एमालेको चुनावी सभा ः आरजु राणादेखि प्रचण्डसम्मको आलोचना
शनिबार बुटवलमा गठबन्धन दलहरुले आमसभा गरेको ठाउँ देवीनगरमै ठूलो तामझामका साथ आइतबार नेकपा एमालेले आमसभा आयोजना ग¥यो । तोकिएको समयभन्दा तीन घण्टा ढिला सुरु भएको आमसभामा एमालेका नेताहरुले गठबन्धन दल र सरकारको चर्को आलोचना गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्धारित समयभन्दा तीन घण्टा ढिला आउँदा कार्यक्रम पनि ढिलो सुरु भएको हो । गर्मीले आत्तिएका कार्यकर्ताहरु भाषण सुन्ने मुडमै थिएनन् । यद्यपि, ओलीले ५ दलीय गठबन्धन, प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ आरजु राणादेखि प्रचण्ड सम्मको आलोचना गरे । उनले गठबन्धनलाई जनताले नचिन्ने दाबी गर्दै देशमा गठबन्धन बनेपछि अलच्छिन पसेको आरोप लगाए । उनले भने, ‘देशमा, अन्य ठाउँमा जनताहरूले एमालेलाई जान्दछन् र चिन्छन् तर गठबन्धनलाई जनताले मतलबै राख्दैनन् ।’
उनले वैशाख ३० गतेको चुनावमा गठबन्धनलाई जरादेखि टक्टक्याएर फ्याँक्ने भन्दै गठबन्धन त्यसपछि टुट्ने दाबीसमेत गरे । उनले एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा सरकारले बजेट कटौती गरेको आरोप लगाए । उनले प्रधानमन्त्री पत्नी आरजु राणाले युवाहरुलाई मलेसिया पठाइदिन्छु भनेर आश्वासन दिँदै हिँडेको भन्दै आलोचना गरे । प्रचण्डले गठबन्धनले चुनाव हारेमा देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको आरोप पनि ओलीले लगाए । उनले भने, ‘देशमा अहिले पनि धम्क्याउने र तर्साउने काम भइरहेको छ तर त्यसरी अहिलेको अवस्थामा चल्दैन ।’ उनले प्रहरी, सेना र कर्मचारीलाई निर्वाचन स्वतन्त्र र धाँधलीरहित बनाउन आग्रह गर्दै एमालेलाई साथ नदिए पनि निष्पक्ष र तटस्थ भएर निर्वाचनलाई शान्तिपूर्ण एवं स्वतन्त्र बनाउनुपर्नेमा जोड दिए ।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरु पनि अतिथिको आसनमा थिए तर उनीहरुले आमसभालाई सम्बोधन गरेनन् । बरु नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले सम्बोधन गर्दै सरकार र गठबन्धनको विरोध गरेका थिए ।
अध्यक्ष ओली आउनुभन्दा अगाडि नै बोलेका भुसालले नेपाली काँग्रेससँग एजेन्डा नभएका कारण उसले गठबन्धनको साथ लिनुपर्ने अवस्था आएको जिकिर गरेका थिए । अहिले एमालेविरुद्ध सबै शक्ति मिलेकाले एमाले पनि एकजुट हुनुको विकल्प नभएको उनले बताए । एमालेले चुनाव जितेका क्षेत्र र पालिकामा नमुनायोग्य काम भएको उनको दावी थियो । एमाले उपाध्यक्ष विष्णु पौडेलले भने रुपन्देहीका सबै स्थानीय तहका उम्मेदवारहरूलाई माला लगाएर स्वागत गरेका थिए । बुटवलभन्दा बाहिरबाट आएका कार्यकर्ताहरु कार्यक्रम ढिलो सुरु भएपछि चर्को गर्मी सहन नसकी कार्यक्रम सुरु नै नभइ घर फर्किएका थिए ।