शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा काँग्रेस-एमाले एकढिक्का हुँदा पनि माओवादी भारी

आइतबार, २५ वैशाख २०७९, १७ : ५७
आइतबार, २५ वैशाख २०७९

स्थानीय तह निर्वाचनको मतदान गर्ने दिन जम्मा ५ दिनमात्रै बाँकी छ । रुकुम पश्चिममा मत आफ्नो पक्षमा पार्न दुबै पक्षका गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । नेकपा माओवादी केन्द्रको आधार इलाका मानिने रुकुम पश्चिममा नेपाली काँग्रेस र नेकपा एमाले एक ढिक्का हुँदा पनि माओवादी एक्लै भारी भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला भएकाले धेरैले महत्वका साथ हेरेका छन् । यसअघि निर्वाचनमा माओवादीले एकल रुपमा ६ स्थानीय तह जितेको थियो । यस निर्वाचनमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले समेत साथ दिएकाले माओवादी थप ढुक्क भएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोक्काले बताए ।

‘रुकुम पश्चिम माओवादी यसअघिको निर्वाचनमा बलियो थियो । सबै स्थानीय तह जित्यो’ रोक्काले भने, ‘अहिले एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले समेत साथ दिएकाले सबै स्थानीय तह जित्नेमा कुनै शंका छैन ।’ यसअघि निर्वाचनमा माओवादीले राम्रो काम गरेकाले यस पटकको निर्वाचन जित्न एकल रुपमा समेत गाह्रो नहुने रोक्काले बताए ।

रुकुमका ६ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा माओवादीबाट मेयरमा वसन्त शर्मा र उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुनले उम्मेदवारी दिएका छन् । एक स्थानीय तह मात्रै एकीकृत समाजवादीसँग तालमेल भएको छ । अरु स्थानीय तहमा एकीकृत समाजवादीले वडा लिएर सघाएको छ ।

यस्तै माओवादीबाट चौरजहारी नगरपालिका मेयरमा पुष्प वादी उपमेयरमा ईश्वरी कुमारी शर्मा र आठबिसकोट नगर मेयरमा रवि केसी र उपमेयरमा धनकुमारी शाहीले उम्मेदवारी दिएकी छिन् । यस्तै सानीभेरी गाउँपालिका अध्यक्ष–बिर्खबहादुर विष्ट, उपाध्यक्ष–कमला रोका पुन, त्रिवेणी अध्यक्षमा गणेशकुमार केसी उपाध्यक्षमा राजकुमारी रेउलेले उम्मेदवारी दिएकी छिन् । यस्तै बाफिकोट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीले उम्मेदवारी दिएकी छिन् । 

यस्तै ६ स्थानीय तहमा त्रिवेणी र बाफिकोटमा मात्रै काँग्रेस एमाले गठबन्धन भएको छैन । अरु चार स्थानीय तहमा प्रमुख काँग्रेस र उपप्रमुख एमाले लिएर तालमेल गरेका छन् । मुसिकोट नगर मेयरमा काँग्रेसबाट महेन्द्र केसी उपमेयरमा एमालेका थलबहादुर ओली, चौरजहारी नगर मेयरमा काँग्रेसका प्रेमबहादुर ओली उपमेयरमा टंकप्रसाद ओलीले गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।

यस्तै आठबिसकोट नगर मेयरमा काँग्रेसका धिरेन्द्रकुमार बटाला र उपमेयरमा एमालेका दिनेश चन्द्रले उम्मेदवारी दिएका छन् ।  सानोभेरी गाउँपालिका अध्यक्षमा काँग्रेसबाट गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेका प्रकाश खड्काले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप