शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोल्सोनारोलाई चुनौती दिन ‘संसारका सबैभन्दा लोकप्रिय नेता’ मैदानमा

आइतबार, २५ वैशाख २०७९, २१ : ०९
आइतबार, २५ वैशाख २०७९

ब्राजिलका सबैभन्दा लोकप्रिय नेता लुइज इनासियो लुला दा सिल्भाले शनिबार तेस्रो कार्यकालको लागि चुनावी अभियान सुरु गरेका छन्। ​लुलालाई गत मजदुर दिवसको दिन साओ पाउलोको प्रतिष्ठित पकाम्बु फुटबल रंगशालाको कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिँदा उपस्थित ठूलो भिडले ठूला नाराका साथ स्वागत गरेको थियो । रङ्गशाला ‘लुला, ब्राजिलका जनताका योद्धा!’ भन्ने नारा लगाए। 

लुलाले कार्यक्रममा उनको पहिचानगत भारी स्वरमा भनेका थिए ,‘ ब्राजिलमा अहिले शासन गरिरहेका नरसंहारवादी नेताले लादेको घृणा हामी स्वीकार्दैनौं।’ लुलाको सङ्केत वर्तमान उग्र दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोतर्फ थियो। 

बोल्सोनारोको शासनमा दक्षिण अमेरिकाको सबैभन्दा ठूलो प्रजातन्त्रमा अधिनायकवादको जोखिम बढेको चर्चाबीच लुलाले चुनावी अभियान सुरु गरेका छन्। 

मत सर्वेक्षणहरूले अक्टोबर २ मा हुने पहिलो चरणको मतदानमा लुलाले बोल्सोनारोविरुद्ध १७ प्रतिशत अंकको अग्रता लिने देखिएको छ। तथापि विज्ञहरूले चुनाव नजिकिँदै जाँदा यो अन्तर साँघुरिने र दुई नेताबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।

‘पृथ्वीको सबैभन्दा लोकप्रिय नेता’ लुलाको दुई सफल कार्यकाल 

ब्राजिलको उत्तरपूर्वी भेगको असह्य सुख्खा क्षेत्रमा चरम गरिबीमाझ हुर्किएका लुलाको राजनीति मजदुर नेताका रूपमा सुरु भएको थियो। सन् १९७० को दशकको उत्तरार्धमा ब्राजिलको क्रूर सैन्य तानाशाहीबीच साओ पाउलोको औद्योगिक उपनगरमा उनी नेतृत्वमा मजदुर हडताल भएको थियो ।

यसै हड्तालले उनलाई देशभर चिनायो। पछि उनी मजदुर युनियनको राजनीति त्यागेर मूलधारको राजनीतिमा आए । सन् २००२ मा चौथो प्रयासमा उनी देशको सर्वोच्च राजनीतिक पदमा निर्वाचित हुन सफल भएका थिए ।

विश्वको सबैभन्दा असमान देशमध्ये एक मानिने ब्राजिलमा लुलाले दुई कार्यकालमा भोकमरी उन्मूलन र सामाजिक समावेशीकरण उल्लेखनीय काम गरे। यस अवधिमा ब्राजिलले गरेको आर्थिक तथा सामाजिक प्रगतिको सर्वत्र प्रशंसा भएको थियो ।

आठ वर्षको शासन सकिएर बहिर्गमन हुने बेलामा ब्राजिलियन मतदातामाझ उनको लोकप्रियता दर ८० प्रतिशत थियो ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई सन् २००९ मा ‘पृथ्वीको सबैभन्दा लोकप्रिय नेता’ भनेर सम्बोधन गरेका थिए।

अहिले, कोभिड–१९ र युक्रेनमा जारी युद्धको कारण ब्राजिलमा खाना पकाउने ग्यास, इन्धन र आधारभूत खाद्य वस्तको मूल्य तीव्र गतिमा बढिरहेको छ। यसको सबैभन्दा ठूलो मारमा न्यून ज्याला कमाउने जनतालाई परेको छ। 

आधाभन्दा बढी जनसङ्ख्या कुनै न कुनै प्रकारको खाद्य असुरक्षाको सामना गरिरहेको रिसर्च नेटवर्क अन फूड एण्ड न्युट्रिसन सोभ्रानटी एण्ड सेकुरिटीले बताएको छ। मासु पसल बाहिर हड्डी बाँडिने आसामा मानिसको लाईन लागेको खबरहरु प्रथमन पृष्ठमा आइरहेका छन्। 

राष्ट्रपति भए भने लुलाले सामना गर्ने प्रमुख चुनौती

लुला निर्वाचित भए भने लुलाले गरिबहरुलाई तत्काल सहज बनाउने कार्यक्रम ल्याउनेदेखि मुद्रास्फीतिलाई सम्बोधन गर्दै महँगी कम गर्ने, आर्थिक वृद्धि तीव्र बनाएर रोजगारी बढाउने चुनौती सामना गर्नुपर्ने छ। 

तर राष्ट्रपतिको रूपमा यी कार्यक्रम ल्याउन उनलाई ब्राजिलको घोडा व्यापारस्थल समेत भनेर चिनिने राष्ट्रिय कंग्रेसले अवरोध गर्न सक्छ। यस अर्थमा उनको राष्ट्रपतिको रूपमा सफलता कंग्रेससँग काम गर्न सक्ने कलामा निर्भर हुनेछ। 

विज्ञहरूले राष्ट्रिय कंग्रेसमा बोल्सोनारो पक्षधरको सिट सङ्ख्या घटे पनि लुलालाई सुधार अघि बढाउन आवश्यक बहुमत नआउने बताउँछन्। यसले ब्राजिलको शासनमा कठिनाइ उत्पन्न हुन्छ। 

लुलाले आगामी निर्वाचनमा मध्य–दक्षिणपन्थी नेता गेराल्डो अल्कमिनलाई उपराष्ट्रपतिका रूपमा चुनेका छन्। साओ पाओलोका पूर्व गभरनर अल्कमिन सन् २००६ को राष्ट्रपतिय चुनावमा लुलाका प्रतिस्पर्धी हुन्। 

राजनीतिक पण्डितले अल्कमिनको चयनले लुलाले देशको मध्यमार्गी तथा व्यवसायिक समुदायलाई आफूतर्फ तान्ने  व्यावहारिक प्रयास मानेका छन्। 

लुलाविरुद्धको मुद्दा

राजनीतिक विश्लेषक ट्राउम्यान मतदाताको दिमागमा लुलाका पूर्ववर्ती डिल्मा रुसेफको भ्रष्ट शासन ताजा रहेको बताउँछन्। रुसेफको शासनकालमा ब्राजिलमा समकालीन इतिहासकै सबैभन्दा खराब मन्दी आएको थियो। 

गत वर्ष, ब्राजिलको सर्वोच्च अदालतले लुलालाई सन् २०१८ मा जेलसम्म पुर्‍याएको भ्रष्टाचार सम्बन्धी मुद्दा खारेज गर्‍यो । संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिले भर्खरै लुलाको मुद्दामा फैसला गरेका न्यायाधीश सर्जियो मोरोले उचित प्रक्रिया उल्लङ्घन गरेको निष्कर्ष निकाल्यो। मोरो पछि बोल्सोनारोको न्याय मन्त्री बनेका थिए।

लुला, उनका वकिल, अन्य धेरै न्यायविद् र उनका समर्थकले सन् २०१८ को चुनावमा बोल्सोनारोलाई जिताउन लुलाविरुद्ध राजनीतिक पूर्वाग्रहका साथ मुद्दा चलाइएको आरोप लगाउने गरेका छन्। 

बोल्सोनारोको अधिनायकवादी कदमको डर

अदालतले निर्दोष बताएपछि ब्राजिलमा लुलाका आलोचकहरू, उनलाई अझै एकदम गैरजिम्मेवार र सबैभन्दा खराब अपराधी मान्छन्। 

यस वर्गका लागि बोल्सोनारो र उनका केही समर्थकले चुनावलाई धर्म युद्धको रूपमा प्रस्तुतका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । 

‘यो भूमि हाम्रो हो र यो भूीमको शत्रु बाहिरका होइन, यहीका आन्तरिक हुन्,’ बोल्सोनारोले भर्खरै उनका समर्थकहरूलाई भने।

लुलाको बढ्दो लोकप्रियताबीच, विगतमा २१ वर्ष लामो सैन्य तानाशाही सहेको ब्राजिलमा पुन: कुनै प्रकारको अधिनायकवादी शक्तिले शासन हडप्ने हो की भन्ने डर पनि बढेका छ। 

गत वर्ष डाटाफोल्हा नामक संस्थाले गरेको सर्वेक्षणमा आधा ब्राजिलियनहरूले बोल्सोनारोले कुनै प्रकारको कूको प्रयास गर्ने हो की भन्ने डर व्यक्त गरेका थिए । 

अल जजिराबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप