झापाका १५ मध्ये १० पालिकामा गठबन्धन
![झापाका १५ मध्ये १० पालिकामा गठबन्धन](https://rpcdn.ratopati.com/media/albums/uml-election_0OJkQdSdpN.jpg)
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तहमध्ये १० वटामा सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा होमिएका छन् । गठबन्धन भएका १० पालिकामध्ये दुईवटा पालिकामा एमाले एक्लै भारी पर्ने देखिएको छ ।
०७४ सालको निर्वाचन परिणामलाई आधार मान्ने हो भने एमालेले जितेको अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिकामा गठबन्धनमा आवद्ध सबै दलको मत जोड्दा पनि एमालेको मत बढी देखिन्छ । अर्जुनधारामा नेपाली काँग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा १२ हजार १ सय ४७ पुग्छ । तर, एमालेले यसअघि एक्लैले १३ हजार ८७९ मत ल्याएको थियो । यस्तै शिवसताक्षी नगरपालिकामा पनि गठबन्धनको मत १२ हजार २२५ हुँदा एमाले एक्लैको मत १३ हजार ४२९ मत छ ।
यी पालिकामा एमालेले पुरानो मत सुरक्षित गरे उसको जित हुने देखिन्छ । तर, एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी र नयाँ मतदाताको रुझानले निर्वाचन परिणाम प्रभाव पार्न सक्छ । २०७४ को परिणामअनुसार एमालेलाई अन्य ८ पालिकामा भने गठबन्धनले ठुलै धक्का दिने देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमकमा गठबन्धनको मत २० हजार ९२ हुँदा एमालेको मत १० हजार ८०६ मात्रै छ ।
दमक नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी मात्रै होइन, यसअघि बलियो शक्तिको रुपमा रहेको राप्रपा पनि गठबन्धनमा संलग्न छ । एमाले भने एक्लै चुनावी मैदानमा छ ।
यस्तै, गौरादह नगरपालिकामा गठबन्धन दलको मतभन्दा एमालेको मत ३ हजार ८८२ कम छ । यस्तै कमल गाउँपालिकामा २ हजार ४९ मतले पछि रहेको एमाले मेचीनगर नगरपालिकामा ९ हजार ५७८, विर्तामोड नगरपालिकामा २ हजार २१२ मतले गठबन्धनभन्दा पछाडि छ ।
यस्तै, भद्रपुर नगरपालिकामा भने गठबन्धनकै हाराहारीमा एमालेको मत छ । त्यहाँ एमालेको भन्दा गठबन्धनको मत ३०७ मात्रै बढी छ । यस्तै बुद्धशान्ति गाउँपालिकामा २ हजार ५०९ मत गठबन्धनको बढी हुँदा बाह्रदशी गाउँपालिकामा २ हजार २१३ मत बढी छ ।
झापाको कचनकवल गाउँपालिकामा भने राप्रपाको विरुद्धमा एमाले र काँग्रेसले गठबन्धन गरेका छन् । त्यहाँ एमाले र काँग्रेसको मत जोड्दा ९ हजार ३२४ छ भने राप्रपाको मत ५ हजार ८१६ मात्रै छ ।
बाँकी चार पालिका गौरीगन्ज, झापा, हल्दीबारी गाउँपालिका र कन्काई नगरपालिकामा भने सबै दलहरु एकल ढंगले चुनावी मैदानमा छन् । ०७४ सालको निर्वाचनमा गौरीगन्ज र हल्दीबारी राप्रपाले जितेको थियो भने झापा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको थियो । कन्काई नगरपालिकामा भने एमालेले जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख