मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मश्री विवाद : खेलाडीद्वारा निर्णयमा धाँधली भएको आरोप

आइतबार, २५ वैशाख २०७९, २० : ५०
आइतबार, २५ वैशाख २०७९

नेपाल व्यायाम मन्दिरले आयोजना गरेको शारिरीक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्रीको १६ औं संस्करण विवादमा परेको छ । प्रतियोगितामा सहभागि भएका खेलाडीहरूले रिजल्टमा निष्पक्ष नभएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले आयोजकले आफ्नो खेलाडीहरुलाई प्रथम बनाउन प्रतियोगिता गरेजस्तो आफूहरूले महसुस गरेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सकिएको प्रतियोगितामा पहिलो पटक पुरुष तथा महिला फिजिक विधा थप गरिएको थियो । तर, त्यहिँ विधा यतिबेला विवादित बनेको छ । फिजिकल विधामा सहभागी खेलाडीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् । खेलाडीहरूले आयोजकले जजहरुलाई नै खेलको विषयमा जानकारी नभएको आफूहरुलाई महसुस भएको बताए । 

फिजिकको पुरुष विधामा प्रतिस्पर्धा गरेका सागर विक, अवतार श्रेष्ठ, अनुज मास्के, गोपाल लिम्बु, बिशुराम केसी तथा महिलाका सनम मुलगुढी र पुजा श्रेष्ठले पत्रकार सम्मेलन गर्दै धाँधली भएको आरोप लगाएका हुन् । 
युकेबाट प्रतियोगिता खेल्न नेपाल आएका सागरले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको तर शरीर ठूलो भएको बताउँदै यस पटक आफुलाई शीर्ष १५ मा नपारिएको बताए । ‘म उत्कृष्ट १५ मा पनि पर्न सकेन । देश तथा विदेशमा मैले धेरै प्रतियोगिता खेले । नेपालमा नै प्रतियोगिताका लागि आए । तर, आयोजकले हामीप्रति नराम्रो व्यावहार गर्यो । आफ्नो शरीर ठूलो भएको कारण शीर्ष १५ मा पर्न नसकेको जनकारी आयो,’ पत्रकार सम्मेलनमा उनले भने । 

निर्णायक मण्डललाई यसबारे जानकारी माग्दा सागरको ज्यान अन्तराष्ट्रिय स्तरको भएको र नेपालमा यस्तो ज्यान हुनुहुन्न भन्ने जवाफ पाएको उनले बताए । उनले भावी पुस्ताका खेलाडीका यस्तो नहोस भनेर मुख खोलेको बताए ।
ताप्लेजुङका गोपालले प्रतियोगिताको फाइनलको दिन सागरकै समस्या भोगेको बताए । दर्शकको नजरमा गोपाल स्पष्ट विजेता देखिएपनि उनलाई छैटौं स्थानमा राखेर ४८ ट्याग नम्बरका खेलाडीलाई उपाधि दिईएको उनीहरुले आरोप लगाए ।

फिजिकको पुरुषतर्फ आयोजक नेपाल व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ दी फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामाले उपाधि जितेका थिए । यस्तै अर्का खेलाडी अवतारले सुरुआतमा केहि जानकारी नगराएको तर प्रतियोगिताको समयमा ठूलो शरीर भनेको भन्दै शीर्ष १५ मा नराखिएको बताए । महिलातर्फकी प्रतिस्पर्धी सनमले प्रतियोगितामा रहेका निर्णायकले प्रतिस्पर्धीबीच तुलना नगरेको र पर्याप्त समय नदिएको बताईन् । उनले प्रतिस्पर्धा गर्दा लगाउने पोसाकबारे समेत जानकारी नदिएको बताइन् । ‘आयोजकले कुन किसिमको पोशाक लगाउने भन्ने विषयमा जनकारी नै गराएको थिएन । प्रतियोगिताको दिनमा नै हामीलाई यस्तो किसिमको पोशाक लगाउन निर्देशन आयो अनि हामी सोहि अनुसार अघि बढ्यौ,’ सनमले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप