बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महानगरबासीले महिला नेतृत्वलाई मौका देलान् ?

सोमबार, २६ वैशाख २०७९, १२ : ५०
सोमबार, २६ वैशाख २०७९

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको उत्साहजनक सहभागिता नभए पनि केही महत्त्वपूर्ण महानगरपालिकामा महिला आकाङ्क्षीहरूले उम्मेदवारी दिनाले चर्चाको शिखरमा पुगेका छन् । काठमाडौँ महानगरपालिकामा काँग्रेसका तर्फबाट सिर्जना सिंहको उम्मेदवारी र भरतपुर महानगरपालिकामा रेणु दाहालको उम्मेदवारीले दुवै जना अहिले केही विवाद र केही चर्चा परिचर्चाबीच मतदाताको ध्यानाकर्षण गर्न सफल भएका छन् ।

काठमाडौँमा नेपाली काँग्रेसकी सिर्जनाबाहेक विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले पनि मेयर पदमा उम्मेदवारी दिएकी छिन् । महिला उम्मेदवारकै कारण भरतपुर र काठमाडौँ अहिलको चुनावमा सबैभन्दा बढी चर्चामा छ ।

महिलाहरू कार्यकारी अधिकार प्रयोग गर्न सक्षम छन् ? उनीहरूले राजधानी सहरको बागडोर सम्हाल्न सक्छन् ? जस्ता प्रश्न एकथरिले गरिरहेका छन् । तर भरतपुरमा यसअघि रेणुले नै नेतृत्व सम्हालेर त्यसको जबाफ दिइसकेकी छिन् भने काठमाडौँमा सिर्जनाले दिने अपेक्षा धेरैले गरेका छन् । तर पनि महिला आकाङ्क्षीसामु ठूला चुनौतीहरू छन् । हुन त सिर्जनाले चुनाव प्रचारको क्रममा भनेकि छिन् “राजधानी सहरले यसअघि पुरुष मेयरहरू धेरै भोगिसक्यो । हामीले देखिसकेका छौँ । अहिले सहर जसरी अस्तव्यस्त अवस्थामा छ, फोहोरको डङ्गुरले भरिएको छ, यातायातका समस्या, खाल्टाखुल्टी सडक, ढल, प्रदूषण, असुरक्षा, भ्रष्टाचार आदि विविध समस्याले ग्रस्त भएको छ । यो अवस्थामा एकपल्ट महिलालाई मौका दिइनुपर्छ ताकि उनीहरूले घर सफा, सुन्दर र व्यवस्थित बनाए जस्तै यो महानगरलाई पनि बनाउन सक्नेछन् ।” उनको यो दाबीलाई परीक्षणको मौका दिइनुपर्छ भन्ने अर्काथरी मतदाता पनि छन् ।

यसक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको एक चुनावी सभामा बोल्दै महिलालाई राजधानी सहर र भरतपुरबाट हराए विश्वसामु त्यसको सन्देश कस्तो जाला भनी प्रतिप्रश्नसमेत गरेका थिए ।

विद्वान्हरू भन्छन्, स्त्री शक्ति जनाउने त्यस ईकारको अभावमा शिव पनि शव तुल्य हुन्छ अर्थात् शिवमा जीवन नै हुँदैन । त्यो गतिहीन र शक्तिहीन हुनजान्छ । हाम्रो समाजमा पनि महिलाको महत्त्व ‘महिलाबिनाको घर घर नै हुँदैन’ भन्ने भनाइबाट पनि प्रष्ट हुन्छ । महिलाले घरबार हेर्ने, बच्चा जन्माउने र बालबच्चाहरूको स्याहार, सुसार गर्ने मात्र नभई सिङ्गो घरको व्यवस्थापन गर्नमा ठूलो भूमिका हुन्छ, त्यस्तै भूमिका उनीहरुले मेयर पदबाट सहरलाई दिने वाचा पनि गरिरहेका छन् ।

नेपालमा महिलालाई मन्त्री बनाउने सुरुवात प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०१५ सालमै गरिसकेका हुन् । उनले द्वारिकादेवी ठकुरानीलाई क्याबिनेटमा नियुक्त गरेका थिए । त्यसपछि २०४६ सालको संयुक्त जनआन्दोलनमा संयुक्त वाम मोर्चाकी अध्यक्षता साहना प्रधानले गर्नुभएको थियो, जसले नेपाली काँग्रेससँग सहकार्य गरेर बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न सफल पनि भयो । सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा । आज तिनै सिंह परिवारकी बुहारी काठमाडौँ महानगरको नेतृत्वको बागडोर सम्हाल्न कस्सिएकी छिन् । अब हेर्नु छ आधा आकाश ढाक्ने महिलाको साथ उनले कत्तिको पाउने छिन् यसपालिको निर्वाचनमा । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वोच्च र प्रतिष्ठित पदमा आसिन हुने मौका दुईपल्ट पाइन् महिला भएकै नाताले । जसले महिलाको प्रतिष्ठालाई उच्च राख्ने काम गरेको छ । तर अब महिला आलङ्कारिक मात्र हैन कार्यकारी अधिकारसहितको सर्वोच्च पदमा आसिन हुनपर्ने आवाज पनि बुलन्द हुन लागिरहेको अहिलेको अवस्थामा महिला नेतृत्वले आफ्नो क्षमता देखाउने हो भने काठमाडौँको मेयर पद पनि चानचुने पद पक्कै हैन ।

अहिले चुनाव प्रचार अभियानमा एकजना उम्मेदवार मी टुको कारण र एक अन्तक्र्रियामा महिलाप्रति लक्षित गरी अपशब्द बोलेकोमा विवादग्रस्त पनि बनेका छन् । त्यसमा उनलाई निर्वाचन आयोगले स्पष्टीकरण पनि लिइसकेको छ । तसर्थ राजधानीका मतदाता महिला अधिकार, सुरक्षा र सम्मानको निम्ति कति संवेदनशील छन् र महिलाको महत्त्व कति बुझ्छन् भन्ने कुरा पनि यस पटकको चुनावले प्रष्ट पार्नेछ । त्यसकारण पनि काठमाडौँले महिलाको सुरक्षा र सम्मानको निम्ति यसपालि महिला नेतृत्व चुन्नुपर्ने कुरा बढी सान्दर्भिक र महत्त्वपूर्ण बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप