शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

सोमबार, २६ वैशाख २०७९, ०९ : ४७
सोमबार, २६ वैशाख २०७९

कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो ।

 साे क्षेत्रमा नेपाली भूमिबाट जाने  बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सोमबार बिहान सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरका मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ ।

७ जना नेपाल प्रहरी र ८ जना निर्वाचन कर्मचारी हेलिकोप्टरमार्फत त्यस क्षेत्र गएका छन् । हिउँदमा सदरमुकाम झरेको सीमा प्रहरी चौकी तिंकरका सुरक्षाकर्मी बन्दोबस्तीमा सामानसहित हेलिकोप्टरमार्फत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत थापाले बताए । 

छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिंकरको आधारभूत विद्यालय मोती महिला संघ केन्द्रमा २३१ मतदाता छन् । सो क्षेत्रका बासिन्दा वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप