अनिल परियार हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्न काँग्रेसको माग
नेपाली काँग्रेस चितवनले काँग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ । काँग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे ७ बजे भरतपुर–७ कृष्णखेल मैदान नजिक अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मृत्यु भएका परियारको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
परियारको हत्या घटनाप्रति काँग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काँग्रेस बागमती प्रदेश प्रतिनिधि श्री अनिल परियारको मिति २०७९ बैशाख २५ गते साँझ अन्दाजी ७:३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समूहबाट धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाली काँग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।’
निर्वाचनको प्रचारप्रसारका बेला परियारमाथि भएको सुनियोजित साङ्घातिक आक्रमणले स्तब्ध बनाएको भन्दै काँग्रेसले घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । ‘निर्वाचनको प्रचार–प्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली काँग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ ।
उक्त घटनाप्रति नेपाली काँग्रेस चितवन खेद प्रकट गर्दै यस घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम् प्रशासन हुने छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत आत्माप्रति चिर शान्तिको कामना एवम् भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’ यसैबीच काँग्रेस भरतपुर महानगरले पनि घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण अनिश्चित
-
अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा
-
रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला
-
विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन, तस्बिरहरू
-
कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह
-
संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा