बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध जयन्ती ४ दिनसम्म मनाइने

आइतबार, २५ वैशाख २०७९, २१ : ३३
आइतबार, २५ वैशाख २०७९

२५६६ औँ बुद्ध जयन्ती लुम्बिनीमा ४ दिनसम्म मनाउने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन  नसकिएको बुद्ध जयन्ती लुम्बिनीमा जेठ १ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

पत्रकार सम्मेलन गरी रुपन्देही ,कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने  जनाएको छ ।  बुद्ध जयन्ती मनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तरगत विभिन्न उपसमितिहरू क्रियाशील रहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

बुद्ध जयन्तीकै अवसर पारेर लुम्बिनीमा निर्माण सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुनेछ ।  लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं प्रचार प्रसार संयोजक सिद्धिचरण भट्टराईका अनुसार नवलपरासीमा जेठ १ गते साँझ ४ बजेबाट बौद्ध प्रवचन तथा दीप प्रज्वलन गरिने छ ।

२ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान, जेठ २ गते बिहान ६ बजे मायादेवी मन्दिर परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ र मायादेवी परिसरदेखि शान्ति दीपसम्म शोभा यात्रा, बिहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

जेठ २ गते नै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औँ बुद्ध जयन्ती समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा विशेष समारोह गरी मनाइने भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप