मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

धनुषामा उम्मेदवारहरू घरदैलो अभियानको अन्तिम चरणमा

आइतबार, २५ वैशाख २०७९, १३ : ५७
आइतबार, २५ वैशाख २०७९

आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् । मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ ।

आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् । “करिब करिब सबै वडामा घरदैलो सकिएको छ”, सत्तारुढ गठबन्धनका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले भने, “बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ ।” मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनको भनाइ छ ।

यस्तै लोसपाका उम्मेदवार मनोज चौधरीले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । “हामीले उपमहानगरपालिकाका करिब सबै वडामा घरदैलो गरिसकेको र बाँकी रहेका वडामा आज बिहानैदेखि घरदैलो गरिरहेका छौं”, उनले भने, “आज साँझसम्म सबै ठाउँमा घरदैलो सकिन्छौँ ।” विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घर–घरमा पुगिरहेका छन्, भने स्वतन्त्र उम्मेदवार आफ्नो चुनाव चिन्ह अङ्कित झण्डा, ब्यानर र व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न व्यस्त छन् । 

निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने मधेश प्रदेश निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । एक उपमहानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित विभिन्न पदमा करिब ४० हजार ९२४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कूल आठ जिल्ला रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।  

माओवादी केन्द्रद्वारा बागी उम्मेदवारसहित ६ जना पार्टीबाट निष्कासित

 नेकपा माओवादी केन्द्रले सिरहा गोलबजार नगरपालिकाका ६ नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्रले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवार र उनीहरुका सहयोगीलाई पार्टीबाट निष्कासन गरेको हो । 

आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले गोलबजार नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवार बनाएका उम्मेदवारविरुद्ध बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामचन्द्र महतो कोइरी, बास्ना मोक्तानसहित उनीहरुको सहयोगी प्रवेश लामा, पुजन सिंह, कमल स्याङयो र मनोज सिंहलाई कारबाही गरिएको पार्टीका मधेश–प्रदेस इञ्चार्ज गणेश साहले जानकारी दिए । 

पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिने तथा बागी उम्मेदवारलाई सहयोग गर्ने छ जनालाई नै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको इञ्चार्ज साहले बताए । कारबाहीमा परेका कोइरीले गोलबजार नगरपालिकाको नगरप्रमुखमा र मोक्तानले उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले सो नगरपालिकाको निवर्तमान प्रमुख देवनाथ साह र निवर्तमान उपप्रमुखमा रेशमकुमारी थापालाई पुनः सोही पदमा उम्मेदवार बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप