सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

दैनिक १८ घण्टा उडान भर्न निजी कम्पनी तयार, बाध्यकारी भने नहुने

आइतबार, २५ वैशाख २०७९, २० : ००
आइतबार, २५ वैशाख २०७९

अन्ततः निजी हवाई कम्पनीहरु दैनिक १८ घण्टासम्म उडान भर्न तयार भएका छन् । यसअघि नेपाल नागरिक उड्ययन प्राधिकरणले रात्रीकालिन उडान सेवा समेत सञ्चालन गर्ने गरि आन्तरिक उडानमा दैनिक १८ घण्टाको उडान सेड्युल पठाएपछि आक्रोशित भएका हवाई कम्पनीहरु सम्पूर्ण हवाई सेवा बन्द गरि ‘सट डाउन’मा जाने चेतावनी दिएका थिए । 

यसपछि बसेको प्राधिकरण र हवाई कम्पनी तथा निजी हवाई कम्पनी सञ्चालकहरुको छाता संगठन ‘नेपाल वायुसेवा सञ्चालक संघ’ को बैठकले समस्या समाधानका लागि ९ सदस्यीय उप–समिति बनाएको थियो । सोही समितिको पहलमा दैनिक १८ घण्टा उडान गर्ने गरी सहमति जुटेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । यद्यपि, यस्तो उडान सबै कम्पनीहरुलाई बाध्यकारी नहुने कँडेलले स्पष्ट पारेका छन् । 

‘प्राधिकरणको प्रस्ताव मोटामोटी दैनिक १८ घण्टा नै उडान भर्ने गरि सहमति भएको छ । तर यस्तो उडान तत्काल सबैले गर्ने छैनन् । आवश्यकता, उपयोगिता र क्षमताका आधारमा सक्ने कम्पनीले मात्र तत्काल उडान भर्न सक्ने गरि सहमति भएको छ । नसक्नेले पनि विस्तारै एक–दुई घण्टा गर्दै उडान समय बढाउनेछन् । प्राधिकरण र संघबीच यहीँ सहमती भएको छ’ कँडेलले रातोपाटीसँग भने ।

तर, समस्या समधानका लागि बनेको उपसमितिले भने आफ्नो प्रतिवेदन बुझाइसकेको छैन । सो प्रतिवेदन पश्चात थप कसरी समस्याको समाधान गर्न सकिन्छ र थप उडानमा सहजीकरण गर्न सकिन्छ त्यसको योजना बन्ने उनले बताए ।

गत बैंशाख १६ गते हवाई क्षेत्रको नियामक तथा व्यवस्थापक नागरिक उड्ययन प्राधिकरण, वायुसेवा सञ्चालक संघ र निजी हवाई कम्पनीका प्रतिनिधिहरुको बैठकले समस्या समाधानका लागि ९ सदस्यीय समस्या समाधन उपसमिति गठन गरेको थियो । उक्त समितिले मे ७ तारिखसम्ममा प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो । तर समस्या समाधानका लागि सरोकारवाला पक्षहरुबीच मोटामोटी सहमति जुटिसकेपनि उक्त उपसमितिले हालसम्म प्रतिवेदन बुझाइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप