शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्कनेहरूलाई छैन चुनावको वास्ता

भन्छन्– चुनाव भनेर होइन, खेतीपातीका लागि आएका हौँ
आइतबार, २५ वैशाख २०७९, १६ : १५
आइतबार, २५ वैशाख २०७९

नेपालगञ्जबाट ७ किलोमिटर दूरीमा रहेको जमुनाहा नाकामा अहिले भारतबाट फर्कने नेपालीहरूको भिड देखिन्छ । दैनिक ४ हजारभन्दा बढी नेपाल सो नाका हुँदै भारतबाट आउने गरेका छन् । कर्णाली प्रदेशबाट भारत जाने अधिकांशले यो नाका प्रयोग गर्दछन् । त्यस अतिरिक्त लुम्बिनी प्रदेशकै कतिपय जिल्लाका नागरिक पनि भारत जान र उताबाट आउन यो नाका प्रयोग गर्दछन् ।

नाकामा भारतबाट आउने नेपालीहरूको लर्को देख्दा उनीहरू चुनावका लागि आएका हुन् कि भनेर अनुमान गर्न सकिन्छ । तर, उनीहरू भने चुनावका लागि नभई आफूहरू खेतीपातीका लागि आएको बताउँछन् । भारतमा रोजगारी गरेर फर्किएकामध्ये धेरैजसोले आफू खेतीपातीका लागि आएको बताए । मतदान नजिकिएको अवस्थामा भारतबाट आएका उनीहरू मतदानका लागि नभई घरायसी काम र खेतीपातीका लागि आएको बताउँछन् ।

भारतको चण्डीगढबाट आएका रोल्पाको लिवाङ नगरपालिका–२ का सागर परियारले अहिले खेतीपातीको सिजन भएकाले आफू घर फर्किएको बताए । स्थानीय तहको निर्वाचनसमेत यही बेला परेको भन्दै उनले भोट पनि दिन जाने बताए ।

उनले भने, ‘चुनावमा केही आफन्त उम्मेदवार उठेका छन् । केही चिनेजानेका हुन्छन्, अनि भोट हाल्नु पर्‍यो । केही हुन्छ कि भन्ने आशमा भोट दिन्छु ।’

बाँकेको खजुरा घर भएका उमेश चौधरी पनि रोजगारीका लागि भारत गइरहन्छन् । उता दुई÷चार महिना काम गरेर यता आउने, यताको घरायसी काम सकेर फेरि रोजगारका लागि उता जाने उनको नियमितजस्तै काम हो । भारतका विभिन्न सहरमा पुगेर उनी मजदुरी गर्दछन् । अहिले उनी खेतीपातीका लागि घर आएका छन् । यही बेला चुनाव पनि परेकाले भोट हाल्ने सोचमा रहेको उनले सुनाए ।

‘भोट हालेर खासै उपलब्धि त हुँदैन तर पनि साथीहरूका लागि भोट हाल्नुपर्छ,’ उनले भने । उनले आफूले हालेको भोट काम लागेको भए रोजगारीका लागि भारत जानुपर्ने अवस्था अन्त्य भइसकेको हुन्थ्यो भन्ने उनको मान्यता छ ।

छोराछोरीका लागि शिक्षा, आफ्नो लागि काम गर्ने वातावरण बनाइदिए यसरी पेट पाल्नकै लागि भारत गइरहनुपर्ने अवस्था नआउने उनले बताए । ‘चुनावमा यसो गर्छु, उसो गर्छु भन्दै भोट माग्न आउँछन्,’ उनले भने, ‘चुनावपछि सबैले बाचा बिर्सिन्छन्, हाम्रो अवस्था जस्ताको तस्तै हुन्छ ।’

डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ का रमेश थापा भारतको दिल्लीमा कुकको काम गर्दछन् । उनी मकै लगाउने, जोत्ने, मल फाल्ने लगायत खेतीपातीका काम सकेर फेरि भारत जाने सोचमा छन् । घरमा आमामात्रै भएकाले खेतीका लागि बेलाबेला आफू घर आउनु परेको उनले बताए ।

उनलाई चुनावको खासै मतलब छैन । उनले पहिले खेतीपातीमा ध्यान दिने, त्यसपछि मात्र मतदानतिर ध्यान दिने बताए । ‘भोट दिएर के गर्नु ? बाली राम्रोसँग नलगाएमा आफू भारत गए पनि घरमा खाने समस्या हुन्छ,’ उनले भने, ‘चुनावमा भोट हालेको भनेर पेट भरिन्न, काम नगरी खान पुग्दैन ।’

रुकुमको चौरझारी नगरपालिका–१० का वीरमान राना भने अहिले चुनावमा घरमा जाने मुडमा छैनन् । जमुनाहा नाका छेउमा सानो पसल सञ्चालन गरेर परिवारसहित बसेका रानालाई देशमा परिवर्तन होला भन्ने खासै आश छैन ।

‘भोट हाले पनि नहाले पनि तिनै मान्छे आउने हुन्, उनीहरूको काम गर्ने तरिका त्यही हो,’ उनले भने, ‘नेताहरू आफ्नो दुनो सोझ्याउन बाहेक केही गर्दैनन्, आफ्नो खर्च गरीगरी भोट हाल्न किन जानु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप