सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राम्रा जनप्रतिनिधि छान्न कतै बिर्सिनु पो भयो कि ?

सोमबार, २६ वैशाख २०७९, ०९ : ४०
सोमबार, २६ वैशाख २०७९

अठार वर्ष भन्दा माथिका सम्पूर्ण नागरिकले भोट गरी आफ्नो प्रतिनिधि चुन्न पाउनु नेपाली जनताको संवैधानिक अधिकार हो । अनेकौँ संघर्ष, त्याग र बलिदानको फलस्वरूप आज नेपाली जनताले नै देशको शासन सत्ताको चाबी आफ्नो हातमा पाएका छन् । सामान्य नागरिक जो जनताका माझमा नै बसेर नेपाली समाज र नेपाली जनताको समस्या र पीडा बुझेको छ । उसले पक्कै पनि आफू शक्तिमा पुगेपछि तिनै जनताको भावना र इच्छा अनुरूप विकास निर्माणका कामहरूलाई सही तरिकाले अगाडि बढाउँछ । अनि, समाजको समस्यालाई हल गर्ने प्रयास गर्दछ भन्ने अपेक्षा गरिन्छ ।

केन्द्रमा मात्र नभएर गाउँघरमा समेत सिंहदरबार भएको अनुभव गराउने हेतुले संघीयताको कल्पना गरिएको हो । स्थानीय तहको नेतृत्वको जिम्मा स्थानीय जनतालाई नै दिने उद्देश्यका साथ यो अवधारणा अपनाइएको हो । यसैअनुरूप स्थानीय तहको दोस्रो कार्यकालका लागि प्रतिनिधि चयन गर्नका निमित्त यही वैशाख ३० गते एकै चरणमा निर्वाचन हुन गइरहेको छ । 

स्थानीय तहको विकास र समृद्धिका लागि स्थानीय नेतृत्वकर्ता कुशल र इमानदार हुन अत्यन्त आवश्यक हुन्छ । प्रतिनिधि कुन पार्टीका हुन् भनेर पार्टीगत रूपमा हेरेर भोट गर्नु भन्दा स्थानीय जनताले आफ्नो ठाउँका लागि कुन व्यक्ति उपयुक्त हुन्छ ? कसले उनीहरूका समस्याहरूको समाधान गर्न सक्छ ? त्यो हेर्न जरुरी छ । स्थानीय जनतालाई कुनै पार्टीले जितेर अथवा कुनै पार्टीले हारेर फरक पर्ने भन्ने नै छैन । फरक पर्छ त केबल आफ्नो ठाउँको उच्चतम विकास र सामाजिक सुदृढीकरणको कुराले । 

नेपाली जनमानसले पहिलो कार्यकालमा नेतृत्वकर्ताको व्यक्तिगत कुशलता हेरेर भन्दा पनि पार्टीगत सम्बन्धलाई आधार बनाएर भोट गरे । पछिल्लो कार्यकालमा विकास निर्माणका काममा भएको ढिलासुस्ती छ । लोकप्रिय घोषणापत्र तर व्यवहारमा लागू नगराउने प्रवृत्ति छ । बढ्दो भ्रष्टाचार अनि आफू शक्तिमा पुगेपछि तिनै भोट गर्ने जनताका समस्यालाई बेवास्ता गर्ने क्रियाकलापले स्थानीय जनता वाक्क दिक्क भएका थिए । यसै कारण जनमानसमा एउटा क्रान्तिकारी सोचको विकास भएको थियो । अब पुराना अनुहारलाई भन्दा पनि जनताको सेवा गर्नका निमित्त दृढ इच्छाशक्ति, जोश जाँगर र विकासको राम्रो दृष्टि भएका उम्मेदवारलाई जिताउने प्रण गरेका थिए ।

तर जति जति चुनाव नजिकिन्छ, त्यही अनुपातमा जनताको त्यो परिवर्तनकारी सोच र ऊर्जा सेलाउँदै जान्छ । त्यही पुराना अनुहारका मीठा भाषण र झूटा वाचाकै पछि नेपाली जनता लागिरहेका छन् । बाहिरी रूपमा अबको नेतृत्व युवालाई दिनुपर्छ, अब पार्टीगत रूपमा नहेरेर व्यक्तिगत क्षमतालाई हेरेर भोट गर्नुपर्छ जस्ता रहरलाग्दा विचार प्रस्तुत गरेपनि नेपाली जनताका अन्तर्मनले सधैँ पार्टी पार्टी भनिरहेको हुन्छ । 

नेपाली समाजमा म यो पार्टीको, म त्यो पार्टीको भन्ने भावना पलाएको हुन्छ । अझ भनौँ कुनै पार्टीको झण्डा बोक्नैपर्छ भनेर नेपाली जनताको दिमाग धुलाई भइसकेको छ । समाजमा मात्रै नभएर प्रत्येक घर घरमा पनि मेरो पार्टीले जित्छ भन्दै प्रतिस्पर्धाको भावना उजागर भएको हुन्छ, जसले गर्दा उनीहरू आफ्नो पार्टीलाई जिताउन मरिमेटेर लाग्छन् । चाहे त्यो पार्टीको उम्मेदवार जतिसुकै असक्षम किन नहोस् ।

सुरुमा पार्टी हेर्ने, व्यक्तित्व नहेर्ने अनि पछि पश्चाताप गर्ने नेपाली जनताको पुरानो रोग नै हो । गलत व्यक्ति चुनेको महसुस त हुन्छ तर त्यतिबेला ढिला भइसकेको हुन्छ, अनि अर्को पाली भने त्यो गल्ती नदोहोरिने वाचा गर्दछ । तर जब अर्को निर्वाचन आउँछ, तब फेरि उही पुरानै रोगले थला पार्दछ । 

नेताहरुका चिप्ला भाषण अनि नेताहरुले दिने अस्थायी फाइदामा रमाएर पुराना कुरा बिर्सिनाले नेपाली समाज सधैँ पछि परिरहेको छ । विकास निर्माणमा कयौँ वर्ष पछाडि धकेलिएको छ । नेता र नेपाली जनता दुवैले आफ्ना वाचा र प्रण बिर्सिने शैलीले गर्दा यहाँ नेताहरूलाई मात्र दोष दिने ठाउँ नै छैन । जति हाम्रा नेताहरू दोषी छन्, त्यति नै मात्रामा उनीहरूलाई चुन्ने नेपाली जनता पनि दोषी रहेका छन् । 

यसकारण साँच्चै नै विकास र परिवर्तन चाहने हो भने यस पटक भने आफ्ना परिवर्तनकारी सोचलाई नबिर्सी, पछिल्ला कार्यकालमा आफूले चुनेका नेतृत्वहरूको असक्षमता र स्वार्थको राजनीतिलाई थाती राखौँ । अब हाम्रालाई भन्दा पनि राम्रालाई निर्वाचित गराएर स्थानीय तहमा विकास र समृद्धिको मूल फुटाऊँ । सही नेतृत्व चयनले देश आफै समृद्धिको बाटोतर्फ कसरी अग्रसर हुनेछ । र, नेपाली समाजको दिगो विकास हुनेछ भन्ने एउटा उदाहरण बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

​केशरबहादुर दाहाल
​केशरबहादुर दाहाल
लेखकबाट थप