शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोट युवालाई कि अनुभवीलाई ?

आइतबार, २५ वैशाख २०७९, १८ : ३८
आइतबार, २५ वैशाख २०७९

केही दिन अघि म नजिकैको बजारमा किनमेल गर्न जाँदा आधा दर्जन जति युवाहरु चिया पसलमा निकै जोड जोडले गफिदै थिए । तिनीहरुको कुरोको केन्द्रविन्दु राजनीतिमा युवा आउनुपर्छ भन्ने थियो । सायद चुनाव लागेर होला, के सहर, के गाउँमा त्यस्ता राजनीतिक गफ गर्ने झुण्ड थुप्रै छन् । 

यस्तै अर्को एउटा झुण्ड थियो, अलिक पाका ब्यक्तिहरुको । त्यहाँ एउटा मुख्य राजनीतिक पार्टीको कुरा भइरहेको थियो । तिनीहरु खुब जोसका साथ भन्दै थिए, ‘यत्रो इतिहास बोकेको पार्टीको कस्तो दुर्दशा भएको गाँठे ।’ ती दुई झुण्डको कुरा सुनेपछि म आफ्नो काम सकेर अनेक कुरा सोच्दै घर फर्के । अनि धेरै बेरसम्म मेरो मनमा कुरा खेल्न थाले, आखिर राजनीतिमा फे्रश युवा आउनु पर्छ कि अलिक अनुभव बटुलेकाहरु ? 

२०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा देशबाट धेरै नै युवा नेताहरुले चुनाव जितेका प्रमाण हामीसँग ताजै छन् । तर ती जितेका युवा नेताहरुको कार्यकाल कस्तो रह्यो, त्यो भने मूल्याङ्कनको कसीमा छ । मेरो क्षेत्रमा  नगरपालिकाको प्रमुख र प्रदेशसभा दुवैमा युवाहरुले नै जितेका थिए । तर काम भने मैले मात्रै नदेखेको हो कि खै के हो ? ‘जति जोगी आए पनि कानै चिरेका’ जस्तो भन्न बाध्य भएँ  ।
मेरो क्षेत्र मात्रै हैन, यस्ता धेरै क्षेत्रमा पनि युवाहरुले सन्तोषजनक काम गरेको भने सुन्नमा आएको छैन । हुन त पदमा पुगिसकेपछि थुप्रै बाधा अड्चन आउँछन् तर पनि आँखै अगाडि भएका समस्या समाधान गर्न कसले असहयोग गर्थ्यो र ?
युवा नेतृत्वसँगै अब अनुभवीहरुको पनि थोरै कुरा गरौं । तत्कालीन चुनावमा अधिकांश क्षेत्रमा अनुभवी नेताले चुनाव जितेका छन् । तर काम भने उही ड्याङको मुलाजस्तै छ । हाम्रो जस्तो आफैमा सुन्दर भएको देशमा विकासका कार्यहरु थालनी गर्न धेरै गाह्रो विषय जस्तो लाग्दैन । तर पनि यसको बाधक चाहिँ के रहेछ भन्ने प्रश्न म जस्ता धेरैको मनमा उठ्नु स्वभाविक छ । 

अधिकांश अनुभवी नेताहरु, यसो हेर्ने हो भने आफ्नो भुँडी र आफ्ना आसेपासेलाई भराउन खुबै सिपालु देखिन्छन् । अर्को अर्थमा बुझ्ने हो भने उनीहरुको अनुभव चाहिँ देश लुट्न काम लाग्दै छ । तर सबै अनुभवी नेताहरु गलत दिशातिर मात्रै गइरहेका छैनन् भन्ने एउटा ज्वलन्त उदाहरणका रुपमा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई लिन सकिन्छ । उनको कार्यशैली, कार्यप्रगति खोज्नु भयो भने प्रशस्त पाउनुहुनेछ । हुन त सबैको आआफ्नो धारणा वा विचार हुन्छ तर जोसभन्दा अनुभवले कार्यलाई अघि बढाउँछ भन्ने मेरो व्यक्तिगत धारणा छ ।

अहिलेका राजनीतिक पार्टीमा संलग्न रहेका अधिकतम युवा नेताहरुको पुरानै शैलीको राजनीतिक तरिकाले देशमा कायापलट हुन्छ भन्ने कुरामा  शंका नै छ । भनिन्छ, युवाहरु देशका खम्बा हुन् । तर, तिनै युवाहरु कुनै राजनीतिक पार्टीको सदस्यता लिएर आफ्नो दुनो सोझ्याउन थाले भने देशका लागि ठुलो समस्या हुन थाल्छ । यस्तै अझै पनि भोट युवालाई दिने कि अनुभवीलाई भन्ने प्रश्नको ठ्याक्कै उत्तर पाउन गाह्रो छ । 

हुन त यत्ति भन्दै गर्दा, कस्तो खालको केटो रहेछ, आफै युवा भएर युवालाई नै शंकालु दृष्टिकोणले हेर्दछ भन्ने प्रश्न आउला । तर म त्यो प्रश्नको सजिलै सामना गरौंला भन्ने लाग्छ । अनि साँच्चै भोट युवालाई दिने कि अनुभवीलाई भन्ने प्रश्नमा मेरो सुझाव युवालाई दिंदा राम्रो होला । किनकि कुनै काममा ‘इन्ट्री’ नदिए ऊ निखारिएर कसरी आउला ? तर राजनीतिका नाममा ढुंगामुढा मात्रै गर्ने युवाभन्दा पनि योजना, भिजन भएका युवा नेतालाई ख्याल गर्नुपर्छ । 

यता अनुभवीलाई तथा अलिक पाका उम्मेदवारतर्फ हेर्दा समाजमा असल चरित्र भएका र अरुभन्दा तुलनात्मक रुपमा असल गुण भएकालाई हेर्दा उपयुक्त होला कि ? अहिले हामी त्यो चरणमा छौं कि फटाहाहरुलाई नै भोट दिनुपर्ने र तिनै फटाहाहरुमध्ये तुलनात्मक रुपले कम फटाहा व्यक्तिलाई भोट दिनुपर्ने बाध्यता छ । त्यसैले भोट दिंदा ठण्डा दिमागले सोचौं । मेरो घर नजिकैको हो, युवा हो, मेरो नातेदार हो भनेर फेरि अर्को पाँच वर्ष खेर नफालौं । केही क्षणको मासु भात, तथा पेट्रोल (हाल्ने तथा खाने) मा न बिकौं । असल उम्मेदवारलाई भोट हालेर आफ्नो गाउँठाउँ आफै बनाऊँ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप