आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव :  गरिबका लागि दसैँ, ठेकेदारले पाउन छाडे मजदुर

आइतबार, २५ वैशाख २०७९, १६ : ०१
आइतबार, २५ वैशाख २०७९

केही दिन अघिसम्म सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा हरेक बिहान मजदुरहरुको भिड हुन्थ्यो । कसैलाई मजदुर चाहिएमा सोही चोकमा आएर आफूलाई चाहिएको संख्यामा मजदुर लैजान सहज पनि भएको थियो । तर अचेल त्यो भिड देखिँदैन ।

सप्तरीका पत्रकार श्यामसुन्दर यादवका अनुसार ती मजदुरहरु स्थानीय तहको चुनावमा खटिएका छन् । विभिन्न पार्टीका उम्मेदवारले ती मजदुरलाई दैनिक ज्यालादारी दिएर चुनाव प्रचारमा लगाएको उनको भनाइ छ ।

दिनभर मजदुरी गरेर पाउने ज्याला चुनाव प्रचारबाटै पाएपछि उनीहरु उम्मेदवारको पछिपछि हिँड्न थालेका छन् । दिनभर अटो रिक्साका लागि यात्रु खोजेर बस्ने मजदुर पनि अहिले व्यस्त छन् । उनीहरु यात्री बिना पनि अटो रिक्सा चलाइरहेका छन् । यसरी यात्री बिनानै अटोरिक्सा कुदाउँदा पनि उनीहरुले पारिश्रमिक पाइरहेका छन् किनकि, उनीहरु पनि अटोरिक्सामा कुनै न कुनै उम्मेदवारको प्रचार प्रसार गरिरहेका हुन्छन् । त्यसबापत उसले दैनिक निर्धारित रकम पाउने गर्दछ ।

मजदुरीको काम छाडेर चुनाव प्रचारमा लागेका मजदुरले दिनको एक हजार रुपैयाँसहित चिया, नास्ता, खाना पाउने गरेको बताए । यसरी चुनाव प्रचारमा मजदुर खटिएका कारण श्रममुलक कामका लागि भने जनशक्तिको अभाव भएको छ ।

बेल्हीका राजकुमार यादव भन्छन्, ‘घर बनाउन सुरु गरेको तर एक हप्ता भयो लेबर र मिस्त्री काम गर्न आउन छाडेका छन् ।’ लेबर र मिस्त्रीलाई सोध्दा अहिले फुर्सद छैन भन्छन् तर उनीहरु चुनाव प्रचारमा डुलिरहेको आफूले देखेको उनी बताउँछन् ।

घर बनाउने काममा खटिएका लेबर (मजदुर) ले दिनको पाँच सय नगद र बिहानको चिया तथा नास्ता मात्र पाउँछन् । तर अहिले चुनाव प्रचारमा खटिएकाहरुले दिनको एक हजार नगद र त्यसबाहेक मासु भात, नास्ता, रक्सीलगायत खान पाउँछन् ।

घर निर्माणको ठेक्का लिँदै आएका सिरहा, रमौलाका एक ठेकेदारले भने, ‘चुनावका कारण अहिले हाम्रा सम्पूर्ण काम ठप्प भएका छन् । काम गर्ने हेड मिस्त्री तथा लेबरहरु सबै चुनावमा लागेका छन् । काम गर्न कोही आउँदैन, एक हप्तादेखि सबै काम ठप्प छ ।’

आफूहरुले दिने पारिश्रमिक र सुविधा भन्दा बढी सुविधा चुनाव प्रचारबाट पाउने गरेका कारण नियमित काम छाडेर मजदुरहरु चुनावमा लागेको उनी बताउँछन् ।   

यतिमात्र होइन, अहिले सडक मर्मत जस्ता कामले पनि तीव्रता पाएको छ । सिरहा सुखिरपुर नगरपालिकाका राजकुमार सदा भन्छन्, ‘मेरो घर अगाडिको बाटो दुई वर्षदेखि भत्किएको थियो, पानी जमेर हिलो हुन्थ्यो तर चुनावको चहलपहल हुने बित्तिकै कसले त्यो बाटो बनाई दियो भन्ने हामीले नै थाहा पाएनौं ।’

त्यो बाटो बनाउनका लागि आफूहरुले नेताहरुको घरदैलो धाउने गरे पनि कुनै सुनुवाइ नभएको तर अहिले चुनावको मुखमा बाटो निर्माण भएको उनले बताए । त्यति मात्र होइन, सोही नगरपालिकाको मोहम्मद रुस्तमको घरको छानामा रहेको टायल फुटेको थियो । चुनाव प्रचारको क्रममा रुस्तमले उम्मेदवारसँग आफ्नो गुनासो राख्दा भोलिपल्टै जस्तापाता ल्याइएको उनले सुनाए ।

सिरहाका पत्रकार चन्दरदेव कामती भन्छन्, ‘अहिले त नेतालाई कसैले मेरो घरमा १० वटा भोट छ, मलाई आकाशबाट चन्द्रमा ल्याई दिनु भने पनि सायद नेताले त्यो पनि ल्याउने प्रयास गर्नेछ ।’ अहिले उम्मेदवार बनेका नेताहरुसँग जसले जे माग्यो, त्यही पाउने गरेको बताउँदै उनले तिनै नेताहरु चुनावमा गएपछि फेरि जनतालाई सास्ती दिने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप