ad
x

हप्ताको २ दिन बिदाको व्यवस्थापनबारे

person explore access_timeबैशाख २६, २०७९ chat_bubble_outline0

विश्वको अधिकांश विकसित र विकासोन्मुख देशहरूमा हप्ताको २ दिन बिदा छ । त्यहाँ यसको प्रयोग जीवनको अङ्ग नै बनिसकेको छ । हाम्रो देशमा पनि बेला बखत हप्ताको २ दिन बिदाको कुरा उठ्ने गरेको, समिति बनाइएको र समितिले रिपोर्ट दिने गरेको पनि छ । त्यस रिपोर्टको आधारमा पहिले १ पटक कार्यान्वयनमा पनि आयो तर छोटो समयमा नै बन्द भयो  । यस पटक पुनः नेपाल सरकारको हप्ताको २ दिन बिदा र हप्ताको ४० घण्टा काम गर्नुपर्ने निर्णय उपर पक्ष र विपक्षमा थरी–थरीका प्रतिक्रिया र आशङ्काहरू आइरहेका छन् । कुनै पनि परिवर्तन शतप्रतिशत सही वा गलत हुँदैन । प्रयोगकर्ताले त्यसलाई कसरी लिन्छन् भने कुराले महत्त्व राख्दछ । अर्कोतिर विश्वको परिपाटी र चलनचल्तीले पनि ठूलो असर पार्दछ ।  देश विकासको लागि हाम्रो प्रत्येक परिवर्तन विश्व बजारसँग मिल्दो जुल्दो हुनुपर्दछ, नत्र पछाडि परिन्छ । 


यस परिवर्तित व्यवस्थाले केही विकृति भित्र्याउन सक्ने सम्भावना रहन्छ । तर यसलाई कार्यान्वयन गर्दा आउने समस्यालाई समाधान गर्दै अगाडी बढ्नुपर्दछ । उदाहरणको लागि चितवन, पोखरा, लुम्बिनी घुम्न जाने कर्मचारीहरूले शुक्रबार २:०० बजे कार्यालय छोड्ने र सोमबार फर्कँदा बाटोमा जाम भयो भनेर ११:०० वा १२:०० बजे कार्यालय आउने हुन सक्छ । हप्ताको ४० घण्टा काम पुगेन भने सञ्चित बिदाबाट काट्ने वा तलब घटाउने व्यवस्था नीति नियममा आउनु नै पर्छ । नत्र पार्टीका झण्डा बोकेका अधिकांश कर्मचारीहरूलाई कुनै पनि कार्यालय प्रमुखले नियन्त्रण गर्न सक्ने छैन । त्यसैले यस्ता कमी कमजोरीलाई नीति नियमले सच्याउनु पर्दछ । अर्को चिन्ताको विषय २ दिन बिदा हुँदा रक्सी, जुवा तासमा नै समय बित्ने त होइन भन्ने केहीको प्रश्न पनि छ । यसको लागि बिदाको दिन विभिन्न गतिविधि सेवा प्रदायक कार्यालय, संघ संस्थाहरूले दिएर यसलाई उपलब्धि मूलक बनाउनुपर्दछ ।  



सरकारको नीति निर्देशन सबै वर्ग समूहको लागि सत् प्रतिशत सही हुँदैन । कहिलेकाहीँ घटी वा बढी, केही  फाइदा बेफाइदा हुन्छन् तर विज्ञहरूको सरसल्लाहले बेफाइदालाई न्यूनीकरण गरी अत्यधिक वर्ग र समूहको हितमा प्रयोगमा ल्याउनुपर्दछ । सरकारको जुनसुकै कार्यको सफलता, सरकारले अख्तियार गरेको लचिलो नीति र कर्मचारीहरूको ईमान्दारीताले मात्र सफल हुन्छ । त्यसैले स–साना हल्का बहानाहरूमा भविष्यमा यस निर्णयलाई पुनः उल्टाउने कार्य कहीँ कसैबाट नगरौँ । 



यस नयाँ निर्णयमा उच्च प्रशासकहरूले आइतबारको दिन सेवा न्यूनतम कर्मचारीहरूबाट सेवा प्रदान गरी इन्धन र अन्य खर्च सञ्चित गर्दछौँ र सेवा पनि दिन्छौँ साथै सातै दिन कार्यालय खोली कर्मचारीहरूलाई २ दिन बिदा पनि दिन्छु भन्ने सोच राखी उच्च प्रशासकहरूले व्यवस्थापन गर्नुपर्दछ । उदाहरणको लागि कुलमान ज्यूको कुशल व्यवस्थापनले देशलाई अँध्यारोबाट उज्यालो लगेको हाम्रो सामु प्रष्ट छ । सरकारले २ दिन बिदा घोषणा गरिदियो भनी कार्यालय बन्द गरेर घर बस्ने कुशल प्रशासक हुन सक्दैन । उहाँहरूले कुरा बुझ्नुपर्‍यो कि राज्य, संस्था, वा कार्यालयलाई राम्रोसँग चलाउने हो भन्ने कुनै पनि प्रमुखहरूको छुट्टी हुँदैन चाहे सरकार प्रमुख होस वा प्रशासन प्रमुख वा कार्यालय प्रमुख होस् उहाँहरू २४ घण्टा नै ड्युटीमा हुन्छन् भन्ने ज्ञान हुनुपर्‍यो । देशलाई गतिशील र चलायमान बनाउनुमा वरिष्ठ प्रशासकहरूको ठूलो भूमिका हुन्छ । 



आइतबार बिदालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे तल केही सुझाव पेश गरेको छु । यो एउटा छलफलको विषय बनोस् र विज्ञहरूको सल्लाह सुझावबाट हप्ताको २ दिन बिदा उपलब्धि मूलक बनोस् ।



१. जनसेवा दिन मनाउने :
हामीले संविधान दिवस, गणतन्त्र दिवस र अन्य थुप्रै दिवस र दिनहरू दिन मनाउँदै आइरहेका छौँ । त्यस्तै आइतबारलाई जनसेवा दिन घोषणा गरौँ र यस दिनलाई प्रत्येक नागरिक, सरकारी र गैरसरकारी, संस्था, सामाजिक संस्थाहरू र जनप्रतिनिधिहरूले सामाजिक दायित्व पुरा गर्ने दिनको रूपमा मनाऔँ ।



२. सरकारी सेवा मूलक कार्यालय वा शाखाहरू खोल्ने :



वेला बखत कर्मचारीहरू र व्यवसायीहरूले छुट्टी वा समय नपाएर कार्यालय समयमा घरजग्गा कर, सवारी साधनका कर, बिजुली, टेलिफोन, पानीको  पैसा तिर्ने र पासपोर्ट लाइसेन्स लिने जस्ता काममा निस्कने गर्छन् । त्यसैगरी बैंक, नागरिक लगानी कोष, सहकारी संस्था, बिमा, कर्मचारी सञ्चय कोष आदिमा पनि जाने गर्छन् । जसले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उहाँहरूले काम गर्ने ठाउँ वा त्यहाँ आउने सेवाग्राही मर्का परिराखेको हुन्छ । त्यसैले यस्ता सेवामूलक कार्यालय वा शाखाहरूमा न्यूनतम कर्मचारीहरू राखी आइतबार खोल्ने व्यवस्था भयो भने राजश्व पनि सङ्कलन हुने र आइतबार बिदामा बसेका कर्मचारीहरूले पनि माथिका सेवाहरू सजिलैसँग लिन सक्ने छन् । त्यसकालागि आइतबार काम गरेबापत खाइपाई आएको १ दिनको तलब भत्तामा केही प्रतिशत थपेर दिएमा कर्मचारीहरू काम गर्न इच्छुक हुन सक्छन् ।



३. सरकारी अनुगमन गर्ने:
बेलाबखत जनताहरू ठगिएका खबरहरू पत्रपत्रिका आउने गर्दछन् । सरकारले यस्ता क्रियाकलाप नियन्त्रण गर्न समय–समयमा अनुगमन गर्दै आइरहेको छ । भइरहेको अनुगमनलाई अझ प्रभाकारी बनाई जनतासँग प्रत्यक्ष सरोकार रहेको अखाद्य बस्तुको विक्री वितरण, मिति समाप्त भएका खानेकुराको विक्री, पेट्रोल पम्पमा ठगी, बिजुली पानीको चुहावट, जथाभावी बजार मूल्य आदी कुराको अनुगमनका लागि आइतबारको दिनलाई उपयोग गर्न सकिन्छ । नियमित अनुगमनले सकारात्मक सन्देश जानेछ र  जनताले पनि केही राहत     पाउनेछन् । 

४. स्वास्थ्य सेवा अझ व्यवस्थित गर्ने :
कुनै स्वास्थ्य संस्थाले आइतबार ओ.पी.डी. चलाउन वा अप्रेसन गर्न चाहेमा, काम गर्न चाहने चिकित्सक र अन्य कर्मचारीहरूलाई खाइपाइ आएको एक दिनको तलब भत्तामा केही प्रतिशत थपेर दिन सकिन्छ वा त्यस दिनको आम्दानीबाट बिजुली, पानी, इन्धन र मसलन्द खर्च काटेर केही प्रतिशत अस्पताललाई राखी कार्यरत कर्मचारीहरूलाई बाँढ्न सकिन्छ । जसले गर्दा सेवाले निरन्तरता पाउनुका साथै संस्था र स्वास्थ्यकर्मीको आर्थिक आम्दानीमा पनि सहयोग पुग्दछ । कुनै स्वास्थ्य संस्था वा अस्पतालका केही कर्मचारीहरूले सेवा दिन मानेनन् भन्दैमा अन्य सबै सरकारी वा गैर सरकारी संस्था वा अस्पतालले पनि दिन पाउँदैन भन्ने सोचबाट बाहिर आउनु पर्दछ ।
निजी अस्पताल वा मेडिकल कलेजले पनि आइतबार विशेष कार्यक्रम राखी सस्तोमा ओ.पी.डी./अप्रेसन सेवा प्रदान गर्न चाहेमा त्यसलाई सकारात्मक नै मान्नुपर्छ । 

त्यसैगरी आइतबारका दिन क्यान्सर र नर्सने दीर्घ रोगहरू (उच्च रक्त चाप, चिनी रोग आदि)को लागि स्क्रिनिङ र जाँच गर्ने दिनको व्यवस्था पनि गर्न सकिन्छ । कार्य व्यस्तताका कारण जँचाउन जान नभ्याएकाहरूको लागि यो सुविधा उपयोगी हुनेछ । जसले गर्दा यी रोगहरूलाई समय मै पत्ता लगाई सही समयमा उपचार गर्न सके जनस्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सकिन्छ । अर्कोतिर यस दिन बच्चाको लागि नियमित खोप पनि सञ्चालन गर्न सकिन्छ । ज्येष्ठ नागरिकहरूको लागि नि:शुल्क तथा सहुलियत दरमा स्वास्थ्य जाँच कार्यक्रम गर्न सकिन्छ । अन्य दिनमा पनि यी सेवाहरू प्रदान भइराखेका छन् तर कर्मचारीहरूले समय र बिदा नपाएर कर्मचारीको परिवारले समेत सेवा लिन नपाइरहेको अवस्थामा आइतबारको बिदाले सहयोग मिल्ने छ । राम्रो काम जसले जहाँबाट गरे पनि हुन्छ । यस्तो कार्यमा कहीँ कतैबाट बखेडा निकाल्नु हुँदैन ।

५. ज्येष्ठ नागरिकलाई सहुलियत दिने :
छोरा, छोरी, बुहारी अन्य दिनहरूमा कामकाज व्यस्त रहने हुँदा ज्येष्ठ नागरिकहरूलाई बाहिर निस्कन गाह्रो भइरहेको हुन्छ । आइतबार ज्येष्ठ नागरिकहरूको लागि सवारी यातायात नि:शुल्क गर्ने र हवाई यात्रामा विशेष छुट दिने । रेस्टुरेन्ट र मनोरञ्जनमा छुट देखि सहुलियत दिने व्यवस्था मिलाउन सकिएमा ज्येष्ठ नागरिकहरूलाई बाहिर घुमफिर गर्नमा प्रोत्साहन गरी उहाँहरूको मानसिक स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सकिन्छ ।

६. विद्यालय र कलेज भित्र क्रियाकलाप बढाउने :
आइतबार स्कुल वा कलेजमा गतिविधि सञ्चालन गर्न सकिन्छ । उदाहरणका लागि अभिभावकसँग अन्तर्क्रिया कार्यक्रम, शुल्क जम्मा गर्ने, कमजोर विद्यार्थीहरूको लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने, साथै खेलकुद, सङ्गीत, नृत्यकला आदि सिकाउन सकिन्छ । यी क्रियाकलापहरू अनिवार्य नगरी अभिभावक र विद्यार्थीका चाहना अनुरूप गर्नुपर्दछ ताकी अभिभावकहरूलाई नचाहिँदो थप आर्थिक भार नपर्ने होस्  । तर इच्छुक विद्यार्थी वा अभिभावकबाट लिएको शुल्कबाट कलेज र शिक्षकलाई आर्थिक लाभ हुनेछ । 

७. आन्तरिक पर्यटन बढाउने :
अवश्य पनि २ दिन बिदाले आन्तरिक पर्यटक बढ्छ । अर्कोतिर घुमघाम खर्चिलो हुने हुँदा सबै कर्मचारीहरूलाई लागि उपयुक्त नहुन सक्छ । त्यसैले परिवारसँग घुमघाममा निस्कँदा विशेष छुट/प्याकेजको व्यवस्था मिलाउन सकिएमा घुमघामको लागि परिवारलाई प्रोत्साहन मिल्ने छ यसले आन्तरिक पर्यटन बढ्नुका साथै परिवार भित्र सुमधुर सम्बन्धको विकास हुन्छ । 

८. जनप्रतिनिधिहरूको घरदैलो कार्यक्रम
चुनाव सकिएपछि ५ वर्षसम्म चुनिएका प्रतिनिधिज्यूहरूलाई कार्यालयमा भेट्न जानुपर्दछ र अधिकांश समयमा व्यस्तताका कारण उहाँहरूलाई भेट्न सहज हुँदैन । आइतबारका दिनमा जनप्रतिनिधिहरू जनताको घर आँगनमा गई भेटघाट र समस्यामा छलफल गर्न सकिन्छ । त्यसैगरी आइतबारका दिन वडा– वडामा सुपथ मूल्यको पसल खोली रासन कार्ड मार्फत सुपथ मूल्यमा खाद्यान्न (चामल, दाल, नुन, तेल, चिनी, आदि) बिक्री वितरण गर्न सकिन्छ । वडाका युवाहरूलाई परिचालन गरी सरसफाइ, व्यायाम सिकाउने र सङ्गीत एवं कला सम्बन्धी कार्यक्रम राखी कला र संस्कृतिमा टेवा पुर्‍याउन सकिन्छ ।

आइतबारका दिन माथि उल्लेखित गतिविधिहरू कर्मचारीहरूलाई अनिवार्य वा करकाप होइन कि प्रोत्साहन भत्ता उपलब्ध गराएर सहमतिमा काम लगाउनु पर्दछ । एउटा विद्धानले भनेका छन्: विकसित मुलुकमा नीति, नियम र कानुनले काम गर्दछ तर अविकसित राष्ट्रहरूमा नीति र नियमले मात्र काम गर्दैन, यसको लागि प्रोत्साहन भत्ता वा अन्य सुविधा दिन सकिएमा मात्र कार्यक्रम सफल हुन्छ । 

यदि कुनै अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरूले आइतबार काम गर्न चाहेमा चिकित्सक संघले आपत्ति जनाउनु हुँदैन । कुनै सार्वजनिक यातायात आइतबार ज्येष्ठ नागरिकलाई नि:शुल्क यातायात गराउँछ भने यातायात व्यवसायी संघ संगठन, संस्थाले विरोध गर्नु हुँदैन । त्यसैगरी कुनै स्कुलले आफ्नो थप गतिविधि गर्दछ भने प्याबसनले सहयोग गर्नुपर्दछ । अर्कोतिर सेवा मूलक कार्यालय र शाखाका कर्मचारीहरूले काम गर्न थालियो भने हाम्रा कर्मचारी साथीहरुलाई छुट्टि चाहिन्छ काम गर्न पाउँदैन भनेर कर्मचारी संघ संगठनले विज्ञप्ति निकाल्ने काम गर्नुहुँदैन । हप्ताको १ दिन आइतबार इच्छा गरेका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिई काम गर्ने वातावरण मिलाइ दिनुपर्दछ । कसैलाई घुम्न जाने इच्छा छ भने जान दिने, घरमै बसेर बिदा मनाउने इच्छा छ भने मनाउन दिने, कसैले काम गर्छु र संघ संगठनहरुले राज्य र जनताप्रति सामाजिक दायित्व निभाउछु भन्छ भने निभाउन दिने वातावरण दिनु पर्दछ । तब मात्र यस परिवर्तनले सही दिशा पाउनेछ । अर्कोतिर परिवर्तनको प्रक्रिया कठिन र लामो हुन्छ भन्ने ज्ञान हामी सबैमा हुनु जरुरी छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।