्यो भने जवाफदेही त बन्न कर लाग्छ । नराम्रो गरेछन् भने अर्को निर्वाचनमा मतदान नगर्ने र हराइदिने अप्सन जनतासँग रहन्छ ।’ राजनीतिमा परिवार भित्रकालाई उम्मेदवार उठाउनै हुन्न भन्नेमा उनी सहमत छैनन् । नेतृत्व लिन सक्नेले परिवार भित्र वा बाहिरका जसले उठ्दा पनि हुने उनको भनाइ छ । 

‘युवा पुस्ताले पनि पुराना राजनीतिक दलले नै उठाएका इस्यु लिएर हिँडेका छन् । पुरानाको विरोध गरिरहँदा नयाँले नयाँ भिजनसहित आउनुपर्छ । राजनीतिक पार्टीको टीका नलगाइ चुनाव जित्छु भन्नु मुर्खता हो, यो असम्भव छ ।’ शर्माले यति भनिरहँदा राजनीतिक रुपान्तरण आजको आवश्यकता हो भन्ने तथ्य भने स्वीकार्छन् ।

पार्टीमा परिवारवाद हावी भयो

दिलकुमार कार्की, लिखु गाउँपालिका, ओखलढुङ्गा 

राजनीतिभित्र परिवारवाद हावी रहेको र यही ‘वाद’ बोकेर हिँडेको भएरै राजनीतिक दलहरुले उचाइ लिन नसकेको टिप्पणी गर्छन्, ओखलढुङ्गा, लिखु गाउँपालिकाका दिलकुमार कार्की । उदाहरण दिदैँ उनी भन्छन्,‘प्रचण्डले चितवनमा आफ्नो छोरीले नजिते देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । त्यसै गरी प्रधानमन्त्री पत्नी आरजु देउवाले काँग्रेसलाई भोट नदिने हो भने बजेट नै दिदैनौ भन्नुभयो । यो लोकतान्त्रिक अभ्यास नै होइन ।’ 

हिजो नागरिक लाटा सोझा थिए । नेताहरुले जे भन्यो, त्यही मान्थे । तर अहिले जनता मैले कसलाई भोट दिने भन्ने कुरामा सचेत छन् । अबको मतदाता निकै स्मार्ट भैसकेको कार्कीको ठहर छ । भन्छन्, ‘केही पार्टीका कार्यकर्ताले नेताको बोली बोल्दै हिँडेपनि जनता जुन कुनै राजनीतिक दलको झण्डा ओढेका छैनन् । तिनीहरु हिजोको तुलनामा धेरै सचेत छन् । नेताहरुले अन्टसन्ट भाषण गरेर मतदातालाई थर्काउने र धम्क्याउने गर्न आवश्यक छैन ।’ 

चुनाव जित्न राजनीतिक एजेण्डा चाहिने तर पार्टी वेगर जितेर यसो गर्छु, उसो गर्छु भन्ने अवस्था छैन । ‘अहिले जति पनि ठाउँबाट स्वतन्त्र उठेका छन्, जिते भने पनि काम गर्न सक्दैनन् । दल विनाका नीति तथा कार्यक्रम पास हुन्न,’ कार्की अगाडि भन्छन्, ‘त्यसलाई पास गर्ने राजनीतिक पार्टीकै मान्छेहरु हुन् । जितेर पनि प्यासिभ हुने अवस्थाको सिर्जना हुन्छ । त्यसैले कसलाई भोट हाले राम्रो हुन्छ, त्यो हेर्नुपर्छ । जबर्जस्ती लादेको भरमा जनताले भोट हाल्दैनन् ।’

दल होइन, काम चाहियो

कृतिनाथ शर्मा पौडेल, काठमाडौं

काठमाडौंका कृतिनाथ शर्मा पौडेलले जनतालाई दल होइन, काम चाहिएको धारणा राख्छन् । दल होइन व्यक्तिको विचार ठुलो कुरा हो । भन्छन्,‘विगतको संसदीय चुनाव, स्थानीय चुनाव हेरेको होइन ? स्थानीय चुनाव राष्ट्रिय राजनीति भन्दा फरक हो । त्यसैले अब के त ? भनेर नयाँ अभ्यासको सुरुवात गर्नुपर्छ । त्यसको लागि अब दललाई मात्रै होइन, व्यक्तिलाई पो विश्वास गरेर हेर्ने हो कि भन्नेतिर पनि सोच्न सकिन्छ ।’ दलका नेताहरु समयअनुसार परिवर्तन हुनुपर्ने तर नसकेको उनको आरोप छ । 

जसले टोल, गाउँ वा समाजको उदार गर्न सक्छ, सुधारका कार्य गर्न सक्छ । विकास गर्ने त्यस्तो उम्मेदवारलाई मत दिन कञ्जुस्याइँ नगर्न उनले आग्रहसमेत गरे । भन्छन्,‘मेरो बुवाले फलानो पार्टीलाई मत हाल्नु हुन्छ, म पनि त्यसैलाई हाल्छु भन्नु गलत हो ।’ वुवाले सही नेतृत्व छान्न नसक्दा देशको यो हालत भएको छ । अबको पुस्ताले राजनीतिक रुपान्तरणका लागि अग्रणी भूमिका खेल्नुपर्छ । जसको माध्यम नै निर्वाचन भएको उनको जिकिर छ । 

वृद्ध नेताहरुले राजनीतिबाट सन्यास लिनुपर्ने आग्रह गर्दै उनी भन्छन्,‘अग्रजलाई सम्मान गर्दै युवाले देशको नेतृत्व लिनुपर्छ । काम गर्ने युवाले हो । युवाको ठुलो जमातलाई विदेश पठाएर वृद्धले मात्रै कति राजनीति गर्ने ? आखिर रेमिट्यान्सले देश विकास त हुने रहेनछ,’ उनले भने । अहिले युवालाई देशमै परिचालन गर्न सक्ने नेतृत्वको आवश्यकता छ । अग्रजहरुको अनुभव र युवाहरुको योजनाले देशको विकास गर्नुपर्छ । हाम्रो महानगरको प्रमुखलाई झनै धेरै चुनौती छ काम गर्न । नेताको दल छ, व्यक्तिगत रुपमा कुनै भिजन छैन । संस्थागत भिजनले मात्रै स्थानीय निकायमा काम गर्न कठिन हुने पौडेल बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप